मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीवाकर मैनाली काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार १८:०१:००
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
दीवाकर मैनाली, काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार १८:०१:००

गत साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ दुई दिनमै सिनेमा हलबाट उत्रियो । सिंगल थियटर र मल्टिप्लेक्स हलमा दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले कब्जा जमाइरहँदा नेपाली सिनेमाले शो नै नपाई हलबाट बाहिरिनुपर्‍यो । यसको संकेत हो– विगतमा अंग्रेजी र बलिउडका सिनेमाको दबदबा खेप्दै आएका नेपाली चलचित्रले अबदेखि दक्षिण भारतीय चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । विदेशी चलचित्रले नेपालमा प्रभुत्व जमाउँदै जाँदा नेपाली चलचित्र असुरक्षित छन् । कोरोना महामारीको १८ महिना त नेपाली चलचित्र प्रायः ठप्प नै रह्यो । तर, कोभिड महामारी नियन्त्रणमा आउँदै गरेको अवस्थामा पनि नेपाली चलचित्रले सिंगल र मल्टिप्लेक्स हलमा शो पाउन सकिरहेका छैनन् । 

नयाँ वर्ष ०७९ को अवसरमा सुनीलकुमार थापाले निर्माण गरेको ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँदै छ । सोही दिन दक्षिण भारतीय सिनेमा ‘केजीएफ २’ पनि प्रदर्शनमा आउँदै छ । हिन्दी चलचित्रका वितरकले दुई करोेड तिरेर नेपालमा प्रदर्शन गर्न ल्याउँदै छन् । एकै दिन ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’ जुध्ने छ र यसको सीधा मार नेपाली चलचित्रले व्यहोर्नुपर्ने देखिन्छ । किनभने सुपरहिट भइसकेको ‘केजीएफ’ को दोस्रो भाग हेर्न दर्शक प्रतीक्षारत छन् । नेपालमा दक्षिण भारतीय चलचित्रमा र यशजस्ता कलाकारका शुभेच्छुकलाई पछ्याउनेहरू धेरै छन् । अब नेपालमा हिन्दीसँगै दक्षिण भारतीय चलचित्रको दबदबा बढ्ने निर्माता सुनील मानन्धर बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय नेपालमा राम्रा चलचित्र बन्नै छाडे । त्यसमा पनि हिन्दी र दक्षिण भारतीय फिल्मको चेपुवामा नेपाली चलचित्र परेका छन् ।’ नेपाली चलचित्रले आफ्नो मौलिकता गुमाउँदै गएकाले पनि विदेशी चलचित्रको प्रभुत्व बढेको उनको भनाइ छ ।

निर्माता एवं वितरक मानन्धरको भनाइसँग निर्देशक मनोज पण्डितको तर्क पनि मिल्छ । उनी नेपाली सिनेमाले आफ्नो पहिचान गुमाउँदै गएको तर्क गर्छन् । उनी भन्छन्, ‘हिजोको भन्दा अब भारतीय सिनेमाको प्रभुत्व बढ्नेछ ।’ नेपाली चलचित्रमा मौलिक कथावस्तु हराएकाले विदेशी सिनेमा हाबी भएको उनको भनाइ छ । ‘आगामी दिनमा विदेशी फिल्मका वितरक र हलमालिक बलियो बन्नेछन् । नेपाली सिनेमाको यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ,’ पण्डित भन्छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल नेपाली सिनेमा बचाउने हो भने नेपाली मौलिक कथावस्तुलाई जोड दिनुपर्ने बताउँछन् । अहिलेको जस्तो चलचित्र निर्माणको तरिकाले नेपाली चलचित्रको विकास र बजार विस्तार नहुने उनको तर्क छ । ‘हलिउड र बलिउडका चार–पाँच सय करोडमा बनेका चलचित्रसँग हाम्रो ४०–५० लाखमा बनेका चलचित्रले प्रतिस्पर्धा गर्न सक्दैनन् । हाम्रो बलियो हतियार भनेको आफ्नै कथा, अभिनय, कला, शैली हो,’ दाहाल भन्छन् । बोर्डले राष्ट्रि«य चलचित्र नीति, २०७१ अनुसार मौलिक कथामा चलचित्र बन्ने वातावरण होस् भनेर ‘चलचित्र लगानी कोष’ स्थापना गर्न खोजेको छ । 

निर्देशक केपी पाठक भने अहिलेसम्म पनि नेपाली चलचित्रको पहिचान नै बनिनसकेको दाबी गर्छन् । ‘साढे पाँच दशक इतिहास बोकेको नेपाली सिनेमा अहिले पनि आफ्नो पहिचान खोज्दै छ । नेपाली सिनेमा संक्रमणकालकै अवस्थामा छ । अरू देशको चलचित्रको पहिचान यो हो भन्ने छ । तर, नेपाली चलचित्रको कथात्मक शैली आफ्नो छैन,’ पाठक भन्छन् । निर्देशक पाठक चलचित्र विकास बोर्ड स्थापनाको उद्देश्यअनुसार अघि बढ्न नसकेको आरोप लगाउँछन् । ‘नेपाली सिनेमाको विकास गर्ने बोर्डको उद्देश्य हो । तर, उसको काम अहिले विदेशी सिनेमाको कर उठाउने मात्र हो । स्रोत–साधन छैन । बढी आम्दानी गर्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘नेपाली चलचित्रले आफ्नो पहिचान स्थापित गर्ने र अन्तर्राष्ट्रिय बजारमा जाने हो भने चलचित्र नीति कार्यान्वयन गर्नुपर्छ । सरकारले बजेट छुट्याउनुपर्छ । नेपाली चलचित्रबारे पढाउनुपर्छ । चलचित्रका अवयवलाई बलियो बनाउनुपर्छ । नत्र पाँच वर्षपछि पनि नेपाली सिनेमाको अवस्था अहिले जे छ त्यही रहन्छ ।’

नेपाली सिनेमा कहिले ओटिटीमा रिलिज होलान् ?
भारतसहित विभिन्न देशमा चलचित्र रिलिजको डिजिटल प्लेटफर्म ओभर द टप (ओटिटी) लोकप्रिय हुँदै छ । कोरोना महामारीका कारण दर्शकहरू सिनेमा हलमा जान नसकेपछि ओटिटी प्लेटफर्म उपयुक्त प्लेटफर्म साबित भएको छ । नेपालमा पनि यस्तै विश्वसनीय र ठूलो डिजिटल प्लेटफर्मको आवश्यकता महसुस भइसकेको छ । तर, आजसम्म त्यस्तो कुनै पनि प्लेटफर्म निर्माण भइसकेको छैन । निर्देशक विनोद पौडेल, अभिनेत्री ऋचा शर्मा, निर्देशक प्रचण्डमान श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, सिमोस सुनुवारलगायतको समूहले ओटिटी प्लेटफर्म विकास गर्ने योजना बनाए पनि अहिलेसम्म ल्याउन सकेका छैनन् । 

नेपालको बैंकिङ प्रणाली झन्झटिलो भएकाले ओटिटी प्लेटफर्म विकास गर्न चुनौती देखिएको उनीहरूको भनाइ छ । पेमेन्ट गेट वे सहज र प्लेटफर्म युजर फ्रेन्ड्ली नभएसम्म यसमा सफलता हात पार्न कठिन हुने निर्देशक पौडेलको भनाइ छ । ओटिटी प्लेटफर्ममार्फत भिडियो वा जुनसुकै कार्यक्रम प्रसारण गर्न अब नेपाल सरकारको अनुमति लिनुपर्ने भएको छ । ओटिटी दर्ता हुन सरकारले एक करोड रुपैयाँ शुल्क लिने व्यवस्था गरेकाले पनि तत्काल सम्भव नभएको निर्देशक सुनील पाण्डेले बताए ।

ओटिटी प्लेटफर्म संस्थाले आफ्ना ग्राहकको रजिस्टे«सन नेपालभित्रैबाट गराउनुपर्ने व्यवस्थासमेत गरिएको छ । सुलभ र भरपर्दो पेमेन्ट गेटवे तथा युजर फ्रेन्ड्ली नेपाली डिजिटल प्लेटफर्म निर्माण गर्न सकेको अवस्थामा नेपाली चलचित्रका निर्मातालाई ठूलो रकम आउने उनको भनाइ छ । विदेशी अमेजन, नेटफ्लिक्सजस्ता डिजिटल प्लटफर्ममा रिलिज हुने हलिउड, बलिउड, कोरियन, चाइनिज चलचित्रका नियमित दर्शक नेपालमा नभएका होइनन् । विदेशमा रोजगारीका लागि गएका थुप्रै नेपाली डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्म, वेब सिरिज हेरिरहेका छन् । यदि ओटिटीमा नेपाली सिनेमा रिलिज भएमा यसको फाइदा नेपाली निर्माता निर्देशकले पाउने अवस्था छ । 

तीन हजारभन्दा बढी चलचित्र निर्माण
०२२ सालमा निर्माण भएको ‘आमा’लाई आधार मानेर अध्ययन गर्दा नेपाली चलचित्रको इतिहास ५६ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म भाषा मात्र नेपाली बाँकी विषयवस्तु विदेशी चलचित्रबाट प्रभावित भएको चलचित्रकर्मीहरूको भनाइ छ । नेपालमा वार्षिक करिब सयवटा चलचित्र निर्माणका लागि इजाजत माग भएको छ भने बढीमा ७५ वटा चलचित्र बन्ने गरेको विकास बोर्डका अध्यक्ष दाहाल बताउँछन् । तर, कोरोना महामारीका वेला भने ४०–४५ वटा चलचित्र निर्माण भएका छन् ।

तर, ती चलचित्र सबै प्रदर्शनमा आइसकेका छैनन् । नेपालमा हालसम्म फिचर फिल्म ११ सयको हाराहारीमा, डिजिटल फिल्म १५ सयभन्दा बढी तथा भिडियो साढे पाँच सयको हाराहारीमा बनेको दाहाल बताउँछन् । ०५० पछि भने नेपाली चलचित्र निर्माणमा बाढी नै आएको देखिएको छ । चलचित्र समाजका पूर्वअध्यक्ष केपी पाठक केही नेपाली चलचित्रले मात्रै आफ्नो शैली भन्न थालेको धारणा राख्छन् । उनको बुझाइमा निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ चलचित्रले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिएको छ । परम्परागत ढंगले चलचित्र बनिरहेका वेला ‘लुट’ले कथा भन्ने शैलीलाई नेपालीपन दिएको उनको भनाइ छ । बस्नेतले त्यसपछि निर्माण गरेको ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ लाई दर्शकले मन पराए । निर्देशक रामबहादुर गुरुङले ‘कबड्डी’ सिरिजमार्फत गाउँले समाजको कथा प्रस्तुत गरेका छन् । तर, मधेसका कथा भन्न बाँकी रहेको पाठकको भनाइ छ । 

स्टोरी बैंकको अवधारणा ल्याएका छौँ
 

दयाराम दाहाल
अध्यक्ष, चलचित्र विकास बोर्ड

नेपाली चलचित्र नेपाली स्वरूपको हुनुपर्छ । हामी संस्कृतिमा धनी छौँ, सभ्यतामा धनी छौँ, एक सय २५ वटा जातजाति छौँ भन्छौं । ती जातजातिका त्यत्तिकै संख्यामा संस्कृति छन्, संस्कार छन् । तीभित्र हाम्रा अनेकौँ कथा छन् । त्यसैले अबको हाम्रो चलचित्र हलिउड, बलिउड वा त्यस्तै कुनै विदेशी ढाँचाको होइन कि हाम्रो आफ्नै स्वरूपको हुनुपर्छ । भाषा मात्र नेपाली होइन कि कथा पनि हाम्रै हुनुपर्छ । कलाकार पनि हाम्रै हुनुपर्छ । नेपाली चलचित्र मौलिक स्वरूपमा बनोस्, आफ्नै कथामा बनोस् भनेर स्टोरी बैंकको अवधारणा ल्याएका छौँ । हाम्रो आफ्नै कथा र विषयवस्तु खोजी हुनुप¥यो । हिन्दी, अंग्रेजी, कोरियन वा अन्य भाषाका चलचित्रको ढाँचामा नेपाली चलचित्र बन्नुहुँदैन । मौलिक कथाको खोजी हुनुपर्‍यो भनेर स्टोरी बैंकको अवधारणा ल्याइएको हो । यसले नेपाली चलचित्रका निर्माता, निर्देशक र लेखकलाई प्रोत्साहन दिन्छ । 

हामी निरंकुश चलचित्र बनाइरहेका छौँ 
 

मनोज पण्डित,चलचित्र, निर्देश

पाँच वर्षपछि नेपाली सिनेमा कस्तो होला भन्ने विषयमा चर्चा गर्नुपर्दा पहिले आज हामी कहाँ छौँ भन्ने बुझ्नुपर्छ । हाम्रो प्रस्ट कथ्य छैन । अहिले हामी व्यावसायिकताको नाममा ‘स्केपिक चलचित्र’ बनाइरहेका छौँ । व्यक्तिप्रधान, पुरुषको महिलासँगको सम्बन्ध, चोरीका विषय जो आर्थिक वा सामाजिक रूपमा अर्थ नराख्ने विषयमा हामी केन्द्रित भएका छौँ । हामी बिस्तारै कथात्मकताबाट विमुख भएर आधुनिकताको नाममा प्रविधिमा मात्रै काम गरिरहेका छौँ । चलचित्रको बाहिरी आवरणमा काम गरिरहेका छौँ । मानवीय जटिलता, मूल्यमान्यता, मानिस र राज्यबीचको सम्बन्ध, मानिस र आर्थिक सम्बन्धलाई हामीले बेवास्ता गरेका छौँ । हामी राजनीतिक रूपमा निरंकुश चलचित्र बनाइरहेका छौँ । हाम्रो आवश्यकता राजनीतिक लोकतान्त्रिक चलचित्र बनाउने हो । जसले मानिसका अधिकारका कुरा, स्वाभिमानका कुरा, मानिस–मानिसबीचको सम्बन्धको चर्चा गर्छ ।