१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Sunday, 25 August, 2024
२o७९ बैशाख २९ बिहीबार o६:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० भन्दा बढी घाइते

मौन अवधिमा भोट माग्न हिँडेका दुई पार्टीको जम्काभेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार o६:१९:oo

धादिङको नीलकण्ठ नगरपालिका– ६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्। झडपमा परी नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार भूपेन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको, दाहिने आँखा, दाँतलगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ। 

घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी घाइते हुनेहरूमा तेजकुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भूपेन्द्र श्रेष्ठ, रामहरि मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटीलगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् । 

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा लागेको एक स्थानीयले बताए । चुनावी प्रचारमा लागेका दुई पार्टी जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ । मौन अवधिमा भोट माग्न पाइँदैन । तर, वडाध्यक्षसहित गाउँमा भोट माग्न आएका दुई राजनीतिक दलबीच झडप भएको उनले बताए । 

नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जाँदा उनीहरूले पुनः आक्रमण गरेको बताएका छन् । झडपमा परी घाइते बनेका कविराज श्रेष्ठले भने, ‘हामी त हाम्रो साथीहरूलाई चुटे भन्ने सुनेर लिन गएका थियौँ । तर, बाटोमै उल्टो हामीले पनि कुटाइ खायौँ । एक्कासि लाठी तथा ढुंगामुढा भयो । गाडीबाट झर्नै नपाई हामी सबै घाइते बन्यौँ ।’

यता माओवादीले भने कांग्रेसले आफूहरूलाई  आक्रमण गरेको कारण झगडा सुरु भएको बताएको छ । धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो । तर, दलहरूले नीलकण्ठ नगरपालिका– ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।