संसारका प्रसिद्ध स्मारकमध्ये भारतको ताजमहल पनि एक हो । यसका २२ वटा कोठा लामो समयदेखि बन्द छन् । केही मानिस यी कोठामा रहस्य लुकेको विश्वास गर्छन् । उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीश भने यस्तो ‘विश्वास’मा विश्वास गर्दैनन् । ती बन्द कोठा खोल्न भारतको सत्तारूढ भारतीय जनता पार्टीका एक सदस्यले दायर गरेको याचिका गत बिहीबार अदालतले खारेज गरिदिएको छ ।
याचिकामा ताजमहलका २० भन्दा बढी बन्द कोठा खोल्न माग गरिएको थियो । मुद्दा दायर गर्ने रजनिश सिंहले बन्द ढोका खुले सो ‘स्मारकको सत्यता’ बाहिर आउने दाबी गरेका थिए । यहाँसम्मकी मुद्दा दायर गर्ने सिंहले अदालतका ती बन्द कोठामा भगवान् शिवको मूर्ति रहेको दाबी गरेका थिए । पछिल्लो समय भारतका हिन्दुत्वादी विचारधारा बोक्नेले मुगल कालको सबैभन्दा चर्चित स्मारक ताजमहललाई निसाना बनाइरहेका छन् ।
ताजमहल आग्राको यमुना नदीको किनारमा १७औँ शताब्दीमा मुगल सम्राट् शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा बनाएको चिहान हो । इँटा, रातो ढुंगा र सेतो संगमरले बनेको ताजमहल संसारको सबैभन्दा भव्य भवनमध्ये एक मानिन्छ । यसको उत्कृष्ट कारिगरीले पनि ध्यान आकर्षित गर्छ । यो विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्यमा समावेश छ ।
तर, रजनिश ताजमहलको यो स्वीकृत इतिहाससँग सहमत छैनन् । ‘यी कोठामा के लुकाइएको छ । जान्ने अधिकार हामी सबलाई छ,’ रजनिशले अदालतमा भने । रजनिशले खोल्न माग गरेका धेरै बन्द कोठा चिहान रहेको भूमिगत च्याम्बर क्षेत्रका छन् । मुगल वास्तुकलामा लामो अनुसन्धान गर्ने र ताजमहलको विश्वसनीय अध्येता एम्मा कोचले उनको अनुसन्धानका क्रममा यी कोठाको फोटो खिचेकी थिइन् ।
यी कोठा गर्मी महिनामा प्रयोग गरिन्थ्यो । स्मारकको नदीतर्फ फर्किएको छतमा कैयौँ कोठा लहरै छन् । त्यो ठाउँ पुग्न एक साँघुरो करिडोर प्रयोग गर्नुपर्छ ।
यी कोठा गर्मी महिनामा प्रयोग गरिन्थ्यो । स्मारकको नदीतर्फ फर्किएको छतमा कैयौँ कोठा लहरै छन् । कोचले नदीतर्फ फर्किएका १५ कोठा देखेकी थिइन् । त्यो ठाउँ पुग्न एक साँघुरो कोरिडोर प्रयोग गर्नुपर्छ ।
चर्चामा रहेका बन्द कोठामा सात ठूला, ६ चार कुने र दुई अष्टभुजायुक्त छन् । ठूला कोठा नदीमा खुलेका छन् । एम्मा कोच गएका कक्षका माथिल्लो भागा सेतो र भुइँ रंगीन थियो । ‘बीचमा गोलो आकृति र त्यसको वरिपरि व्यवस्थित जाली ढाँचा थियो, ’ कोचले भनिन् ।
युनिभर्सिटी अफ भियनाकी एसियाली कलाका प्राध्यापक एम्मा कोचले टिप्पणी गरिन्, ‘यो एउटा सुन्दर हावादार स्थल हुनुपर्छ, जसलाई यो चिहानको भ्रमणमा आउँदा बादशाह, उनका महिला र अन्य सहयोगीले उपयोग गरेको हुनुपर्छ । अहिले यहाँ प्राकृतिक प्रकाश पुग्दैन ।’
त्यस्ता भूमिगत कोठा मुगल वास्तुकलाको एक हिस्सा बन्ने गरेका छन् । पाकिस्तानको लाहोर सहरमा रहेको मुगल किल्लामा नदीमा खुल्ने यस्ता कोठा भेटिन्छन् । शाहजहाँ सामान्यतया यमुना नदीबाट डुंगाबाट ताजमहल पुग्थे, घाटमा बनेको सिँढीमा ओर्लिएर चिहानमा प्रवेश गर्थे । ‘मलाई त्यो सुन्दर रंगीन गल्लीको सम्झना छ, जुन पहिले ठूलो ठाउँमा गएर खुल्यो । यो स्पष्ट रूपमा बादशाह हिँड्ने बाटो थियो,’ करिब २० वर्षअघि यहाँ आइपुगेकी भारतीय संरक्षक अमिता वेग सम्झन्छिन्।
ताजमहलमाथि अनेक मिथक
दिल्लीमा बसोवास गर्ने इतिहासकार राणा सफावी आग्रामा हुर्केकी थिइन् । सन् १९७८ को बाढी आउनुअघिसम्म यी कोठा पर्यटकका लागि खुला रहेको उनी सम्झन्छिन् ।
उनी भन्छिन्, ‘बाढीको पानी चिहानमा पसेको थियो, तलका केही कोठामा बालुवा पसेका थिए र चट्टानहरू देखिन थालेका थिए । त्यसपछि प्रशासनले सर्वसाधारणका लागि यी कोठा बन्द गरिदियो । ती खाली कोठा हुन् । त्यसमा केही छैन ।’
यी कोठाहरू समय–समयमा मर्मतका लागि खोलिन्छ । यद्यपि, ताजमहलबारे धेरै मिथक र किंवदन्ती व्याप्त छन् । एउटा मिथकअनुसार ताजमहल रहेको स्थानबाट यमुना नदीको अर्को किनारमा कालो ताज बनाउने शाहजहाँको योजना थियो । अर्को मिथकअनुसार ताजमहल वास्तवमा एक युरोपेली वास्तुकारद्वारा निर्माण गरिएको थियो ।
केही पश्चिमी विद्वान् भारतीय मुस्लिम समाजमा महिलाको हैसियत न्यून भएकाले स्मारक शाहजहाँको श्रीमतीका लागि नबनाइएको हुन सक्ने विश्वास गर्छन् । यद्यपि, भारतका अन्य स्थानमा पनि महिलाका लागि निर्माण गरिएका स्मारक भेटिएका छन् ।
केही उत्साही गाइड ताजमहल बनेपछि शाहजहाँले त्यसलाई बनाउने वास्तुकारको हत्या गरिदिएको र कारिगरको हात काटिदिएको कथा सुनाउँछन् । भारतमा व्याप्त अर्को मिथकअनुसार ताजमहल वास्तवमा ‘तेजो महलया’ नामक भगवान् शिवलाई समर्पित हिन्दू मन्दिर थियो । यो मिथकका अनुसार सन् १७६१ मा हिन्दू राजा सुरजमलले आग्रामाथिको जितेपछि उनका पुजारीले ताजमहललाई हिन्दू मन्दिरमा परिणत गर्न सल्लाह दिएका थिए ।
भारतीय इतिहासलाई हिन्दूवादी कोणबाट लेख्ने लेखक पिएन ओकले एक पुस्तकमा ताजमहल वास्तवमा शिव मन्दिर भएको दाबी गरेका छन् । सन् २०१७ मा भाजपाका नेता संगीत सोमले ताजमहललाई ‘आक्रमणकारी’ले बनाएको स्मारक भन्दै भारतीय संस्कृतिको धब्बाको संज्ञा दिएका थिए ।
पछिल्लो समय भाजपा सांसद दिया कुमारीले शाहजहाँले हिन्दू शाही परिवारको जग्गा खोसेर ताजमहल बनाएको दाबी गरिन् । एक दशकदेखि यस प्रकारको हिन्दुत्वादी सिद्धान्तले जोड पाइरहेको बताउँदै राणा सफवी भन्छिन्, ‘दक्षिणपन्थी समूहहरूको एक वर्ग त्यस्ता झुटा समाचार, झुटा इतिहास र हिन्दूमाथि अत्याचार भएको र उनीहरू पीडित भएको कुरा प्रवद्र्धन गरिरहेका छन् ।’ एम्मा कोचले भनिन्, ‘यस्तो लाग्छ की ताजमहलबारे गम्भीर अध्ययन कम भएको छ । त्यस सम्बन्धमा काल्पनिकता हाबी भएजस्तो देखिन्छ ।’