मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १७ मंगलबार ०८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनको नतिजा सन्तोषजनक रहेको सत्तागठबन्धनको निष्कर्ष

Read Time : > 1 मिनेट
२०७९ जेठ १७ मंगलबार ०८:४०:००

जिसस र कार्यपालिकामा पनि तालमेल गर्ने

सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले ७७ वटा जिल्ला समन्वय समिति र कार्यपालिकामा सहमति गरेर अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनको समीक्षाका आधारमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए । उनले केन्द्रमा गठबन्धन गर्ने निर्णयको मर्मअनुसार तल्लो तहमा तालमेल हुन नसक्दा अपेक्षाकृत नतिजा निकाल्न नसकेको बताए । ‘सामान्य रूपमा समीक्षा भयो । गहन रूपमा तथ्यांक नै जम्मा गरेर समीक्षा भइसकेको छैन । त्यो हुँदै गर्छ । मोटामोटी छलफलबाट नतिजा सन्तोषजनक नै छ भन्ने रह्यो,’ उनले भने, ‘तर, केन्द्रमा जुन स्पिरिटका साथ गठबन्धन गरेर जाने निर्णय भयो, त्यसलाई तलसम्म पु¥याउन सकेको र धेरै स्थानमा तालमेल गरेर जान सकेको भए धेरै राम्रो नतिजा ल्याउन सकिन्थ्यो भन्ने निष्कर्ष छ । हालसम्मको नतिजाका आधारमा जिसस र कार्यपालिकामा पनि गठबन्धन कायम गर्न निर्देशन दिइएको छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७७ जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको बताए । उनले गठबन्धन देशको आवश्यकता भएकाले त्यो पूरा नहोउन्जेलसम्म कायमै रहने पनि बताए । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले केही कमीकमजोरीका बाबजुद गठबन्धन सफल भएकोे निष्कर्ष रहेको बताइन् ।

सत्तागठबन्धन दलका शीर्ष नेताहरूले स्थानीय तहको कार्यपालिका र जिससको निर्वाचनमा गठबन्धन कायम गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएका हुन् । ‘अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । सोमबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत नेताहरूको उपस्थिति थियो । 

आज कार्यदल बैठक 
चुनावी समीक्षाका लागि मंगलबार कार्यदल बैठक बस्ने भएको छ । कांग्रेस नेता पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर समीक्षा गर्न लागिएको हो । बैठकमा निर्वाचन हुन बाँकी कार्यपालिका र जिससको विषयमा छलफल हुने पौडेलले बताए । उनका अनुसार अहिले निर्वाचनको विवरण संकलन भइरहेको छ । 

स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णयअनुसार सत्तासाझेदार दलले समिति गठन गरेका थिए । पौडेल नेतृत्वको समितिमा पाँचै दलका प्रतिनिधि सदस्य छन् । समितिका सदस्यमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन् ।