१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ ६ शुक्रबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरपालिकाको सेवा–सुविधा नलिने दमकका मेयर थापाको घोषणा 

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार १७:२६:००

दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार विजय र्यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनले नगर प्रमुखका रूपमा सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

‘नगरपालिकाबाट नगरप्रमुख भएबापत ४० हजार रुपैयाँ जति आउँछ । त्यो म लिन्नँ,’ नवनिर्वाचित मेयर थापाले भने, ‘यो गरिब जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्नेछु ।’ उनले आफू १९ वर्ष अर्काको घरमा बसेर दुःख गरेकाले दुःख के हो बुझेको बताए । उनले सबै जनताको सेवकको रूपमा काम गर्ने प्रतिबद्धतासमेत जनाए । 
मेयर थापाले नगरपालिकामा फजुल खर्च हुन नदिने बताए । ‘म नगरपालिकाको चिया पनि खान्नँ,’ उनले भने, ‘तपाईंहरूलाई पनि नगरपालिकाको चिया खुवाउनेछैन ।’ थापाले दमकमा भएको पटके सवारी कर आउँदो साउनदेखि अन्त्य गर्ने बताए ।

मेयर थापाले सुकुम्बासीमाथि अघिल्ला जनप्रतिनिधिले घात गरेको बताए । अघिल्ला जनप्रतिनिधिले राष्ट्रिय भूमि आयोगले दिएको फारमसम्म सुकुम्बासीमाझ नपुर्याएको उनको आरोप छ । थापाले ६ महिनाभित्र सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने बताए । ‘६ महिनाभित्र मैले धनीपुर्जा दिन सकिन भने सात महिनामा मलाई नगरपालिकामा देख्नु हुनेछैन,’ उनले भने ।