१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सिरो कावामोटो, प्राध्यापक
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:३९:००
Read Time : > 2 मिनेट
विश्व

टोकियो ओलम्पिकमा भूकम्प र गर्मीको जोखिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:३९:००

जापानले अर्को वर्ष टोकियो ओलम्पिक आयोजना गर्दै छ । जापानले टोकियो ओलम्पिक अहिलेसम्मकै भव्य हुने हुने दाबी गर्दै आएको छ । तर, ओलम्पिक चलिरहँदा आयोजक जापानले धेरै पक्षमा चुनौतीको सामना गर्नुपर्नेछ । जापानलाई केवल तीन पक्षको चिन्ता छ । पहिलो सधैँजसो गइरहने स–साना भूकम्प । अर्को ओलम्पिक भइरहँदा त्यहाँ चर्को गर्मी हुनेछ । तेस्रो पक्ष भनेको जापानले सम्भावित आतंककारी हमलाबाट कसरी जोगिने भन्ने नै हो । 

हिंसाविहीन सहर
संसारको सुरक्षित सहरमध्ये टोकियो पनि पर्छ । जापानले टोकियो सहरलाई हिंसाविहीन रूपमा प्रचार गरेको छ । पछिल्लो समय पश्चिमेली मुलुकका विकसित सहरमा भएका आतंककारी हमलापछि जापान झस्किएको छ । कतै टोकियोमा पनि यस्तै आतंककारी हमला हुने त होइन भन्ने प्रश्न मुख्य रूपमा रहेको छ । जापानले आतंककारी र हिंसात्मक गतिविधि ओलम्पिकमा हुन नदिन धेरै बजेट छुट्याएको छ । दोस्रो विश्वयुद्धपछि जापान शान्त छ । अहिलेसम्म जापानले ठूलो आतंककारी हमलाको सामना गरेको छैन । तर पनि जापानले सम्भावित घटनाविरुद्ध कसरी लड्ने भन्ने अभ्यास नगरेको होइन । तर, ओलम्पिक चलिरहँदा केही भइदिए, त्यसको असर पछिसम्म पर्ने खतरा छ । 

विशेष प्रविधि जडान
जापानले ओलम्पिक खेल आयोजना हुने दिनसम्म विशेष किसिमको प्रविधि प्रयोग गर्नेछ । प्रतियोगिताका लागि परिचालित हुने भोलेन्टरहरूको फेस डिटेक्ट गर्ने मेसिन प्रत्येक भेन्युमा राखिनेछ । कम्प्युटरले सही फेस डिटेक्ट नगर्दा ती भोलेन्टर भित्र प्रवेश गर्न सक्दैनन् । यसका साथै अन्य किसिमका प्रविधि पनि प्रयोग हुनेछन् । यता जापानले साइबर क्राइमबाट छुटकार पाउनका लागि पनि सफ्टवेयरको विकास गरेको छ । सन् २०१८ को प्योङच्याङ विन्टर ओलम्पिकमा साइबर क्राइम हुँदा ठूलै हंगामा मच्चिएको थियो । सरकारले साइबर क्राइमबाट बच्न रक्षा मन्त्रालयको विशषज्ञ टोली ओलम्पिकभरिी नै परिचालन गर्ने योजना बनाएको छ । तर पनि आयोजक टोकियो सहर ओलम्पिकमा यस किसिमको दुर्घटना हुन सक्ने अनुमान लगाउँछ । 

पाहुनालाई भूकम्पको त्रास
टोकियोनिवासीलाई भूकम्प सामान्य नै हो । धेरै ठूलो भूकम्प जाँदा मात्र जापानिजहरू आत्तिने गर्छन् । हल्काफुल्का आउने भूकम्पलाई उनीहरू वास्ता नै गर्दैनन् । अब यहाँ एउटा समस्या आउन सक्छ, ओलम्पिक चलिरहँदा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प आउँदा खेलाडी तथा अन्य पाहुनाले कस्तो रियाक्सन दिन्छन् । हुन त खेलाडी र अफिसियलहरूका लागि बनाइएको ओलम्पिक भिलेजका प्रत्येक अपार्टमेन्ट भूकम्प प्रतिरोधक नै बनेका छन् । तर, कम्पनले भवनहरू हल्लिन सक्छन् । त्यहाँ रहेका खेलाडीहरू त्यसबाट आत्तिँदा खेलमा प्रभाव पर्न सक्ने अवस्था आउन सक्छ । खेल्दा पनि उनीहरूलाई भूकम्पकै चिन्ता लाग्न सक्छ । यसकारण आयोजकका पदाधिकारी ओलम्पिकभरि नै त्यस्ता ठूला रेक्टरको भूकम्प नआइदियोस् भन्ने कामना गरिरहेका छन् । 

ओलम्पिक भिलेजका प्रत्येक अपार्टमेन्ट भूकम्पप्रतिरोधक छन् । तर, शक्तिशाली कम्पनले भवनहरू हल्लिन सक्छन् । खेलाडीहरू आत्तिँदा खेलमा प्रभाव पर्न सक्ने अवस्था छ ।

प्राकृतिक प्रकोप समस्या
आठ वर्षअघिको भूकम्प र सुनामीको दृश्य अहिले पनि ताजै छ । ग्रीष्मकालीन ओलम्पिकताका जापानमा सुनामी आउन सक्ने विज्ञहरूले बताएका छन् । सामुद्रिक तुफान र बाढी पनि समस्या बनेका छन्  । टोकियो सहर संसारकै व्यस्त सहरमध्ये एक हो । गत वर्ष यही समयमा टोकियोमा शक्तिशाली तुफान र गर्मी चढेको थियो । यस्तै किसिमको मौसम ओलम्पिकको समयमा हुँदा खेलाडीहरू समस्यामा पर्न सक्छन् ।

आयोजक र सरकारले पाहुनाको सुरक्षा कस्तो किसिमले गर्ने भन्ने अहिलेदेखि नै योजना बनाउनुपर्छ । हुन त जापानले लगातार तुफान, शक्तिशाली भूकम्प तथा प्रकृतिकसँग लडिरहेको छ । तर, प्राकृतिक परिवर्तनबारे कसैले पनि अनुमान लगाउन सक्दैन । केवल केही क्षणअगाडि मात्र सम्भावित दुघर्टनाबारे जानकारी पाउन सकिन्छ । यसकारण टोकियो नगरपालिकाले ओलम्पिक समयमा विशेष योजना बनाउनुपर्ने देखिन्छ, जसले पाहुनाहरूले ढुक्कका साथ प्रतिस्पर्धा गर्न र 
बस्न सकून् । 

गर्मी सहन नसक्ने
युरोपका धेरै राष्ट्रका खेलाडी ओलम्पिकमा आउँछन् । ओलम्पिकमा यहाँको मौसम परिवर्तन हुनुका साथै गर्मी अति नै हुन्छ । धेरैजसो युरोपियन राष्ट्रका खेलाडी चिसोमै अभ्यास गर्छन् । एकैपटक गर्मी वातावरणमा अभ्यास र प्रतिस्पर्धा गर्दा उनीहरूको नतिजामा फरक पर्न सक्छ । गत वर्ष प्रचण्ड गर्मी सहन नसक्दा टोकियोमा ११ व्यक्तिको मृत्यु भएको थियो । यस पक्षलाई पनि आयोजकले ध्यान पु-याउनुपर्छ । यदि यस्तै किसिमको गर्मी हुने हो भने दक्षिण अफ्रिका, मध्यपूर्वी एसिया तथा दक्षिण एसियन राष्ट्रहरूलाई त्यति फरक पर्दैन, तर यसबाहेक अन्य सहभागी राष्ट्रका खेलाडीलाई ठूलै समस्या पर्न सक्छ ।
(निहोन विश्वविद्यालयका प्राध्यापक कावामोटोले एपिएफमा दिएको अन्तर्वार्तामा आधारित)