मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
पदबहालीपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै बाग्लुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठ ।
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ जेठ ८ आइतबार ०८:१२:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पालिका प्रमुखका पहिलो निर्णय : मतबराबर वृक्षरोपण गर्नेदेखि जटिल रोगको उपचारसम्म

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ जेठ ८ आइतबार ०८:१२:००

दूध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान
चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । चार स्थानीय तहका प्रमुखले पदभार ग्रहण गरी पहिलो निर्णय गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले नगरमा दूध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिइने, घाँसखेती गर्ने किसानलाई प्रतिकट्ठा दुई हजार रुपैयाँ अनुदान दिने, नगरभित्र रहेका गरिब तथा विपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा गराउने पहिलो निर्णय गरेका छन् । माडी नगर प्रमुख ताराकुमारी काजी महतोले बघौंडा अस्पतालको ओपिडीमा सबै महिलालाई नि:शुल्क टिकट गर्ने पहिलो निर्णय गरेकी छन् ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकामा रहेका गरिब तथा विपन्न वर्ग पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय गरेका छन् । खैरहनी नगरपालिका प्रमुख शशीकुमार खनियाँले ‘छोरीबुहारी पढाऊ, अगाडि बढाऊ’ अभियानको सुरुवात गरेका छन् । 

कञ्चनपुरको दोधाराचाँदनी नगर प्रमुख किशोर लिम्बुले सामाजिक सुरक्षा भत्ता घरघरमा वितरण गर्ने पहिलो निर्णय गरेका छन् । ‘मैले पहिलो निर्णय ज्येष्ठ नागरिक एव अशक्तको समस्यालाई मध्यनजर गर्दै अब बैंकमार्फत होइन, घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्छौं, सोहीबमोजिम बैंकलाई निर्देशन दिएका छौँ,’ उनले भने ।

सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन नि:शुल्क 
जिल्लाका चारवटा स्थानीय तहका प्रमुखले पदभार ग्रहण गरेका छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन नि:शुल्क गराउने निर्णय गरेका छन् । प्रस्तावित भालुबाङ अस्पताल र सिसहनियाँ स्वास्थ्यचौकीमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आकस्मिक सेवा सञ्चालन गर्ने निर्णय भएको छ । यो सेवा २४ घन्टा दिने निर्णय गरेको विष्टले बताए । 

दंगीशरण गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर पहिलो निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले अपांगता, अशक्त, ६० वर्षभन्दा माथिका महिला–पुरुषलाई नि:शुल्क ल्याब परीक्षण गर्ने निर्णय गरेका छन् । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले शुक्रबारदेखि नै लागू हुने गरी विपन्न वर्गलाई नि:शुल्क बिमा र गर्भवती महिलालाई चौथो र आठौँ महिनामा भिडियो एक्स–रे सेवा प्रदान गर्ने निर्णय गरेका छन् । 

मेयरले पाएको मतबराबर वृक्षरोपण गर्ने
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले आफूले पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका छन् । शुक्रबार नगरपालिका कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पहिलो निर्णय गर्दै खानले स्वच्छ, सफा, सुन्दर नगरका लागि आफूले निर्वाचनमा पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका हुन् । 

बेपत्ताको सम्झनामा चौतारो बनाउने
म्याग्दीको रघुगंगा गाउँपालिकाले दशवर्षे सशस्त्र संघर्षको समयमा बेपत्ता भएका नागरिकको सम्झनामा चौतारो बनाउने निर्णय गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले शुक्रबार पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । म्याग्दीकै बेनी नगरका नवनिर्वाचित प्रमुख सुरत केसीले विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका छन् । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा पदभार ग्रहणपछि केसीले स्वास्थ्यसम्बन्धी तीनवटा निर्णय गरे । 

घर नम्बर प्लेट नि:शुल्क प्रदान गर्ने 
तनहुँको म्याग्दे गाउँपालिकाले नगरभित्रका घरमा घर नम्बर प्लेट निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पदभार ग्रहणपछि त्यस्तो निर्णय गरेका हुन् । 

न्यूनतम विद्युत् महसुल नि:शुल्क
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले पालिकाभित्रका प्रत्येक घरधुरीलाई न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने भएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले विद्युत् महसुल निःशुल्क गर्ने पहिलो निर्णय गरेका हुन् । मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर जीवन खरेलले नगरवासीको आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने पहिलो निर्णय गरेका छन् ।

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले शुक्रबार पदभार ग्रहण गर्दै दुईवटा एम्बुलेन्स खरिद गरेर सेवा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गरे । चन्द्रकोट गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय गरेको छ । 
 

गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स

दैलेखको दुल्लु नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भरत रिजालले नगरपालिकाभित्रका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णय गरेका छन् । रिजालले शुक्रबार नगर प्रमुखको पदभार ग्रहण गर्दै सुरक्षित प्रसूति सेवा पुर्‍याउने उद्देश्यले दुल्लुबाट उपचारका लागि बाहिर लैजानुपर्ने प्रसूतिका बिरामीलाई निःशुल्क गर्ने निर्णय गरेका हुन् । 

गुराँस गाउँपालिकाका निर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले एकल महिलालाई सेवा दिने गरी पहिलो निर्णय गरेका छन् । एकल महिला घरमुली रहेको परिवारलाई स्वास्थ्य बिमामा सहुलियत दिने तथा गाउँपालिकामा सञ्चारको पहुँच विस्तार गर्ने पहिलो निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिए । आठबिस नगरपालिकाले तीन वर्षभित्र नगरका सबैको घरमा विद्युत् सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै त्यस्तो निर्णय गरेका हुन् । 

नगर क्षेत्रमा नि:शुल्क शववाहनको व्यवस्था
सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शववाहनको रूपमा प्रयोग गरिने भएको छ । नगर प्रमुख कृष्णप्रसाद कोइरालाले अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुईवटा नगर बसमध्ये एउटा बसलाई निःशुल्क शववाहनको रूपमा प्रयोग गरिने निर्णय भएको बताए । ‘जिल्लामा शववाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुईवटा नगर बस छन्, यसको सही व्यवस्थापन हुन सकेको छैन । त्यसैले शववाहनको व्यवस्था गरिएको हो,’ उनले भने ।

जटिल रोग उपचारका लागि कोष स्थापना 
काभ्रेमा पाँचखालबाहेक अन्यको मतपरिणाम आइसकेको छ । १३ मध्ये ६ स्थानीय तहका नवनिर्वाचित नगर प्रमुख तथा गाउँपालिका अध्यक्षले शपथग्रहण लिएका छन् । शपथ लिएकामध्ये पनि केही पालिकाले निर्णय पनि गरिसकेका छन् । भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राणघातक रोग उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेका छन् । मिर्गौला, क्यान्सर, मस्तिष्क पक्षघात भएकाको निःशुल्क उपचार गर्न कोषमा खडा गर्न पहिलो निर्णय गरेको भुजेलले बताए । 

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्ने पहिलो निर्णय गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि यस्तो निर्णय गरेको वाइबाले बताए । तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले मिर्गौला रोगपीडितका लागि सहयोग गर्न आएको सिफारिसमा पहिलो हस्ताक्षर गरेको बताए । मिर्गौला रोगपीडितका लागि एक लाख दिने निर्णयमा तोक लगाएको उनको भनाइ छ । 

पाँच वर्षभित्र सम्पूर्ण घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था 
बर्दियाका आठमध्ये चारवटा स्थानीय तहका प्रमुखले कार्यभार सम्हालिसकेका छन् । बारबर्दिया नगर प्रमुख छविलाल थारूले नगरपालिकाको कामलाई डिजिटल प्रविधिमा लगी छिटोछरितो र पारदर्शी तरिकाले गर्ने निर्णय गरेका छन् । मधुवन नगर प्रमुख तेजराज भाटले वृद्ध र अशक्तलाई सामाजिक सुरक्षा भत्ता घरमै पुर्‍याउने निर्णय गरेका छन् । पाँच वर्षभित्र सम्पूर्ण घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था र निःशुल्क शिक्षालाई प्रभावकारी बनाउने निर्णय गरेका छन् ।

ठाकुरबाबा नगर प्रमुख तिलक लम्सालले वृद्धभत्ता घरदैलोमै पुर्‍याउने, नगरपालिकाले विगत वर्षमा लिँदै आएको मालपोत करमा समेत समायोजन गर्ने, वडा कार्यालयबाट लिइने सिफारिस दस्तुरमा ५० प्रतिशत घटाउने तीनबुँदे निर्णय गरेका छन् । 

राजापुर नगर प्रमुख दीपेश थारूले सहिदहरूको सम्झनामा सहिदपार्क निर्माण गर्ने र द्वन्द्वकालमा बेपत्ता भएका परिवार र सहिद परिवारलाई जीविकोपार्जनका लागि सीप र पुँजीको व्यवस्था गर्ने, सबै युवाको मागअनुसारको सीपमूलक तालिम सञ्चालन गर्ने, स्वास्थ्य कल सेन्टर राखी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने, कृषि कल सेन्टर निर्माण गरी कृषि र पशुसेवा घरमै गएर उपलब्ध गराउने निर्णय गरेका छन् ।

रूपा गाउँपालिकाले एम्बुलेन्स निःशुल्क गर्ने
एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा पोखरा महानगरपालिकाको मतगणना जारी छ । परिणाम घोषणा भइसकेका पालिका प्रमुखहरूले शुक्रबार मुख्य निर्वाचन अधिकृत श्रीकृष्णा भट्टराईसँग पद तथा गोपनीयताको शपथ खाए । जसमध्ये रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पदभार सम्हालेका छन् । पालिकाले बिरामीलाई सहुलियत दरमा एम्बुलेन्स सेवा दिँदै आएकोमा अब निःशुल्क गर्ने निर्णय गरेको छ । 

 शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने निर्णय गरेको छ । शुक्रबार कार्यभार सम्हाल्दै अध्यक्ष केदारनाथ यादवले आगामी गाउँसभामा पेस गर्ने गरी शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता, कृषि र पशु विकासलाई प्राथमिकता दिँदै जाने, विकास निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई सूचना प्रविधिमा आबद्ध गर्ने र गाउँपालिकाबाट प्रवाह हुने सेवालाई जनमुखी, सुशासनयुक्त र प्रभावकारी बनाउने प्रस्ताव सदर गरेका छन् । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले बालासुन्दरी भगवती मन्दिरको रोकिएको निर्माणकार्य सुचारु गर्नेसम्बन्धी फाइलको टिप्पणी सदर गरेका छन् । नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले गुणस्तरीय शिक्षाका लागि पूर्वाधारको व्यवस्था गर्ने निर्णय गरेका छन् । 

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा 
सदरमुकाम चौतारामा मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले शपथ खुवाएलगत्तै कार्यक्षेत्र फर्किएका नवनिर्वाचित स्थानीय सरकारका प्रमुखले शुक्रबार पदभार ग्रहण गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, मेलम्ची नगरपालिका मेयर आइतमान तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले पदभार ग्रहण गरेका हुन् । 

चौतारा साँगाचोकगढी नगर प्रमुख सापकोटाले जनयुद्धका सहिद, बेपत्ता परिवार, घाइते, विपन्न र सीमान्तकृत समुदायलाई बैंक तथा वित्तीय संस्थासँग सहकार्य र साझेदारी गरेर निःशुल्क जीवन बिमा गर्ने घोषणा गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष स्याङ्बोले स्थानीय सरकार प्रमुखको हैसियतमा प्राप्त सबै तलब, भत्ता र सुविधालाई एउटा छुट्टै कोष बनाएर सहिद परिवारको जनजीविकामा सहयोग गर्ने घोषणा गरेका छन् । 

मेलम्ची नगरपालिका प्रमुख तामाङले जेहेनदार र गरिब विद्यार्थी पहिचान गरेर प्रत्येक वर्ष पाँचजनालाई डिप्लोमा इन्जिनियरिङ र दुईजनालाई कृषि प्राविधिक विषयमा अध्ययनका लागि नगरपालिकाले रकम प्रदान गर्ने निर्णय गरेका छन् । सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने अर्को निर्णय उनले गरेका छन् । बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले पनि गर्भवती र सुत्केरी महिलालाई पालिकाभर र राजधानीसम्म निःशुल्क यातायात सुविधा प्रदान गर्ने घोषणा गरेका छन्

आफूले पाउने सेवासुविधा सहिद, बेपत्ता र घाइते परिवारलाई
ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले आफूले पाउने मासिक तलबभत्ता सहिद, बेपत्ता र घाइते परिवारका लागि प्रदान गर्ने भएका छन् । गाउँपालिकामा पदबहाली गरेसँगै पहिलो निर्णयमा उनले आफूले पाउने सम्पूर्ण तलबभत्ताको रकम जनआन्दोलनका सहिद, घाइते र बेपत्ता परिवारका लागि खर्च गर्ने बताए । उनले सबै रकम एउटा कोष खडा गरेर जम्मा गर्ने र सहिद, घाइते र बेपत्ता परिवारका लागि खर्च गर्ने बताए । विकले गाउँपालिकाभित्रका सबै बाँझो जमिनलाई खेतीयोग्य बनाउन जसले खेती गर्छ उसका लागि प्रतिरोपनी दुई हजार रुपैयाँका दरले अनुदान प्रदान गर्ने निर्णय गरिएको बताए । बाग्लुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले आगामी एक वर्षभित्र बाग्लुङ नगरपालिका बालमैत्री नगर बन्ने घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकबाट रामकृष्ण थापा, बाग्लुङबाट नारायण रिजाल, लहानबाट मणिलाल विश्वकर्मा र सुरेन्द्रकुमार कामती, कास्कीबाट रोहितराज पराजुली, बर्दियाबाट यज्ञप्रसाद सापकोटा, म्याग्दीमा कमल खत्री, तनहुँमा उपेन्द्र खनाल, भैरहवामा दीपेश पछाई, गुल्मीमा टोपलाल अर्याल, मुगुमा अच्युतराज भण्डारी, दैलेखमा विष्णु शर्मा, काभ्रेबाट इन्द्रबहादुर थापा, दाङबाट दीपक बोहरा, भरतपुरबाट विवेक पोख्रेल, लमजुङबाट शान्ता कमली, कञ्चनपुरबाट मोहन विष्ट