मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०८:०८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाका पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०८:०८:००

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने पुनः स्पष्ट पारेको छ । फिफाले पूर्वअध्यक्ष थापालाई फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी १० वर्षको प्रतिबन्ध लगाएको छ । 

सन् २०१५ मा फिफा एथिक्स कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने– लिने, घुसखोरी र भ्रष्टाचार गरेको आरोपमा १० वर्ष प्रतिबन्धको घोषणा गरेको थियो । फिफाले तत्काल २० हजार स्विस फ्रान्क जरिवाना तिर्न आदेश दिएको थियो ।

फिफाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा पूर्वअध्यक्ष थापालाई प्रतिबन्धका समयमा प्रशासनिक, खेलकुद वा अन्य कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने भनिएको छ । फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्वअध्यक्षमाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराएका हुन् । ‘जबसम्म प्रतिबन्ध कायम रहन्छ, फिफाले एन्फा र यसका सदस्यले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तर (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन जानाजान अनुमति नदिने अपेक्षा गर्छ, ’ पत्रमा भनिएको छ । 

सो पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरे थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्ने चेतावनीसमेत दिइएको छ । गत साता थापाले पत्रकार सम्मेलन गर्दै फिफाले आफूमाथि लगाएको प्रतिबन्धलाई सहजै स्विकारेको जनाएका थिए । तर, उनले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएका आरोपमध्ये १४ वटा बुँदा प्रमाणित गर्न चुनौती दिएका थिए ।