मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २५ आइतबार २१:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढीमा

Read Time : < 1 मिनेट
२०७९ बैशाख २५ आइतबार २१:०५:००

धनगढीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् । दुवैजना चढेको नेपाली सेनाको हेलिकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । दाङमा भएको गठबन्धनको सभामा सहभागी भएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सँगै धनगढी आएका हुन् । 

प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । देउवालाई भेट्न उनको निवासमा कांग्रेसका नेता, कार्यकर्ताको भिड लागेको छ । माओवादी अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । गठबन्धनले धनगढीमा सोमबार दिउँसो बृहत् चुनावी सभाको आयोजना गरेको छ ।  

त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले कैलालीको कैलारी गाउँपालिकामा माओवादीले बिहान आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । सोमबार नै प्रचण्डले कालिकोट, कञ्चनपुर र डोटीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
    
प्रधानमन्त्री देउवा धनगढीमा गठबन्धनको सभालाई सम्बोधन गरेपछि सोमबार नै गृहजिल्ला डडेल्धुरा जानेछन् । देउवाले डडेल्धुरामा कांग्रेसले मंगलबार गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । धनगढीमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीका शान्ति अधिकारी उम्मेदवार छन् । 

कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच कैलालीका १३ वटै पालिकामा गठबन्धन भएको छ । कैलारी गाउँपालिकामा भने तालमेलको सहमतिविपरीत कांग्रेसबाटै अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार छन् ।