निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीचको द्वन्दका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताएका छन् । प्रमुख आयुक्त थपलियाले स्राेत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए ।
‘अहिले विभिन्न जिल्लाका ३२ वटा मतदान केन्द्रमा द्विपक्ष विभिन्न राजनीतिक दल र उम्मेदवारहरूका बीचको द्वन्दको कारणले मतदान कार्य स्थगत भएको छ । यो रद्ध भएको होइन। मतदान अधिकृतहरूले हरसम्भव प्रयास गरेर मतदान कार्यलाई सुचारु राख्ने प्रयासमा हुनुहुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आयोगको प्रस्ट धारणा के छ भने आयोग वा आयोगका कर्मचारी र सुरक्षाकर्मीको कारणले कहीँ कतै गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेको हो भने यो मान्य हुँदैन ।’
प्रमुख आयुक्त थपलियाले ३ बजेसम्म झन्डै ४६ प्रतिशत मत खसेको जानकारी दिए । केहीमा ७०, केहीमा १८ प्रतिशतसम्म मत खसेको उनको भनाइ छ ।
थपलियाका अनुसार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्रहरूमा कर्मचारी रहने र रोकिएका मतदान पुनः सुचारु हुनेछ । ‘५ बजेभित्रमा मतदानस्थलको तोकिएको परिसरमा छिरेका सबै मतदातालाई मताधिकारको प्रयोग गर्न दिन्छौँ । स्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग छैन,’ उनले भने । उनका अनुसार आयोगले ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आकलन छ ।
प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदानस्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना रहेको बताए । उनका अनुसार जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य आयोगले राखेको छ ।