१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
हेलम्बुको अम्बाथानस्थित मेलम्चीको सुरुङ ।
शान्ति तामाङ काठमाडाैं
२०७९ बैशाख ७ बुधबार ०७:४१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी ११ वैशाखदेखि उपत्यकामा

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ बैशाख ७ बुधबार ०७:४१:००

गत असारअघि दुई महिना मात्रै मेलम्चीको पानी पिउन पाएका उपत्यकावासीले साढे १० महिनापछि फेरि पाउँदै

मेलम्चीको पानी साढे १० महिनापछि पुन: उपत्यकाका धारामा आउने भएको छ । गत १ असारको बाढीले क्षतिग्रस्त मेलम्ची आयोजना पुनर्निर्माण भएसँगै ११ वैशाखदेखि मेलम्चीको पानी उपत्यकाका धारामा आउने भएको हो । 

उपत्यकामा पानी ल्याउने तयारी पूरा भएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्री उमाकान्त चौधरीले २९ चैतमा अम्बाथानस्थित १ नम्बर गेटबाट उपत्यकाका लागि पानी पथान्तरण गरेका थिए । मंगलबार सुन्दरीजल आइपुगेको उक्त पानी काठमाडौं आइपुगेपछि ११ वैशाखसम्म वितरण गर्न सकिने मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए । 

‘मेलम्चीको पानी हिजै (सोमबार) सुन्दरीजल आइपुगेको छ । ११ वैशाखदेखि उपत्यकावासीको धारामा पानी झार्ने गरी हामीले काम गरिरहेका छौँ । प्राविधिकले पनि उक्त मितिमा पानी झार्न सकिने बताउनुभएको छ,’ उनले भने ।

१ असारमा आएको बाढीले बगाएको मेलम्ची आयोजनालाई १५ साउनको बाढीले थप क्षतिग्रस्त बनाएको थियो । त्यसअघि दुई महिना मात्रै मेलम्चीको पानी पिउन पाएका उपत्यकावासीले साढे १० महिनापछि फेरि पाउने भएका हुन् । बाढीले अर्बौँको क्षति पुगेको आयोजना पुनर्निर्माणपछि अस्थायी रूपमा पानी उपत्यकाका लागि छाडिएको हो । विश्व स्वास्थ्य संगठन एवं नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसारको पानी वितरण प्रणालीमा प्रवाह गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलमा प्रशोधित पानी काठमाडौं उपत्यकामा वितरण गर्न थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र नौवटा विभिन्न पानीपोखरीको निर्माण सम्पन्न भएको छ । थप एक पोखरी निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । 

काठमाडौं उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पुग्नेछ । 

पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तत्काल समस्या समाधानका लागि एउटा टोली तयारी अवस्थामा राखेको छ, जसले समस्या देखिनासाथ सम्बन्धित ठाउँमा पुगेर मर्मतसम्भार गर्नेछ । ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने । यांग्री र लार्केबाट पनि पानी ल्याउन डिपिआर तयारी भइसकेको आयोजनाले जनाएको छ । मेलम्चीसँगै यांग्री र लार्केबाट पनि पानी ल्याउन सकिएमा उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ ।

मेलम्ची खानेपानी विकास समितिले भन्यो– बागमती किनारका बासिन्दा सावधान हुनू
मंगलबारदेखि सुन्दरीजल सुरुङ सफाइ थाल्दा मेलम्चीबाट आएको पानी बागमती नदीमा छाडिएको छ । जसकारण सुन्दरीजलदेखि तल बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन मेलम्ची खानेपानी विकास समितिले सचेत गराएको छ ।

१० करोड लिटर पानी पुरानै वितरण सञ्जालबाट आउने
अझै पनि १० करोड लिटर पानी पुरानै वितरण सञ्जालबाट आउने भएको छ । केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार नयाँ वितरण प्रणालीअन्तर्गत चार सय १० किलोमिटर पाइपलाइनमा मात्र परीक्षण गर्ने काम भएको छ । जुन पाइपलाइनबाट जम्मा तीन करोड आठ लाख लिटर पानी वितरण हुनेछ । ०७८ चैतमा पानी आउनुअघि जम्मा सय किलोमिटर नयाँ वितरण लाइनमा ट्यांकरको पानी हालेर परीक्षण गरिएको थियो । करिब एक हजार एक सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको थियो । 

‘हामीले चार सय १० किलोमिटर नयाँ प्रणाली परीक्षण गरेका छौँ । एक हजार १० किलोमिटर नयाँ प्रणालीमध्ये अझै ६ सय किलोमिटर परीक्षण गर्न बाँकी छ । उक्त प्रणालीमा ११ वैशाखदेखि नै परीक्षण गर्छौँ,’ पिआइडीका सूचना अधिकारी चन्द्रकुमार खाँले भने, ‘६ सय किलोमिटर नयाँ वितरण लाइनमा पानी अभावका कारण परीक्षण गर्न पाएका छैनौँ । त्यसैले ११ गतेदेखि उक्त वितरण लाइनको परीक्षण हुने हुनाले १० करोड लिटर पानी अझै पनि पुरानै वितरण लाइनबाट आउँछ ।’ उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई छिट्टै पानी पुर्‍याउन व्यवस्था हुनेछ । 

अनामनगर र ललितपुरका केही स्थानबाहेक अझै पनि सबै ठाउँमा पुरानै वितरण लाइनबाट पानी आउनेछ । जसकारण नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ । ‘११ गतेदेखि पानी वितरण गर्न हाम्रो पनि प्रारम्भिक छलफल भएको छ,’ केयुकेएलका प्रवक्ता राईले भने, ‘पहिलाको जस्तै अनामनगर र ललितपुरका केही स्थानबाहेक हाम्रै वितरण सञ्जालबाट पानी वितरण गरिनेछ ।’ केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमूले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । 

०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पानी ल्याउन आयोजना अगाडि बढाइएको थियो । ०५७ मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न भएको थियो । ०५८ मा एसियाली विकास बैंकले एक सय २० मिलियन अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि आयोजना सुरु भएको थियो । आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले ०५९ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी प्रारम्भिक लागत अनुमान भएको थियो । हाल चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेर हिँडेपछि सिनो हाइड्रोले ठेक्का पाएको थियो ।