मतदान भएको तीन दिनपछि प्रमुख प्रतिपक्षी एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनअघि, मतदानमा र मतगणनामा संगठित रूपमै सत्तागठबन्धनले धाँधली गरेको भन्दै एमाले त्यस्तो कार्य तत्काल रोक्न माग गरेको छ ।
‘मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्तागठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । जसरी पनि जित्न गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ ।
‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासविना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको छ । यसरी सत्तागठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ,’ विज्ञप्तिमा छ, ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो ।’
एमालेले धाँधली भएका विषयलाई १५ बुँदामा उठान गर्दै त्यसमा निर्वाचन आयोगसमेत संलग्न भएको आरोप लगाएको छ । ‘निर्वाचनलाई प्रभावित गर्न सत्तागठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारी खटाएको’ उठाइएका बुँदामा भनिएको छ, ‘मौन अवधिमा बुटवललगायतको स्थानमा एमालेका उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रूपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्नेलगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्तागठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदासमेत रोक्न कुनै सार्थक प्रयास गरिएन ।’
त्यस्तै, मतदानको समयमा निर्वाचन परिणामलाई सत्तागठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोसी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोसी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथीभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनियालगायत दर्जनौँ स्थानमा बुथकब्जा गरिएको एमालेको भनाइ छ ।
निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगन्ज उपमहानगरलगायतका केही स्थानमा पूर्वतयारी साथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राखिएको, केही स्थानमा मतगणना गर्दा खसेको मतभन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने र गलत स्थानमा हस्ताक्षर भएको एमालेको आरोप छ । मतगणनामा अनावश्यक ढिलाइ गरिएको भन्दै एमालेले मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग पनि गरेको छ । एमालेले पुनः मतदान र मतगणनाको लागि उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आयोगसँग माग गरेको छ ।