
सिके राउत नेतृत्वको जनमत पार्टीका ३१ वर्षीय रामभरोस महतो धनगढीमाई–८ को वडाध्यक्ष निर्वाचित भएका छन्। महतो पछिल्लो करिब एक वर्षदेखि सो पार्टीले गरिरहेको किसान आन्दोलनको नगर क्षेत्रमा पर्ने पूर्व–पश्चिम सडकखण्डको अग्रमोर्चामा खटिएका थिए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको उक्त वडामा योपटक महतो जनता समाजवादी पार्टीका ५५ वर्षीय रामप्रसाद महतोलाई ५२ मतले पछि पार्दै तीन सय ८४ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उक्त वडामा जनमतको प्यानलै विजयी भएको छ।
करिब दुई वर्षअघिसम्म माओवादी केन्द्रको वडा समिति र युवा मोर्चामा रहेर काम गरेका उनी स्थानीय पार्टी नेतृत्वसँग असन्तुष्टि बढेपछि भर्खरै उदाएको जनमत पार्टीमा आबद्ध भएका स्थानीय बताउँछन् । ‘किसान आन्दोलनमा खेलेको भूमिका, जातीय सहानुभूति, ठूलो दलमा उम्मेदवारी छनाेटको कारणले भएको विवादलगायतको कारणले महतोले प्यानलसहित वडाध्यक्षमा ह्याट्रिक गर्न सफल भएका हुन्,’ वडाध्यक्षमा पराजित एक उम्मेदवारले भने।
सिके राउतको आशीर्वाद : वडाध्यक्ष सिंह
मिर्चैया नगरपालिका–४ बाट ३६ वर्षीय दिलीपकुमार सिंह ६३ वर्षीय सत्यनारायण यादवलाई दुई सय २५ मतान्तरले पछि पार्दै प्यानलसहित जनमत पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले जितेको उक्त वडामा सिंहले पाँच सय ३५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले तीन सय १० मत पाए।
‘पार्टीले किसानको पक्षमा गरेको आन्दोलन, शिक्षा, स्वास्थ्य, किसानलाई मलखादको सुलभता, सिँचाइको व्यवस्था, सुशासनको सवालमा जनताले आफ्नो मत दिएर निर्वाचित गराएका छन्’ निर्वाचित सिंहले भने ‘त्यही मुद्दामा केन्द्रित रहेर जनप्रतिनिधिको भूमिका निभाउनेछु।’
‘परिवर्तन खोजेका जनताको माया पाएँ’
कल्याणपुर नगरपालिका–९ को वडाध्यक्ष पदमा प्यानलसहित निर्वाचित जनमतका ३१ वर्षीय विनोदकुमार यादव पछिल्लो करिब एक वर्षदेखि पार्टीमा सक्रिय छन्। वडाध्यक्ष यादवले नयाँ पत्रिकासँग भने, ‘पार्टीका लागि गरेको कामको मूल्यांकन गरेर वडाध्यक्षको टिकट पाएँ । जनताले ठूला र पुराना पार्टीबाट गरेको अपेक्षा पूरा नभएको महसुस गरी मलाई जिताएका हुन्।’
‘जनताले आफ्नो दैनिकीमा खोजिरहेको परिवर्तनको अपेक्षालाई आफ्नो बलबुताले भ्याएसम्म पूरा गर्ने कोसिस गर्नेछु’ उनले भने। मनोविज्ञान विषयमा स्नातकोत्तर गरिरहेका उनले स्थानीयस्तरमा विकास निर्माणको नाममा भएका भ्रष्टाचारको अन्त्य गर्दै किसानका लागि विशेष योजना बनाएर काम गर्ने प्रतिबद्धता गरे।
मतगणना जारी रहेका र सम्पन्न भइसकेका जिल्लाका ११ स्थानीय तहमा शुक्रबार अपराह्नसम्म निर्वाचित भएका एक सय ३२ वडाध्यक्षमध्ये जनमत पार्टीले तीनवटा वडाध्यक्ष जितेको छ भने औरही गाउँपालिका–४ मा निकटतम प्रतिद्वन्द्वी बनेको छ।