रवीन्द्रजीले देशको भविष्य लेख्छौँ भनेर हिँडेको दललाई ०६३ सालमै विसर्जन भएको व्यवस्था बोकेर ०४७ सालतिर लान खोज्नुभयो
फ्रान्सेली राज्यक्रान्तिको करिब दुई सय वर्षपछि सन् १९७२ मा जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री, चर्चित कूटनीतिज्ञ चाउ एन लाईसँग प्रतिक्रिया माग्दा उनले छोटो उत्तर दिए, ‘अहिले नै यसबारे बताउन छिटो हुन्छ ।’ उनको यो भनाइ संसारभर चर्चित भयो । दुई सय वर्षपछि पनि उक्त क्रान्तिलाई हेर्ने चिनियाँ नेताको दृष्टिकोण कति गहिरो र दूरदर्शी रहेछ भन्ने बहस भयो । यद्यपि उनको यो भनाइ फ्रान्सेली राज्यक्रान्तिबारे नै थियो वा थिएन भन्नेमा भने विवाद कायमै छ । यो भनाइले सिकाएको महत्वपूर्ण पाठ हो– कुनै पनि राजनीतिक घटनालाई तत्कालको आँखाले विश्लेषण गरेर हतारमा निष्कर्षमा पुगिहाल्नु हुँदैन ।
फ्रान्सेली राज्यक्रान्ति सफल हो वा असफल आज पनि चर्चाको विषय छ । सन् १७९३ मा लुई सोह्रौँलाई मृत्युदण्ड दिइयो, तर त्यसपछि पनि हत्याहिंसा रोकिएन । म्याक्समिलन रबस्पियरको नेतृत्वमा फ्रान्स एकपटक पुनः अव्यवस्थाको सिकार भयो । आतंकको राज स्थापना हुँदा फेरि हजारौँको ज्यान गयो । राजा हटाउन भएको आन्दोलनको केही समयपछि पुनः तानाशाही र सैन्य शासन सुरु भयो । नेपोलियन बोनापार्ट सम्राट्को रूपमा उदाए । यी घटना नियाल्दा यो क्रान्तिलाई असफल पनि भन्न सकिएला, तर यो क्रान्तिको सफलता यसले स्थापित गरेको विचारमा छ । यो क्रान्ति समानता, स्वतन्त्रता, भ्रातृत्वजस्ता विचार संसारभरि फैलिन महत्वपूर्ण रह्यो । संसारभरका थुप्रै संविधानले यो विचारलाई अँगालेका छन् । यही क्रान्तिले नै लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, वाक्–स्वतन्त्रताजस्ता अवधारणालाई राजनीतिका सारभूत एजेन्डाको रूपमा स्थापित गर्यो ।
रवीन्द्र मिश्रले ल्याएको पार्टी, संविधान र देशविरोधी आलेखलाई पार्टीले रोक्न सकेको भए, रवीन्द्र मिश्रलाई विधिवत् रूपमा दण्डित गर्न सकेको भए, त्यसले वैकल्पिक राजनीतिलाई थप उचाइमा पुर्याउँथ्यो । हामीले यी दुवै अवसर गुमायौँ । यसमा मैले आफ्नो नेतृत्वको पनि आत्मसमीक्षा गर्न जरुरी छ ।
वैकल्पिक राजनीतिको सोच : हालैमा कान्तिपुर एजुकेसन समिटको पहिलो सत्र सकेर बाहिर निस्किएको बखत पछाडिबाट कसैले ‘मिलनजी नमस्कार !’ भनेर बोलाएको आवाज सुनेँ । ‘हामीचाहिँ अहिले नेपाली कांग्रेसमा वैकल्पिक राजनीति गर्दै छौँ ।’ उहाँहरूले आफूलाई चिनाउन वैकल्पिक राजनीति जोड्नुभयो । दुई युवा नेतृत्वको यो कुरा सुनेर मलाई खुसी लाग्यो । मैले भनेँ, ‘तपाईंहरू त्यहाँबाट राजनीति सुधार्नुहोस्, हामी विवेकशीलबाट सुधार्न प्रयास गर्छौं ।’ यो संवादले मेरा लागि दुई कारणले विशेष अर्थ राख्छ । पहिलो– केही वर्षयता सचेत युवाहरू राजनीतिमा सक्रिय हुँदै हुनुहुन्छ । दोस्रो– उहाँहरूको सुसंस्कृत राजनीति वा वैकल्पिक राजनीतिप्रतिको विश्वास बढ्दो छ । मलाई लाग्छ, वैकल्पिक राजनीतिले गत एक दशकमा कमाएको मुख्य दुई पुँजी यिनै हुन् ।
विवेकशील र आम आदमी पार्टी
विवेकशील नेपाली दल र आम आदमी पार्टी लगभग सँगै उदाएका हुन् । अझ विवेकशील थोरै जेठो पार्टी हो । उज्वल थापा, पुकार बमहरूले टोल–टोलमा ‘धारा छ पानी छैन’, ‘तार छ बिजुली छैन’, ‘राम्रो स्कुल खोइ ?’ भन्दै २०६९ सालमै अभियान छेडेको हो । शिक्षा–स्वास्थ्यको मुद्दामा गोविन्द केसीलाई पहिलो अनशनदेखि नै साथ दिएको हो । फर्केर विश्लेषण गर्दा संयोगले विवेकशील र आपको नाम पनि उस्तै र मुद्दा पनि उस्तै रहेछ । तर पनि आम आदमी भारतमा सफलताउन्मुख छ तर विवेकशील साझा किन अलमलियो ?
यसमा दुई कारण छन् । पहिलो, भारत र नेपालको राजनीतिक कालखण्ड । आज केजरिवालको पार्टीका कोही पनि मानिस गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका निम्ति लड्नुपरेको छैन । भारतमा ७० वर्षअघि नै संविधान बनेर यी मुद्दा संस्थागत भइसकेका छन् । नेपालमा भने दलहरूको अक्षमताले यही बहसबाट देश अघि बढ्न सकिरहेको छैन । दोस्रो, आम आदमी पार्टीले सुरुमै ‘टेक अफ’ ग¥यो, विवेकशील साझाले त्यो मौका पाएन । गत निर्वाचनमा यदि स्थानीय तह जितेको भए वा राष्ट्रिय पार्टी बनेको भए सायद वैकल्पिक राजनीतिको दृश्य अर्कै हुन्थ्यो होला । आम आदमीले पहिलो निर्वाचनमै सफलता पायो, तर हामी चुक्यौँ ।
किन भयो दोस्रो एकीकरण ?
विवेकशील साझा किन फुटेको भन्ने आम नागरिकको प्रश्न हामीले कास्की–२ को उपनिर्वाचनमा निकै सामना गर्नुपर्यो । भोट त आएन आएन, हामीले नागरिकको विश्वाससमेत गुमाएको महसुस गर्यौँ । अदालतमा २०७५ सालको फुटको मुद्दा चलिरहेको थियो, राजनीतिक रूपमा पनि नागरिकबाट हाम्रो फुट अस्वीकृत भएपछि हामीमाथि थप दबाब थियो । विवेकशील नेपालीले भर्खर महाधिवेशन सकेर नयाँ नेतृत्व चुनेको थियो । उता, साझा पार्टीले भने राष्ट्रिय भेलामार्फत संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रहको लाइन लिएको थियो । विवेकशील नेपाली भने गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, सामाजिक न्यायमा स्पष्टतासहित अघि बढिरहेको थियो ।
रवीन्द्र मिश्रकै अग्रसरतामा पुनः एकीकरणका निम्ति संवाद सुरु भयो । विवेकशील पक्षले त्यो पश्चगामी लाइनमा जान नसक्ने पहिलो दिनबाटै स्पष्ट पारेको थियो । ६ महिना चलेको वार्तामा यो कुरा सुरुमै टुंगिएको थियो । साझाको तर्फबाट वार्तामा रहेका साथीहरूसमेत पार्टीमा लागेको त्यो ‘लुम्बिनीको दाग’ मेटाउन एकीकरण गर्न लागेको हो भन्नुहुन्थ्यो । एकीकरण घोषणा गर्नु पाँच दिनअघि अर्थात् मंसिर १९ गते रवीन्द्र मिश्र, केशव दाहाल, रमेश पौड्याल र म तीनकुनेको सिद्धार्थ कटेजको भुइँतलाको हलमा बस्यौँ । रमेशजीले यिनै मुद्दाको स्पष्टतामा अलि द्विविधा देखिएको छ, कुरा स्पष्ट लेखौँ भन्नुभयो । केशवजीले प्रगतिशील, गतिशील, प्रोग्रेसिभ, मध्य–वामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी बनाउने, विगतमा भएका आन्दोलनको रक्षा गर्ने लेखेको छ, सबै स्पष्ट नै त छ नि भन्नुभयो । उहाँहरूको भनाइ थियो, अब यही कुरामा धेरै बहस गरियो भने साझा पार्टीमा समस्या आउँछ, त्यसैले बढी यो विषय नबल्झाऔँ । साझामा केही व्यवस्था विरोधीहरू थिए, राजावादी थिए । उहाँहरूले प्रत्येक वार्ताको बैठकमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितामा सहमति जनाउनुभएको थियो । मौखिक सहमति र लिखित हस्ताक्षर गरेको छ, वार्ता कमिटीका साथीहरू र अर्काे पार्टीका संयोजकले नै मानेको छ, उनीहरूको केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गर्ने कुरा आएपछि, हामीले विश्वास गर्यौँ ।
म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हुँ । लोकतन्त्रको आधारभूत स्तम्भ भनेको लेखेको, गरेको सम्झौताप्रतिको इमानदारिता हो । मैले बन्दै गरेको पार्टीको अध्यक्षबाटै आफूले गरेको सम्झौता यो तहमा गएर तोडिएला भनेर कल्पनासमेत गरेको थिइनँ । दुई संयोजकको सहमतिमा एजेन्डा तय गर्ने र बैठक बोलाउने भनेर स्पष्टसँग विधानमा लेखेको कुरा पनि पाँचजना वकिल राखेर विधानको व्याख्या गर्दै अदालत जानुपर्ला भनेर पनि कल्पना गरेको थिइनँ । हामीले अर्काे पक्षको केन्द्रीय कमिटीले अनुमोदन गरेको एकीकरण पत्र र त्यसको नेतृत्व गरिरहनुभएका अध्यक्षले बोलेको कुरामा विश्वास गरेकै हो । यदि विश्वास गर्नु गल्ती थियो भने यहाँनेर हाम्रो गल्ती छ ।
२०७८ साल ११ साउनमा पहिलो एकीकरणको ठीक चार वर्षपछि र दोस्रो एकीकरणको आठ महिनापछि रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन ः विचारभन्दा माथि देश’ आलेख ल्याएर विवेकशील साझा पार्टीलाई कहिल्यै एक हुन नसक्ने गरी विभाजित गर्नुभयो । उहाँले देशको भविष्य लेख्छौँ भनेर हिँडेको दललाई ६३ सालमै विसर्जन भएको व्यवस्था बोकेर ०४७ सालतिर लान खोज्नुभएको छ । गणतन्त्रलाई आयातित भन्ने, संघीयतालाई खारेज गरौँ भन्दै र मधेसका दाजुभाइ दिदीबहिनीको राष्ट्रियतामा प्रश्न गर्ने अस्वीकार्य कुण्ठालाई राष्ट्रवादको लेप लगाएर ल्याउनुभयो । बहुमतको चित्त दुख्यो भन्दै धर्मको नाममा द्वन्द्व निम्त्याउने आलेख ल्याइयो र प्रचार गरियो । र, त्यही दिन पार्टी विचारको तहमा दुई भागमा विभाजित भयो । यसपालिको विभाजन ‘इगो’ र ‘कार्यशैली’को थिएन । यसपालिको विभाजन कस्तो पार्टी बनाउने र देशलाई कता लाने भन्नेबारे थियो । विचार र मूल्य–मान्यतामा एक इन्च पनि सम्झौता गर्दैनौँ भनेर वैकल्पिक राजनीतिका संस्थापक नेताहरू रन्जु दर्शना, पुकार बम, केशव दाहाल, रमेश पौड्याल, मिलन पाण्डेहरू पार्टीको स्थापनाको मर्मसहित अघि बढिरहेका छौँ । अनि लगभग एक्लिएका रवीन्द्र मिश्र विचारभन्दा माथि देश भन्दै ‘राप्रपाको नेता’ बन्ने दिशामा अघि लम्किरहेका छन् ।
वैकल्पिक राजनीतिको सफलता–असफलता
फ्रान्सेली क्रान्ति जसरी भाष्य निर्माणमा सफल भएको थियो, त्यसरी नै वैकल्पिक राजनीतिको यो दश वर्ष सुसंस्कृत राजनीतिको भाष्य निर्माणमै बित्यो । युवालाई राजनीतिमा आकर्षण गर्ने विषयमा होस् वा आज मूलधारका नेताहरूले समातेका मुद्दामा होस्, वैकल्पिक राजनीतिको योगदान छ । शिक्षा, स्वास्थ्य, सुशासनजस्ता मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न वैकल्पिक राजनीतिको भूमिका ठूलो छ । विरोधको नवीनतम अहिंसात्मक शैलीलाई नेपाली राजनीतिमा वैकल्पिक राजनीतिले नै स्थापित गरिरहेको छ ।
वैकल्पिक राजनीति यसबीच तीन कुरामा भने असफल रह्यो । पहिलो, संस्था निर्माण । विवेकशील साझाले आफूलाई संस्थाको रूपमा निर्माण गर्न सकेन । पार्टीलाई विधि र प्रक्रियाले बाँध्न सकेन । फुट र व्यक्तिवादी राजनीतिले पार्टी कमजोर भयो । दोस्रो, कुनै पनि संगठन निर्माणमा टिमको महत्वपूर्ण योगदान रहन्छ । विवेकशील–साझामा त्यो टिम लामो समयसम्म बन्न सकेन । तेस्रो, स्पष्ट रणनीति । पार्टीले फोकस भएर कुनै पनि रणनीति तर्जुमा गर्न सकेन । उदाहरणका लागि, न यसले काठमाडौँ उपत्यकामा फोकस गर्न सक्यो, न बाहिर, न कुनै निश्चित वर्गलाई समात्नै सक्यो । हामी सबैलाई आफ्नो बनाउने दाउमा कसैको पनि भएनौँ । वैकल्पिक राजनीतिका अर्काे असफलता, नेतृत्व व्यवस्थापन र स्रोत संस्कलनमा रह्यो । नेतृत्वले पार्टीलाई विधिले बाँध्न नसक्दा प्रत्येक व्यक्तिको व्यवस्थापनमा अधिक समय खर्च गर्नुपर्यो । साथै, पार्टी कार्यालय सञ्चालनमै समेत प्रत्येक महिना समस्या आइरह्यो ।
विवेकशील ‘भर्सेस’ साझा
वैकल्पिक राजनीतिमा विवेकशील भर्सेस साझा भन्ने जुन एउटा मनोवैज्ञानिक द्वन्द्व थियो, त्यो लगभग सकिएको छ । यही वैचारिक मुद्दासँगै ‘प्रग्रेसिभ डेमोक्रेसी’मा विश्वास गर्ने गणतान्त्रिक साथीहरू एक ठाउँमा छौँ भने ‘विचारभन्दा माथि देश’ भन्दै ०४७ सालको संविधानतर्फ लाग्ने साथीहरू अर्काे कित्तामा हुनुहुन्छ । यो वैकल्पिक राजनीतिको भविष्यका निम्ति राम्रै उपलब्धि हो । दोस्रो, यी युवाहरूको विचार छैन, केवल माइतीघरमा प्लेकार्ड लिएर राजनीति गर्छन्, ‘एक्टिभिजम’ मात्र गर्छन् भन्ने जुन भाष्य बनेको थियो, त्यसलाई पनि यो दुर्घटनाले चिरेको छ ।
०६३ मा गणतन्त्रका लागि लड्न नपाएको पुस्ताले आफ्नै पार्टीबाट निष्कासित हुनुपर्दा पनि गणतन्त्रको पक्षमा उभिनु वैकल्पिक राजनीतिका नेताहरूमा रहेको वैचारिक परिपक्वता हो । यो बहसले दिएको प्रशिक्षण अर्काे महत्वपूर्ण विषय हो । हरेक दलले, नेताले हामी किन राजनीति गर्दै छौँ, कस्तो पार्टी बनाउँदै छौँ भन्ने बुझ्न जरुरी छ । त्यो ‘किन’ र ‘कस्तो’ भन्ने प्रश्नको उत्तर पाए पार्टी बनाउन सजिलो हुन्छ । यो बहस, झगडाले यसपालि पार्टीका नेताहरूलाई निकै राम्रो प्रशिक्षण दिएको छ ।
अबको बाटो
पछिल्ला घटनाक्रमलाई फर्केर हेर्ने हो भने हामी दुईचोटि चुक्यौँ । पहिलोपटक, पार्टी लाइनकै विरुद्ध जुन ‘विचारभन्दा माथि देश’ भन्ने आलेख आयो, त्यो नआएको भए, वैकल्पिक राजनीति आज देशको निर्णायक शक्ति बन्न सक्थ्यो । यो निर्वाचनमा पार्टी निर्णायक शक्ति बन्ने दिशामा गइरहेको हुने थियो । दोस्रो, रवीन्द्र मिश्रले ल्याएको पार्टी, संविधान र देशविरोधी आलेखलाई पार्टीले रोक्न सकेको भए, रवीन्द्र मिश्रलाई विधिवत् रूपमा दण्डित गर्न सकेको भए, त्यसले पनि वैकल्पिक राजनीतिलाई थप उचाइमा पुर्याउँथ्यो । हामीले यी दुवै अवसर गुमायौँ । यसमा मैले आफ्नो नेतृत्वको पनि आत्मसमीक्षा गर्न जरुरी छ । तर, अबको बाटो वैकल्पिक राजनीतिलाई पश्चगामी धारबाट अलग गराएर अगाडि बढ्नु नै हो ।
अब वैकल्पिक राजनीतिले संविधानको अपनत्व लिँदै गणतन्त्रलाई थप संस्थागत गर्ने, सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने, संघीयतामा देखिएका विकृति हटाउँदै संघीयतालाई सुदृढ गर्ने, धार्मिक स्वतन्त्रतालाई संरक्षण गर्दै प्रलोभनका आधारमा हुने धर्मान्तरणलाई रोक्ने, आफ्नो कला, संस्कृति, सम्पदाको संरक्षणका निम्ति गुरु राष्ट्र बनाउने र संविधानको कार्यान्वयन गर्दै सामाजिक न्यायका निम्ति ‘प्रोग्रेसिभ डेमोक्रेसी’को लाइनमा अघि बढ्न जरुरी छ । वैकल्पिक राजनीतिले आम नागरिकको दैनन्दिनलाई सहज बनाउने राजनीति गर्न जरुरी छ । अब सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता ‘डेलिभरी’सँग जोडिएका मुद्दामा थप वकालत गर्ने काम पनि वैकल्पिक राजनीतिकै हो ।
अन्त्यमा
राष्ट्रवादको राजनीति खस्केपछि अहिले बजारमा एउटा समूह धर्मको राजनीति गर्न तत्पर छ । छिमेकी भारतलाई हेर्दा पनि त्यहाँ मोदी पनि जितिरहेका छन् अनि केजरिवाल पनि । यहीँनेर वैकल्पिक राजनीतिले आफ्नो बाटो स्पष्ट पार्न जरुरी छ । मोदीको बाटो वैकल्पिक राजनीतिको बाटो होइन । केहीअघि एउटा कार्यक्रममा थिएँ, एकजना नेताले भन्नुभयो, ‘विवेकशील साझा कस्तरी बिग्रियो’ मैले उत्तर दिएँ, ‘विवेकशील साझा २०७४ सालमा त्यति खत्रा पनि थिएन, जति बाहिर भनियो । अनि, आज ०७९ सालमा त्यति खत्तम पनि भइसकेको छैन, जति भनिँदै छ ।’ हामीले नागरिकमा धेरै आशा जगाएका रहेछौँ, त्यो आशालाई जोगाइरहन नसक्नु हाम्रो पक्कै असफलता हो ।
तर, फेरि पनि हामी सबैले बुझ्नुपर्ने के हो भने हिन्दी फिल्म ‘नायक’जस्तो एउटा हिरो आएर २–४ वर्षमै देश बनाउन सक्दैन । सुपर म्यान साँच्चै हुँदैन भन्ने पनि हामीले नागरिकलाई बुझाउन जरुरी छ । संस्था बनाउन सजिलो छैन । हाम्रो यस्तो इमेज बन्यो कि एउटा सदस्यले चुरोट खाएको देख्दा पनि कस्तो ‘विवेकशील भएर चुरोट खाने’ भन्दै केन्द्रीय कार्यालयमा फोन आउँथ्यो । कसैको घरझगडा हुँदा पनि विवेकशील भएर अंशबन्डा गर्ने भनिन्थ्यो । सानो कामले हामीलाई उचाल्यो, अनि सानै गल्तीमा पनि हामी पछारिन पुग्यौँ ।
मलाई लाग्छ, गत १० वर्षको उतारचढावले वैकल्पिक राजनीतिलाई थप मजबुत गरेको छ । ‘विचारभन्दा माथि देश’ नामक भाइरसले जसरी वैकल्पिक राजनीतिलाई संक्रमण गर्यो, त्यो दुःखदायी र पीडादायी त छ, तर त्यसले अब वैकल्पिक राजनीतिको ‘इम्युनिटी’ बढाएको छ । गत एक दशकको सफलता र असफलताको समीक्षासहित थप स्पष्टताका साथ अघि बढ्नु नै वैकल्पिक राजनीतिको हितमा छ । चरैवेति चरैवेति !!!