१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

३९ बिमा कम्पनीमध्ये २१ ले मात्रै बुझाए पुँजी वृद्धि योजना

Read Time : > 4 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३८:oo

०७९ चैत मसान्तसम्म जीवन बिमाको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने

बिमा समितिको तोकेको समयभित्र करिब ५० प्रतिशत बिमा कम्पनीहरूले मात्रै चुक्ता पुँजी वृद्धिको योजना निर्देशनअनुसार पुँजी वृद्धिको योजना बुझाएका छन् । नेपालमा सञ्चालित कुल ३९ बिमा कम्पनीहरूमध्ये २१ वटाले चुक्ता पुँजी वृद्धि योजना बुझाएको समितिले जनाएको छ । समितिको निर्देशनबमोजिम १० वैशाखभित्र सबै बिमा कम्पनीहरूले पुँजी वृद्धि योजना बुझाइसक्नुपर्नेछ । तर, शुक्रबारसम्ममा १० वटा जीवन बिमा कम्पनी र ११ वटा निर्जीवन बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएको समितिले बताएको छ । १० वैशाख शनिबार परेकाले आइतबारसम्म केही थप कम्पनीहरूले चुक्ता पुँजी वृद्धि योजना बुझाउन सक्ने अनुमान समितिको छ ।

३९ बिमा कम्पनीहरूमध्ये १९ वटा जीवन बिमा कम्पनी छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै समितिले तोकेको चुक्ता पुँजी कायम गरेको छ । कम्पनीको चुक्ता पुँजी सात अर्ब ५० करोड छ । त्यस्तै, नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै चुक्ता पुँजी कायम गरेको छ । कम्पनीको पुँजी तीन अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, नेपालमा हाल दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका छन् ।  

तोकिएको समयमा पुँजी वृद्धि असम्भव : चंकी क्षत्री, अध्यक्ष, नेपाल बिमक संघ, प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्स कम्पनी 
नयाँ लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई पुँजी वृद्धि गर्न गाह्रो छ । कतिपय कम्पनीले आइपिओसमेत जारी गरेका छैनन् । पुँजी वृद्धिका लागि हकप्रदको विकल्प छैन । तर, समितिले हकप्रदलाई रोक लगाएको छ । यद्यपि कम्पनीहरूले तोकेको समयमा वृद्धि गर्न सक्दैनन् । 

बिमा समितिले गत १० चैतमा परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढाउन निर्देशन दिएको थियो । ३० दिनभित्रमा पुँजी वृद्धि योजना बुझाउनसमेत निर्देशन दिएको थियो । समितिको सञ्चालक समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने निर्देशन दिएको छ । कम्पनीहरूले आगामी ०७९ साल चैत मसान्तसम्ममा तोकिएको पुँजी पुर्‍याउनुपर्नेछ । हालको व्यवस्थाअनुसार जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ रहेको छ । 

समितिका अनुसार जीवन बिमा कम्पनीमध्ये सूर्या लाइफ इन्स्योेरेन्स कम्पनी, एसियन लाइफ, नेसनल, महालक्ष्मी, गुराँस, मेटलाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सानिमा, सिटिजन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स, आइएमई जनरल, एभरेस्ट, प्रुडेन्सियल, नेको इन्स्योेरेन्स, लुम्बिनी जनरल, शिखर, नेपाल इन्स्योरेन्स, सगरमाथा, अजोड र जनरल इन्स्योेरेन्स कम्पनीले योजना पेस गरेका छन् । 

नेपालमा अहिले सरकारद्वारा सञ्चालित तीनवटा बिमा कम्पनीहरू छन् । जीवन, निर्जीवन र पुनर्बिमा कम्पनी एक–एकवटा छन् । निजी क्षेत्रबाट सञ्चालित ३१ वटा छन् । १५ वटा जीवन, १५ वटा निर्जीवन र एउटा पुनर्बिमा कम्पनी छ । जोइन्ट भेन्चरमा सञ्चालित चारवटा कम्पनी छन् । जीवन र निर्जीवन दुई–दुईवटा छन् ।  

पुँजी वृद्धि गरेर मर्जरमा जान दबाब दिँदै समिति
बिमा समितिले बिमा कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिन पुँजी वृद्धि योजना अगाडि सारेको हो । स्वैच्छिक रूपमा मर्जरका लागि कुनै पनि कम्पनी अगाडि नबढेपछि समितिले नयाँ विकल्पका रूपमा पुँजी वृद्धि योजना ल्याएको हो । 

नेपालमा सञ्चालित बिमा कम्पनीहरूमध्ये केहीको अवस्था नाजुक छ । घाटामा चलेका बिमा कम्पनीहरू पनि मर्जरका लागि तयार नभएपछि समितिले पुँजी वृद्धिको विकल्प छानेकोे एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘पुराना कम्पनीमध्ये सूर्या, एसियन, युनाइटेडलगायतका कम्पनीको अवस्था नाजुक छ । केही नयाँ कम्पनीमा पनि समस्या छ,’ उनले भने । तिनै कम्पनीहरू गाभिएर बलियो कम्पनी बनोस् भन्ने समितिको चाहना रहेको उनले बताए ।

योजना नबुझाउनेलाई कारबाही हुन्छ : राजुरमण पौडेल, प्रवक्ता एवं कार्यकारी निर्देशक, बिमा समिति
हामीले ३० दिनको अवधि दिएका हाैँ । तोकिएको समयमा नबुझाउनेलाई बिमा ऐनबमोजिम कारबाही हुनेछ । कम्पनीहरूले आइतबारसम्ममा योजना बुझाउन सक्नेछन् ।

त्यस्तै, बिमा समितिका प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले भने समितिको उद्देश्य बिमा कम्पनीहरूको संख्या घटाउनु नै रहेको बताए । ‘हामीले कम्पनीहरूलाई मर्जरमा जान धेरै प्रेरित गर्‍याैँ । तर, कम्पनीहरू सकारात्मक देखिएनन् । त्यसैले पनि पुँजी वृद्धि गर्नुपरेको हो,’ उनले भने । 

त्यस्तै, कम्पनीहरूको जोखिम वहन गर्न सक्ने क्षमता बढाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीगत सामाञ्जस्यता हुने गरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धि निर्णय गरिएको समितिले जनाएको छ ।

समितिले विदेशी बिमकका रूपमा दर्ता भई सञ्चालनमा रहेको बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ बमोजिम तोकिएको चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्नुपर्नेे व्यवस्था गरेको छ । यो व्यवस्थासँगै मेट लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स तथा नेसनल इन्स्योरेन्स कम्पनीले निर्धारित पुँजी पुर्‍याउनुपर्ने भएको छ । संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाअनुसार तोकिएको चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको समितिले बताएको छ । 

क्रस होल्डिङ कम्पनीलाई मर्जरमा प्राथमिकता 
बिमा समितिले क्रस होल्डिङ भएका बिमा कम्पनीहरूलाई मर्जरमा जान पहिलो प्राथमिकतामा राखेको छ । समितिले एउटै खालको बिमा व्यवसाय गर्ने कम्पनी जसमा एउटै समूहको लगानी छ भने यस्ता कम्पनीलाई सबैभन्दा पहिला मर्जरमा जान प्रेरित गरेको छ । यस विषयमा केही कम्पनीहरू उत्सुक देखिए पनि हालसम्म कुनै पनि कम्पनीमा मर्जरमा जान सकेका छैनन् । 

नेपालमा सञ्चालित बिमा कम्पनीहरूमा आइएमई समूह, विशाल समूह, खेतान समूह, गोल्छा अर्गनाइजेसन, केडिया समूह, अग्रवाल समूहहरूको लगानी अधिक छ । यी समूहले एकभन्दा बढी कम्पनीहरूमा लगानी गरेका छन् । नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा आइएमई समूहको लगानी छ । यी दुवै क्रस होल्डिङमा पर्छन् । एसियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्समा पनि एउटै परिवारको लगानी छ । 

केही समयअगाडि सरगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरको छलफल भएको थियो । प्रक्रिया धेरै अगाडि बढे पनि मर्जर सफल भने हुन सकेन । त्यस्तै, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सबीच पनि मर्जरको प्रक्रिया अगाडि बढेको थियो । तर, मर्जर भने हुन सकेन । प्रिमियर र नेको इन्स्योरेन्सले पनि मर्जरको असफल प्रयास गरेका थिए । 

समितिले मर्जरमा जानका लागि विभिन्न सुविधा दिएपछि प्राइम लाइफ इन्स्योरेन्सले युनियन लाइफ र एसियन लाइफ इन्स्योरेन्सलाई प्राप्ति गर्न लागेको समितिले जनाएको छ । समितिका अनुसार प्राइम युनियनमा गोल्छा अर्गनाइजेसनलगायतको लगानी छ । एसियनमा भने दुगड समूहको लगानी छ । प्राइममा खेतान समूहको लगानी छ । एसियन र युनियन कम्पनीको अवस्था कमजोर भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दुवै कम्पनीलाई गाभ्ने भएको हो । मर्जरका लागि डिडिए भइरहेको छ । 

समितिले ०७० सालमा कम्पनीहरूको चुक्ता पुँजी बढाएको थियो । तत्कालीन समयमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५० करोड र निर्जीवन बिमा कम्पनीका लागि २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । 

०७४ सालमा फेरि समितिले कम्पनीको पुँजी वृद्धि गरेको थियो । तत्कालीन समयमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको पुँजी एक अर्ब रुपैयाँ बढाएको थियो । चुक्ता पुँजी वृद्धिका लागि समितिले एक वर्षको अवधि दिएको थियो । तर, अधिकांश कम्पनीहरूले तोकेको समयमा भने वृद्धि गर्न सकेका थिएनन्, जसका कारण समितिले पटक–पटक गरी एक वर्ष समयावधि थप गरेको थियो । 

ad
ad