१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ५ सोमबार २o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार २o:५५:oo

गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगको भेटपछि गृहमन्त्री खाणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र हालसम्म निर्वाचनमा सहभागी नभएका सबै राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् । 

‘नेपाल सरकार आवधिक निर्वाचनमा भाग लिइरहेका राजनीतिक दल र हालसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई स्थानीय निर्वाचनमा भाग लिन आग्रह गर्दछ,’ गृहमन्त्री खाणले भनेका छन्, ‘स्थानीय सरकार, पालिकाहरूसँग आमनागरिकहरूलाई जोड्ने स्थानीय निर्वाचनले हो । नागरिकहरूसँग जोडिन र स्थानीयस्तरको विकास निर्माणको हिस्सेदार हुन निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई भाग लिन नेपाल सरकार आह्वान गर्दछ ।’

खाणले अहिलेसम्म निर्वाचनमा सहभागी नभएका नेकपा र जनमत पार्टीलाई निर्वाचनमा सहभागी बनाउन पटक-पटक वार्ता गरिरहेको बताए । दुवै राजनीतिक दल स्थानीय तह निर्वाचनमा सहभागी हुन सकारात्मक रहेका मन्त्रालयले जनाएको छ । 

गृहमन्त्री खाणले स्थानीय निर्वाचनले नेपाली जनताको शक्तिलाई सशक्तीकरण गर्ने बताए । ‘स्थानीय निर्वाचनले जनताको शक्तिलाई थप सशक्तीकरण गर्छ । जनप्रतिनिधिले बनाएको संविधान आएपछि पहिलो निर्वाच्नबाट आएका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय स्तरको विकास निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अब निर्धारित निर्वाचनबाट आउने जनप्रतिनिधिले विकास निर्माणमा अझ विस्तृत र व्यापक भूमिका निर्वाह गर्नुहुनेछ,’ गृहमन्त्री खाणले भने । 

विभिन्न बहानामा थुनामा रहेका पार्टी नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग नेकपाले राखेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कानुनअनुरूप मिल्ने विप्लव नेतृत्वको नेकपाका थुनामा रहेका नेता कार्यकर्ता रिहाइ गर्ने र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए ।