मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २५ आइतबार १६:४३:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

चुनावको दिन पानी पर्न सक्छ, सतर्कता अपनाऔँ : जलवायुविद्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार १६:४३:oo

जलवायुविद्हरूले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यूनचापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरूले सुझाएका हुन् । 

जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको यस आँधी  निकै तीव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा २८  वैशाखदेखि प्रभाव देखिने उनले बताए । ३० वैशाखमा वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय अवस्थाका कारण विशेषगरी पूर्वीनेपालमा वर्षा हुने उनको भनाइ छ । 

‘२५ गतेदेखि बंगालको खाडीमा न्यूनचापीय अवस्था समुद्री आँधीको रूपमा विकसित भएको छ । यो न्यूनचापीय अवस्था वैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्यूनचापीय अवस्था विकसित हुँदै गर्दा आजदेखि त्यसले समुद्री आँधीको रूप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ,’ उनले भने, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वी भागमा खास गरेर वैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आकलनबाट देखिएको छ ।’

चुनावका दिन पानी पर्दा मतदान प्रक्रिया तथा मतपेटिकाको सुरक्षा प्रभावित हुन सक्ने डा. उप्रेतीले बताए । ‘हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुन सक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुन सक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु,’ उनले भने । डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिन सुझावसमेत दिएका छन् ।