१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १३ शुक्रबार ०८:३२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘एक साताभित्र  शिक्षक र कर्मचारीले दलको आबद्धता  नत्यागे कारबाही’

Read Time : > 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०८:३२:००

राजापुर नगरपालिकाले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र दलको आबद्धता त्याग्न निर्देशन दिएको छ । नगर प्रमुख दिपेश थारूले प्रचलित शिक्षा ऐनविपरीत विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलमा संलग्न रही सक्रिय राजनीति गरेको भन्दै सात दिनभित्र राजनीतिक दलमा राजीनामा दिन निर्देशन दिएका हुन् ।

शिक्षक र विद्यालयका कर्मचारी राजनीतिक दलमा सक्रिय रहँदा विद्यालयको पठनपाठन प्रभावित हुने थारूको तर्क छ । शिक्षक र विद्यालयका कर्मचारी राजनीतिक दलमा आबद्ध हुनु शिक्षकको आचरणविपरीत हुने भएकाले तत्काल राजनीतिक दलको विभिन्न पद नछाडे शिक्षा ऐनबमोजिम कारबाही गर्ने नगर प्रमुख थारूले बताए । ‘कि त राजनीतिक दल छोड्नुस्, कि त शिक्षण पेसा छोड्नुस्,’ उनले भने, ‘यदि एक साताभित्र राजनीतिक दल नछाडेमा शिक्षा ऐनअनुसार कारबाहीका लागि सम्बन्धित ठाउँमा पठाउँछु ।’

शिक्षकसँग सम्बन्धित पेसागत संघसंगठनमा राजनीति गर्न सक्ने भए पनि भविष्यमा शिक्षा ऐनमा त्यसलाई पनि हटाउने व्यवस्था भएमा त्यो पनि अगाडि बढाउने थारूले बताए । ‘अहिले पेसामा आबद्ध रही नेपाल सरकारको तलब खाने, तर विभिन्न राजनीतिक दलमा सक्रिय राजनीति गर्नेलाई रोक्न खोजेको हो,’ उनले भने । शिक्षकहरू राजनीतिक दलमा सक्रिय हुँदा विद्यालयको शिक्षामा प्रत्यक्ष असर परेको उनको दाबी छ । 

नगर प्रमुख थारूले यसबारे राजापुर नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयलाई पत्रसमेत पठाइसकेका छन् । उनले प्रचलित शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनीतिक दलमा संलग्न रहेको पाइएकाले सात दिनभित्र उक्त पद छाड्न निर्देशनसहित सम्पूर्ण विद्यालयमा पत्र पठाएका छन् । पत्रमा उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न विद्यालयलाई निर्देशन दिइएको छ । 

नगर प्रमुख थारूको निर्देशनपछि राजापुरका शिक्षकहरूमा निराशा छाएको छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सबै शिक्षकलाई निराश र हतोत्साहित गर्ने तरिकाले प्रचारप्रसार गरिएको शिक्षक महासंघ राजापुरका अध्यक्ष राजकुमार रेग्मीले बताए । ‘राजनीतिमा संलग्न भएको पाएमा नगरपालिकाले कुनै पनि सूचना ननिकाली कारबाहीका लागि सिफारिस गर्न सक्छ । विद्यालय प्रशासनले समेत शिक्षण नगर्ने राजनीति गर्ने शिक्षकलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सक्छ,’ रेग्मीले भने, ‘तर, सबै शिक्षकलाई निराश र हतोत्साहित बनाउने गरी सस्तो लोकप्रियताका लागि सूचना सार्वजनिक गरिएको छ ।’ नगर प्रमुख थारू लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिई माओवादीबाट राजापुरको मेयरमा निर्वाचित भएका हुन् ।