१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:४९:००
Read Time : > 1 मिनेट
विश्व

मसुदलाई प्रतिबन्ध लगाउने भारतको प्रस्ताव चीनद्वारा अस्वीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:४९:००

भारतले पाकिस्तानमा आश्रय लिइरहेका लडाकु समूहका नेता मसुद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै निराशा व्यक्त गरेको छ । सो समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित कश्मिरको पुलवामा विस्फोट गराउँदा ४० भारतीय सिपाहीको मृत्यु भएको थियो । सो आक्रमणलगत्तै दुवै मुलुकबीच एकअर्काविरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो । 

चीनले बुधबार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसुद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरेको थियो । मसुदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने प्रस्तावमा उल्लेख थियो । पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहरमाथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो ।

चीनको पछिल्लो कदमले सो प्रस्ताव करिब ९ महिनापछि धकेलिएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ । मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतंकवादी नेतालाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपाय खुलै राख्ने पनि स्पष्ट गरेको छ । चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीन प्रयत्नलाई अवरुद्ध गरिसकेको छ । जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतंकवादी सूचीमा राखिएको छ । चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अन्य सञ्चारमाध्यमले तिखो व्यांग्य गरेका छन् । 

भारत–पाक प्रतिनिधिको संयुक्त बैठक सुरु

भारत र पाकिस्तानका प्रतिनिधिको संयुक्त बैठक भारतको पञ्जावको अत्तारीमा सुरु भएको छ । करतारपुर करिडोरको खाकालाई अन्तिम रूप दिन भन्दै दुई देशका प्रतिनिधिहरूको पहिलो बैठक बिहीबारदेखि सुरु भएको हो । वार्ता सुरु भएको ठाउँ दुवै देशको सिमानामा पर्छ । स्थानीय एक सरकारी अधिकारीले भने, ‘करतारपुर करिडोरसम्बन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिको बैठक अत्तारीमा सुरु भएको हो ।’

वार्ताका लागि दुवै पक्षका प्रतिनिधि बुधबार बेलुका नै अमृतसार भन्ने ठाउँमा पुगेका थिए । ‘करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यहीअनुसार छलफल हुनेछ,’ भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भने । शिख धर्मका धर्मगुरु नानक देवको ५५०औं जन्मजयन्तीको अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्देश्यले बैठक सुरु भएको अधिकारीले बताएका छन् ।