स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने निर्वाचन आचारसंहिता बनाएपछि उम्मेदवारको आकांक्षी जनप्रतिनिधिले राजीनामा दिन सुरु गरेका हुन् ।
दमक नगरपालिका प्रमुखकी आकांक्षी गीता अधिकारीले उपप्रमुखबाट राजीनामा दिएकी छिन् । उनले नगरप्रमुख रोमनाथ ओलीसमक्ष शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको नगर समितिबाट अधिकारीको नाम पनि माथिल्लो तहमा नगर प्रमुखको दाबेदारको रूपमा सिफारिस भएको छ ।
यद्यपि दमकमा एमालेको उम्मेदवारमा तीनजनाको दाबी थियो । गीता अधिकारी, होमबहादुर थापा र अम्बिका खनालले नगर प्रमुख पदमा आकांक्षा देखाएर पार्टीले माथिल्लो तहमा उम्मेदवार छनोटका लागि सिफारिस गरेको छ । आफू मेयर पदको दाबेदार भएका कारण शुक्रबार उपप्रमुखबाट राजीनामा दिएको अधिकारीले बताइन् । ‘आइतबार नोमिनेसन नै छ । शनिबार कार्यालय बिदा हो । त्यही भएर शुक्रबार नै मेयरसाबसमक्ष राजीनामा दिएको हुँ,’ अधिकारीले नयाँ पत्रिकासँग भनिन्, ‘निर्वाचन आयोगले जनप्रतिनिधि फेरि चुनावमा प्रतिस्पर्धा गर्न राजीनामा दिनुपर्ने आचारसंहिता बनाएपछि आचारसंहिता उल्लंघन नहोस् भनेर राजीनामा दिएकी हुँ ।’
उनले नगरपालिकाको गाडीलगायतका सुविधा पनि फिर्ता गरेको बताइन् । नगर प्रमुख रोमनाथ ओलीले राजीनामा आउनु नै स्वतः स्वीकृत भएको बताए । ‘राजीनामा आउनु नै स्वीकृत हो । स्वीकृति गर्न पर्दैन,’ उनले भने, ‘केही काम अब हुँदैन । न्यायिक समितिका काम बाँकी रहेका अन्य दुईजना सदस्यले गर्नु हुन्छ । ’गाउँपालिका अध्यक्षमा आकांक्षा देखाएका गौरीगन्ज गाउँपालिका उपाध्यक्ष दीपिन्द्र थापाले पनि केही दिनअघि नै पदबाट राजीनामा दिएका थिए । उनले गाउँपालिका अध्यक्षको दाबेदार भएकाले केही दिनअघि नै राजीनामा दिएको बताए । ‘निर्वाचन आयो । चुनावमा खटिनुपर्छ । त्यो क्रममा आचारसंहिता उल्लंघन नहोस् भनेर राजीनामा दिएको हुँ,’ उनले भने, ‘पाँच वर्ष उपाध्यक्षमा काम गरेको अनुभवले अध्यक्षकै आकांक्षी हुँ । पार्टीले कस्तो निर्णय गर्छ हेरौँ ।’ यस्तै, शिवसताक्षी–८ का वडाध्यक्ष केहरसिंह बस्नेतले २८ चैतमै वडाध्यक्ष पदबाट राजीनामा दिएका छन् । चुनाव नजिकिएसँगै चुनावी गतिविधिमा सक्रिय हुन उनले नगरप्रमुख चन्द्रकुमार शर्मासमक्ष राजीनामा दिएका हुन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बहालवाला जनप्रतिनिधिले पुन उम्मेदवार बन्नका लागि बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । तर, अदालतले सो व्यवस्थाविरुद्ध परेको रिट खारेज गरेपछि बहालवाला प्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था बाध्यकारी भएको हो । राजीनामाका अलावा बहालवाला प्रतिनिधिले उम्मेदवारी दिनका लागि आफ्नो नाममा भएको बेरुजु फर्स्याेट पनि गर्नुपर्नेछ ।