मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १९ बिहीबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बेँसीसहर नगरले विपन्न र दलितलाई निःशुल्क स्वास्थ्य बिमा गराउने

Read Time : < 1 मिनेट
२०७९ जेठ १९ बिहीबार ०६:३९:००

बेँसीसहर नगरपालिकाले अति विपन्न र दलित विपन्नको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अति विपन्न नागरिक र दलित समुदायका विपन्नहरूलाई उपचारमा सहज बनाउन निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले जानकारी दिए ।

बैठकले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय पनि गरेको छ । ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गर्ने र आवास क्षेत्रका नांगो विद्युत् तारलाई प्लास्टिक कोटेड गराउने निर्णय पनि भएको कँडेलले बताए । 

यस्तै, कार्यपालिका बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, शतप्रतिशत घरधुरीमा एक घर एक धारा पु¥याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय पनि गरेको छ ।

बैठकले ‘हामी सबैको रहर सभ्य र समृद्ध बेँसीसहर’ को नारालाई सार्थक बनाउन बेँसीसहर बजार क्षेत्रको कालोपत्रे सडक तत्काल मर्मत गर्ने, बेँसीसहर–२ मा रहेको भकुण्डे सहरी स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालको सेटलाइटका रूपमा विकास गर्दै काठमाडौंलगायतका सहरी क्षेत्रबाट विज्ञ चिकित्सकसँगको भर्चुअल स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको नगर उपप्रमुख पद्मा गुरुङले जानकारी दिइन् ।