राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। संकल्प प्रस्तावको समर्थकमा जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाईं, प्रमिला कुमारी र देवेन्द्र दाहाल थिए। संसदमा निर्णयार्थ प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए।
राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए।