मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ १७ मंगलबार ११:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा लाप्राकका पुरबहादुर ६ पटकसम्म सगरमाथाको शिखरमा, १५ दिनमै दुईपटक आरोहण

Read Time : > 1 मिनेट
२०७९ जेठ १७ मंगलबार ११:३५:००

सगरमाथा आरोहण गर्न त्यति सहज छैन । त्यसमाथि एक–दुई पटक होइन ६ पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् गोरखा लाप्राकका पुरबहादुर (युक्त) गुरुङ । धार्चे– ४ लाप्राकका ३३ वर्षीय गुरुङले हालसम्म ६ पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनले केही दिनअघि १५ दिनको अन्तरमा दुईपटक सगरमाथा आरोहण गरे । गुरुङले मे १५ र २७ मा सगरमाथाको सफल आरोहण गरेका हुन् । गुरुङ समुदायको तर्फबाट धेरैपटक सगरमाथा चढ्ने आरोहीमा आफू रहेको उनले दाबी गरे । 

सगरमाथासँगै गुरुङले गोरखामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल र सोलुखुम्बुमा रहेको ६ हजार आठ सय १२ मिटरको आमादब्लम हिमाल आरोहण गरिसकेका छन् । यीबाहेक उनले हालसम्म ६ हजारभन्दा माथिका दुई दर्जनभन्दा बढी हिमाल चढिसकेको बताए । 

सन् २००५ बाट भरिया हुँदै पर्यटन क्षेत्रमा लागेका उनले सन् २००९ बाट हिमाल आरोहणको यात्रा सुरु गरेका हुन् । गाउँका अगुवाहरूसँगै आफ्ना साथीभाइहरू सबै हिमाल आरोहण क्षेत्रमा लागेकाले आफू पनि यो क्षेत्रमा आबद्ध भएको गुरुङ बताउँछन् । सोलुखुम्बुमा रहेको ६,१६० मिटर अग्लो आइसल्यान्ड पिकबाट हिमाल आरोहण यात्रा सुरु गरेको बताए ।

उनी अहिले ट्रेकिङ एजेन्सीमार्फत नेपालमा हिमाल आरोहण गर्न आएका विदेशी पर्यटकलाई हिमाल चढाउने गाइडको रूपमा काम गर्छन् । युरोप र एसियाली देशका पर्यटकलाई हिमाल आरोहणमा सघाउँदै आएको उनले बताए । अन्तर्राष्ट्रिय  माउन्टेन गाइड बन्ने लक्ष्य राखेका गुरुङ हिमालय पथ प्रदर्शकका रूपमा काम गर्दै आइरहेका छन् । आगामी जुन ७ मा पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो माउन्ट केटु आरोहण गर्ने तयारीमा रहेको उनले बताए । 

नेपालमा यसअघि हिमाल आरोहण क्षेत्रमा शेर्पाहरूको वर्चस्व थियो । पछिल्लो समयमा गुरुङ समुदायका युवाहरूको आकर्षण पनि बढ्न थालेको छ । गण्डकी प्रदेशमा पर्वतारोहणको विकास गर्ने उद्देश्यका साथ गठन भएको गण्डकी अल्पाइन क्लबको उनी कोषाध्यक्ष हुन् । त्यस्तै, मनास्लु फाउन्डेसनका सचिव, स्विट नेटवर्कका सञ्चालक हुन् ।