१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार o७:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी परिणामप्रति एकीकृत समाजवादी असन्तुष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार o७:५२:oo

कांग्रेस र माओवादीले निर्वाचनमा धोका दिएको प्रारम्भिक निष्कर्ष

एकीकृत समाजवादीले गठबन्धनका कांग्रेस र माओवादीले निर्वाचनमा धोका दिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । केन्द्रमा गठबन्धनले निर्णय गरे पनि तल कार्यान्वयन नहुँदा पार्टीले थोरै सिट जितेको र एमाले धेरै सिट जित्न सफल भएको निष्कर्ष निकाल्दै दुई ठूला पार्टीप्रति असन्तुष्टि जनाएको हो । 

६६ पालिका प्रमुखमा तालमेल गरेको एकीकृत समाजवादीले २० प्रमुख र २४ उपप्रमुख जितेको छ । तीमध्ये ११ पालिका मात्रै कांग्रेस र माओवादीसहित गठबन्धनमा रहेका दलको सहयोगमा जितेको, नौ पालिका भने एकल प्रतिस्पर्धामा जितेको उसको निष्कर्ष छ । गठबन्धन प्रभावकारी रूपमा कार्यान्वयन भएको भए कम्तीमा ४० देखि ५० पालिका प्रमुख जित्ने विश्लेषण पनि गरेको छ ।

हामी आफ्नै बलमा चुनाव लड्यौँ : डा. बेदुराम भुसाल, महासचिव, एकीकृत समाजवादी
 

माथि गठबन्धन गर्ने भनियो, तर तल व्यवहारमा कार्यान्वयन भएन, गठबन्धन नै नगर्ने भनिएको थियो भने हामी बेग्लै ढंगले तयारी गर्थ्यौं। हामी मूलतः आफ्नै बलमा चुनाव लड्यौँ, यदि गठबन्धन कार्यान्वयन हुन्थ्यो भने एमाले सयआसपासमा हुन्थ्यो, बाँकी उसले जितेका पालिका गठबन्धनका दलहरूको जितमा बाँडिन्थ्यो ।
 

‘माथि गठबन्धन गर्ने भनियो, तर तल व्यवहारमा कार्यान्वयन भएन, गठबन्धन नै नगर्ने भनिएको थियो भने हामी बेग्लै ढंगले तयारी गर्थ्यौं,’ समाजवादीका महासचिव डा. बेदुराम भुसालले भने, ‘हामी मूलतः आफ्नै बलमा चुनाव लड्यौँ, यदि गठबन्धन कार्यान्वयन हुन्थ्यो भने एमाले सयआसपासमा हुन्थ्यो, बाँकी उसले जितेका पालिका गठबन्धनका दलहरूको जितमा बाँडिन्थ्यो ।’ 

आफ्नो प्रभाव क्षेत्र रहेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले बेग्लै गठबन्धन गरेर धोका दिएको पनि समाजवादीको निष्कर्ष छ । रौतहटको गौर नगरपालिका, बैधीमाई गाउँपालिका, वृन्दावन नगरपालिका र राजदेवी नगरपालिका, सप्तरीको शम्भुनाथ नगरपालिका, सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका, डोल्पाको काइके र छार्काताङसोङ गाउँपालिका एकल प्रतिस्पर्धाबाटै जित हासिल गरेको एकीकृत समाजवादीले जनाएको छ ।

यद्यपि, गठबन्धनबाट एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख, हेटौँडा उपमहानगर प्रमुखसहित ११ पालिका प्रमुखमा जित हासिल गरेको छ । तर, काठमाडौंभित्रैको शंकरापुर नगरपालिकासहित थुप्रै पालिका प्रमुख र उपप्रमुख गठबन्धनभित्रैबाट धोका हुँदा पराजित हुनुपरेको उसको आन्तरिक निष्कर्ष छ । 

गठबन्धन प्रभावकारी कार्यान्वयन नभएको भन्दै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित समाजवादीका थुप्रै नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष नेपालले गठबन्धन कार्यान्वयन नभएको विषय समीक्षाको एजेन्डा बन्ने बताउँदै आएका छन् ।

‘गठबन्धन प्रभावकारी कार्यान्वयन भएको भए हामीले कम्तीमा ४० देखि ५० पालिका प्रमुख जित्थ्यौँ, अरू दलले पनि त्यही अनुपातमा सिट बढाउन सक्थे, एमाले सयआसपासमै सीमित हुन पनि सक्थ्यो,’ समाजवादीका एक नेताले भने । 

गठबन्धन प्रभावकारी कार्यान्वयन नहुँदा समाजवादीले क्षति व्यहोरे पनि गठबन्धनलाई भने निरन्तरता दिनुपर्ने पक्षमा आफ्नो दल प्रस्ट रहेको महासचिव भुसालले बताए । ‘कार्यान्वयन नभएको विषय गठबन्धनभित्र समीक्षाको एजेन्डा बन्छ, तर यही नाममा गठबन्धन नै तलमाथि हुँदैन,’ भुसालले भने, ‘बरु आगामी दिनमा कसरी कमजोरी सच्याएर अघि बढ्ने भन्ने निष्कर्ष निकाल्ने गरी छलफल गर्नेछौँ ।’