माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन भएकाे छ । लगातार दुई वर्ष कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा सुरू भएकाे हाे ।
यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।
विद्यालयले आन्तरिक मूल्यांकन गर्दा अधिकांशले विद्यार्थीको सही मूल्यांकन नगरी क्षमताभन्दा बढी अंक दिएकोसमेत आरोप लागेको थियो । एउटै स्तरको प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गर्दाभन्दा आन्तरिक मूल्यांकनमा उच्च ग्रेड ल्याउनेको संख्या निकै बढेको थियो ।
सवा पाँच लाख विद्यार्थी
यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी भएका छन् । एसइईमा छात्राभन्दा छात्रको संख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार नौ सय २७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् । विद्यार्थी र परीक्षा केन्द्रको संख्या बागमतीमा धेरै छ । विद्यार्थी काठमाडौं जिल्लामा सबैभन्दा बढी ३६ हजार ५१ र मनाङमा सबैभन्दा कम ६१ जना छन् । साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन भएकाे छ । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ ।
ग्रेडिङका लागि न्यूनतम ३५ अंक ल्याउनैपर्ने
विद्यालय तहमा न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको मूल्यांकन पद्धति समान हुने गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरी न्यूनतम ३५ अंकभन्दा कम ल्याउनेको ग्रेडिङ नगर्ने निर्णय लिएको हो । कक्षा १ देखि १२ सम्मको मूल्यांकन पद्धति एउटै बनाउन सो निर्णय गरिएको केन्द्रको भनाइ छ ।
यसअघि विद्यालय तहमा मूल्यांकनको पद्धति फरक–फरक थियो । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार एसइईमा एउटा र कक्षा ८ मा पालिकाअनुसार मूल्यांकनको आधार फरक थियो । अरू कक्षामा समेत एउटै व्यवस्था थिएन । यसअघि नौवटा ग्रेडिङ रहेकामा सातवटा ग्रेड र ‘ननग्रेडेड’समेत राखिएको छ । पहिले ३० र त्योभन्दा माथि ४० भन्दा कमलाई डी प्लस राखिएको थियो । अहिले डी प्लस ग्रेड राखिएको छैन । ४० र सोभन्दा माथि ५० भन्दा कमलाई ‘सी’ र ३५ र सोभन्दा माथि ४० भन्दा कमलाई ‘डी’ ग्रेड उल्लेख गरिएको छ । यसपटक ई ग्रेडको व्यवस्था गरिएको छैन । ३५ भन्दा कम अंकलाई ‘अवर्गीकृत’को व्यवस्था गरिएको छ । प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिनेछ । परीक्षण र सम्परीक्षणबाट प्राप्त अंक (ग्रेडसिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अंक)लाई अक्षर गे्रडमा रूपान्तर गर्ने उल्लेख छ ।
कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ । तर, विषयगत रूपमा आन्तरिकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध नगराउने व्यवस्था छ । अन्य कक्षाको हकमा यो निर्देशिकाको प्रतिकूल नहुने गरी विद्यालयले नै ग्रेसिट र प्रमाणपत्र उपलब्ध गराउनेछ ।