१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब ज्येष्ठ नागरिकलाई छुट्टै अस्पताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०८:०३:००

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णयका लागि सैद्धान्तिक सहमति दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार ३७ लाख ज्येष्ठ नागरिक यो अस्पतालमा आबद्ध हुनेछन् । ज्येष्ठ नागरिकलाई विशेष र अलग्गै अस्पताल निर्माण गर्नुपर्ने भएकाले आगामी आर्थिक वर्षभित्र उपयुक्त स्थानको पहिचान गरी अस्पताल निर्माणको काम थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा निजामती कर्मचारी अस्पताल, श्रमिक अस्पताल, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल छन् । श्रमिक अस्पताल र शिक्षक अस्पताल भने हालै बनाउने निर्णय भएको छ । यीसँगै अब ज्येष्ठ नागरिक अस्पताल पनि थपिने भएको हो । 

स्वास्थ्य मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टीकृत ज्येष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसअनुसार छुट्टै ज्येष्ठ नागरिक अस्पताल बन्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अस्पताल बन्ने भए पनि जनशक्तिको व्यवस्थापनमा चुनौती देखिएको छ । भएका अस्पतालमा समेत जनशक्ति अभावले सेवा प्रवाहमा समस्या देखिएका वेला यस्ता अस्पताल थप्दै जाँदा जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा शंका उब्जिएको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरू बताउँछन् । कार्यदलमा संयोजक डा. थपलियासहित सदस्यमा डा. पोमावती थापा र सदस्यसचिवमा स्वास्थ्य मन्त्रालयका उपसचिव सानुबाबु अधिकारी थिए ।