सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले गत मंगलबार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको आदेशसँगै पुनः काममा फर्किसका छन्।
२४ चैतमा सरकारले आफूमाथि छानबिन गर्ने निर्णय गरेपछि निलम्बनमा परेका अधिकारीले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। रिटमाथि भएको आदेशमा दुवै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाउने आदेश भएको थियो।