१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
जितेन्द्र सोनल
२o८१ बैशाख २१ शुक्रबार o६:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

निर्वाचनको सन्देश : मधेसवादी दलहरूको गठबन्धन

हामीले मधेसवादी पार्टीबीच एकीकरण गरेर अब निकास दिन सक्दैनौँ, तर चुनावी तालमेल वा गठबन्धन गर्न सक्छौँ । आ–आफ्ना त्रुटिमा आत्मालोचना गरेर अघि जानुको विकल्प छैन । 

Read Time : > 3 मिनेट
जितेन्द्र सोनल
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५१:oo

लोकतन्त्रमा निर्वाचन हुनु आफैँमा सकारात्मक हो । स्थानीय तहको दोस्रो निर्वाचनपछि मुलुकले पुनः लोकतान्त्रिक अभ्यास सिद्ध गरेको छ । दुनियाँमा स्थानीय तहमा दलबीच गठबन्धन हुँदैन, तर हामीकहाँ भयो । कांग्रेससहित सत्तारुढ दलहरू गठबन्धन बनाएर चुनावमा गए भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विनागठबन्धन निर्वाचनमा गए । सत्ताधारी दलहरूले पैसा र शक्ति प्रयोग गरेका कारण परिणाम उनीहरूको पक्षमा पुग्यो । अहिलेको चुनावी परिणामको पृष्ठभूमि यही हो । 

चुनावी परिणामले हामीलाई एक्लो पार्टीले गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्ने पाठ सिकाएको छ । त्यसैले, अबका दिनमा एउटा गठबन्धनको विकल्पमा अर्को गठबन्धन बन्ने गरी अघि बढ्नुपर्छ । 

स्वतन्त्रले जित्नुको अर्थ : हाम्रा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेको यो नै पहिलोपटक होइन । यसले ठूलो संकेत दिँदैन, तर सबै मर्यादा नाघेर चुनाव जित्ने होडबाजीलाई चाहिँ आगामी दिनमा प्रभावित पार्ने सम्भावना छ । अब संविधान र कानुन संशोधन गरी अर्कोपटकदेखि दलविहीन स्थानीय निर्वाचनमा जानुको विकल्प छैन ।

राजनीतिक पार्टीहरूले टिकट वितरणमा मनोमानी गरे । नेताहरूको कार्यशैली एक प्रकारको रह्यो । पार्टीका मानिसलाई पाखा लगाएर जसरी अनेक ठाउँबाट उम्मेदवार ल्याइयो, त्यसको परिणाम देखिएको छ । पार्टीका इमानदार र सक्षम नेतालाई पाखा लगाएर आफन्तजनलाई टिकट वितरण गर्दाको परिणाम स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । यसबाट हामी सबैले पाठ सिक्नुपर्छ । काठमाडौँ, धनगढी, धरान र जनकपुरको परिणामले राजनीतिक दलहरूलाई झकझक्याएको छ । 

मधेसमा के भयो : मधेस प्रदेशमा स्थानीय निर्वाचनमा पहिलो कांग्रेस, दोस्रो एमाले, तेस्रो उपेन्द्र यादव नेतृत्वको जसपा र चौथो लोसपा भएका छन् । मधेसमा देखिएका चार प्रमुख शक्ति यिनै हुन् । यदि जसपा र लोसपाले पाएको मत एकै ठाउँमा राख्ने हो र उनीहरू मिलेर गएका थिए भने एमाले र कांग्रेसले जितेका ठाउँहरूमा हामीले जित्ने थियौँ । हामी नै मधेस प्रदेशमा पहिलो वा दोस्रो हुने थियौँ । अहिलेको भोटको प्रवृत्ति यही छ । जनताको मनोभावना पनि मधेसकेन्द्रित दुई पार्टी जसपा र लोसपा मिलेर जाऊन् भन्ने नै थियो । तर, हामी दुवै पार्टी यस सन्दर्भमा गम्भीर छैनौँ । दुवै पक्ष गम्भीरतापूर्वक अघि नबढ्ने हो भने हामीलाई भविष्यमा अप्ठेरो हुनेवाला छ । हामी मिलेर नजाँदा मधेसमा पहिलो शक्ति बन्ने अवसर जसपा र लोसपाले गुमाएका छन् । अब या त लोसपा र जसपा गठबन्धन गरेर अघि बढ्नुपर्छ, या त दुवै दल एउटा–एउटा गठबन्धनमा सामेल हुनुपर्छ । हामीसँग तेस्रो विकल्प छैन ।

मधेसवादी गठबन्धन अपरिहार्य : मधेसकै सन्दर्भमा मधेसवादी दलबीच गठबन्धन अपरिहार्य छ । जसपाले जतिसुकै आफूलाई राष्ट्रियस्तरको दाबी गरे पनि उसको आधार क्षेत्र मधेस नै हो । चारैतिर उम्मेदवार उठाए पनि परिणाम के भयो भन्ने उसले स्थानीय निर्वाचनमै अनुभव गरिसकेको छ । पहाडमा उसको परिणाम अपेक्षित रूपमा आएन । मधेस प्रदेशमा जसपा र लोसपाबीच गठबन्धन गरेर जाने विषयमा बहसको प्रारम्भ गर्ने समय आएको छ । जहाँ हामी विभाजित भएका छौँ, गैरमधेसवादी पार्टी (कांग्रेस–एमाले) ले जितेका छन् । लोसपाले अहिले अनिकालमा बिउ जोगाउने काम गरेको छ । यस्तो प्रतिकूल परिस्थितिमा हामीले गर्न सक्ने योभन्दा बढी थिएन पनि ।

अघिल्लो चुनावमा हामी पार्टी एकीकरण गरेर लड्यौँ । मधेसवादी शक्तिसँग गठबन्धनपछि फेरि पार्टी मिलाएर जसपा गठन ग¥यौँ । यो निर्वाचनमा विभाजित भएर गयौँ र परिणाम हाम्रै अगाडि छ । यसबीच भएका उतारचढावको मत निर्वाचनमा पनि परावर्तित भएको छ । हामीसँग न संघमा सरकार छ, न प्रदेशमा । सत्तारुढ गठबन्धनका दलहरू तलदेखि माथिसम्म सरकारमा छन् । उनीहरूसँग पैसा, शक्ति सबै छ । हामी अभावबीच निर्वाचनमा गयौँ । हामीले पनि गठबन्धन बनाएको भए अर्को अवस्था हुने थियो । 

जसपा र लोसपामा चुनावी गठबन्धन नगर्दाको प्रतिकूल परिणामबारे महसुस भएको छ । छिटपुट बहस पनि सुरु भएको छ । जसपाका माथिल्लो तहका नेताहरूसँग पनि छलफल र बहस प्रारम्भ भएको छ । जसपाभित्र पनि महसुस भएको छ, हामीकहाँ पनि दुई दलबीच चुनावी गठबन्धन बन्नुपर्ने विषयमा अनौपचारिक रूपमा परिचर्चा सुरु भएको छ । दुवै पार्टीले यसको गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । मधेस प्रदेश र तराई मधेसका अन्य जिल्लामा गठबन्धन गरेर जाने विषयमा बहस गर्ने वेला भएको छ । आवश्यकताको सिद्धान्तका रूपमा यसलाई दुवै पक्षले आत्मसात् गर्नुपर्छ र मोडालिटीमा छलफल गर्नुपर्छ । 

हामी निर्वाचनको गणित र मुद्दा दुवैमा सहकार्य गर्ने गरी अघि जानुपर्छ । मुद्दा र गणित फरक हुँदैन । अहिले कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन मुद्दाका आधारमा भएको हो र ? कांग्रेस र माओवादीका एजेन्डा कहाँ मिल्छन् ? उनीहरूले गणितीय आधारमा मात्र गठबन्धन गरेका हुन् । हामीबीच त मधेस आन्दोलनको मुद्दामा एक मत छ । जनतालाई समृद्ध बनाउने, संविधान संशोधन गर्नेलगायत मुद्दा हामीसामु जीवित छन् । हामी दुवै आन्दोलनकारी हौँ । पार्टी एकीकरण गरेर अब निकास दिन सक्दैनौँ । तर, चुनावी तालमेल वा गठबन्धनमा जानुपर्छ । हामीले गरेका त्रुटिमा आत्मालोचना गरेर अघि जानुको विकल्प छैन । जनताको म्यान्डेटलाई सम्मान गर्दै मधेसकेन्द्रित दलहरू चुनावी गठबन्धन बनाएर अघि जान सकिन्छ । यो निर्वाचन परिणामले यो अवसर हामीलाई दिएको छ । 
यदि यो विकल्पमा जान सकिँदैन भने अहिलेको सत्ता गठबन्धनबाहेकका दलहरू एमाले, लोसपासहित मिलेर अर्को गठबन्धन बनाउनुको विकल्प छैन । यो प्रवृत्ति भारतमा पनि छ, हामीले पनि कतिपय ठाउँमा अभ्यास गर्दै आएका छौँ । एमालेको अगुवाइमा अर्को गठबन्धन बन्न सक्छ । 

निर्वाचनपछिको अवसर र चुनौती : निर्वाचन परिणामले हाम्रा सामु अवसर र चुनौती थपिदिएको छ । चुनौतीलाई सामना गर्दै सम्भावनाको ढोका खोल्नुपर्छ । हामीले यसपटक स्थानीय एजेन्डालाई प्राथमिकता दिँदै दिएनौँ । कुनै पनि दलले स्थानीय एजेन्डा उठाएनन् । कहीँ पनि विकासका विषय एजेन्डामा आएनन् । विकास र समृद्धि जनताका मूलभूत मुद्दा बन्न नसक्नु राजनीतिक दलहरूका लागि ठूलो चुनौती हो ।

(सोनल लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष तथा मधेस प्रदेश सभामा लोसपा संसदीय दलका नेता हुन्)

ad
ad