मदिरा र मतको गजबको संयोग हुन्छ । र, यसको रोचक इतिहास पनि छ । निर्वाचनमा मदिराको अत्यधिक उपयोग हुने गरेकै छ । उम्मेदवार चयनको समयबाटै सुरु हुने मदिरा र भोजभतेरको शिलशिला निर्वाचनपछि समेत चल्ने गर्छ ।
नेपालमा पनि निर्वाचनको अवधिमा मदिरा र मासुको खपत राम्रै हुने गरेको छ । निर्वाचन आयोगले त स्थानीय तह निर्वाचनको मौन अवधिमा मदिरा बिक्री र सेवन रोक्न आग्रह नै गरेको छ । मदिरा र मतको संयोगले निर्वाचनलाई खर्चिलो मात्रै बनाएको छैन, भ्रष्टाचारजस्ता अनेक विकृति पनि बढाएको छ ।
उम्मेदवारहरूले प्रचारप्रसारको समयमा कार्यकर्तालाई खुवाउन–पिलाउन ठूलै राशि खर्चने गरेका छन् । पछिल्लो समय मतदाता फकाउन मासु र मदिराको भोज खुवाउने प्रवृत्तिमा भने केही कमी आएको राजनीतिक पण्डितहरू बताउ“छन् । मतदाता फकाउन निर्वाचनमा मदिरा उपयोगको इतिहास भर्खरैको भने होइन । मदिरा र भोटको रोचक प्रसंग यस्तो छ :
अमेरिकाका राष्ट्रपिता एवं प्रथम राष्ट्रपति जर्ज वासिङटन मदिरामा मत खरिदको विपक्षमा थिए । तर, मतदाता फकाउन मदिरा नबाँड्दा सन् १७५५ मा उनले पहिलोपटक लडेको ‘भर्जिनिया हाउस अफ बर्गेसेस’को चुनाव हारे ।
अमेरिकाका राष्ट्रपिता एवं प्रथम राष्ट्रपति जर्ज वासिङटन मदिरामा मत खरिदको विपक्षमा थिए । तर, मतदाता फकाउन मदिरा नबाँड्दा सन् १७५५ मा उनले पहिलोपटक लडेको ‘भर्जिनिया हाउस अफ बर्गेसेस’को चुनाव हारे । सन् १७५८ को निर्वाचनमा भने वासिङटनले आफ्नो पूर्ववर्ती मान्यता पन्छाउँदै मतदाता रिझाउन एक सय ६० ग्यालन अर्थात् सात सय २७ लिटर मदिरा बाँडेका थिए । तीन सय ९१ कुल मतदातामध्येबाट उनले तीन सय १० मत प्राप्त गरे । उनले एक मतदाताबराबर दुई लिटरभन्दा धेरै मदिरा खुवाएका थिए । यद्यपि, वासिङटनले त्यसपछि लडेका कुनै पनि निर्वाचनमा मदिराको भोज लगाएनन् ।
अमेरिकामा मदिरामा मत खरिदको प्रचलन उपनिवेशसँगै बेलायतबाट भित्रिएको थियो । उपनिवेश मात्र होइन स्वतन्त्रताको निकै पछिसम्म पनि अमेरिकाका उम्मेदवारहरूले मतदानका दिन मतदानस्थल र निर्वाचन कार्यालय परिसरमै मदिराको भोज लगाउने गर्थे ।
अक्सर उम्मेदवारले नै मतदातालाई गाउँघरबाट यातायातको प्रबन्ध गरेर नगरस्थित मतदान केन्द्र झिकाउँथे । मतदानको दिनलाई मदिराको भोज र राजनीतिक उन्मादले रोमाञ्चक परेड बनाएको हुन्थ्यो । मतदाताका लागि मतदान केन्द्र वा नजिकै खाने–पिउने प्रबन्ध गरिएका हुन्थे ।
उपनिवेश काल र स्वतन्त्रतापछि २०औँ शताब्दीसम्म पनि सलुन र मदिराको भोज अमेरिकी निर्वाचनको एक अभिन्न हिस्सा थियो । सलुन नगरका पुरुषहरू जम्मा हुने र राजनीतिक गफ गर्ने सामुदायिक अखडा थिए । अधिकांश मतदानस्थल यिनै सलुन हुने गर्थे । सुर्ती पसल र सलुनजस्ता पुरुषका लागि सहज स्थल नै मतदानस्थल हुने गरेको इतिहासकार एलेन डुवोइजले ‘द भोट’मा उल्लेख गरेका छन् ।
२०औँ शताब्दीपछि भने मदिराले भोट किन्ने प्रचलनलाई लिएर अमेरिकीहरूले चिन्ता गर्न थाले । यसले मतको छेडखानी, जालसाजी, डराउने, धम्क्याउने, प्रलोभनमा पार्नेजस्ता समस्या बढाएकोमा चिन्ता हुन थाल्यो । सलुन सञ्चालक र गुन्डा समूहहरूले मतदानमा शक्तिको चलखेल गर्न थाले । मतदातालाई अपहरण गर्ने, मदिरा र नशालु पदार्थमा डुबाएर उपयोग गर्ने, एउटै व्यक्तिलाई विभिन्न मतदान केन्द्रमा पुर्याएर मत खसाउनेजस्ता विकृति बढ्न थालेपछि निर्वाचनमा मदिराको बेरोकटोक उपयोगमा बन्देज गरियो । साथै, मतदान केन्द्रलाई पनि पुरुष वर्चस्वको क्षेत्रबाट निकालेर सार्वजनिक स्थलमा सारियो ।