१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Saturday, 28 September, 2024
नवीन अर्याल काठमाडाैं
२o७९ बैशाख २ शुक्रबार १o:३o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

०७८ मा उद्योगमा लगानी प्रतिबद्धता दोब्बर : दुई खर्ब ८३ अर्ब लगानी प्रतिबद्धता, २६२ उद्योग दर्ता

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १o:३o:oo

गत वर्ष ठूला ७६ उद्योगमा दुई खर्ब १२ अर्ब, मझौला ९० मा ३६ अर्ब र साना ९६ मा ३४ अर्ब लगानी प्रस्ताव, २३ हजार चार सय रोजगारी सिर्जना

कोभिड महामारीकै बीच पनि स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धताका हिसाबले वर्ष ०७८ उत्साहजनक नै रहेको देखिएको छ । एक वर्षको अवधिमा दुई खर्ब ८३ अर्ब ३२ करोड लगानी प्रतिबद्धता भएका दुई सय ६२ उद्योग–परियोजना दर्ता भएको उद्योग विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा ०७८ मा एक खर्ब ३१ अर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धताका उद्योग दर्ता भएका हुन् । ०७७ मा ठूला–साना गरी एक खर्ब ५२ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिबद्धताका एक सय ९७ उद्योग दर्ता भएका थिए, जसले ११ हजारलाई रोजगारी दिने प्रस्ताव गरेका छन् । पछिल्लो समय कोभिड महामारी कम हुँदै गएपछि उद्योगमा स्वदेशी–विदेशी लगानी बढ्न थालेको हो ।

गत वर्ष दर्ता भएका उद्योगमध्ये ठूला ७६, मझौला ९० र साना ९६ वटा उद्योग–परियोजना दर्ता भएको उद्योग विभागले जनाएको छ । जसमा क्रमशः दुई खर्ब १२ अर्ब, ३६ अर्ब र ३४ अर्ब लगानी प्रतिबद्धता गरिएका छन् । दर्ता भएका दुई सय ६२ उद्योग–परियोजनाले २३ हजार तीन सय ८२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । 

उद्योग विभागका अनुसार ०७८ मा दर्ता भएका कृषि तथा वनजन्य क्षेत्रमा २० परियोजनामार्फत पाँच अर्ब ५३ करोड, ऊर्जामूलक ३९ परियोजनामा एक खर्ब ४२ अर्ब २५ करोड, सूचना प्रविधिमा १० परियोजनामार्फत एक अर्ब ९२ करोड लगानी प्रतिबद्धता गरिएका छन् । त्यस्तै, पूर्वाधारमा तीन परियोजनामार्फत एक अर्ब ६५ करोड, उत्पादनमूलक क्षेत्रमा एक सय तीन परियोजनामार्फत ६१ अर्ब ४८ करोड, खनिज क्षेत्रमा एउटा परियोजनामार्फत ११ करोड, सेवामूलक क्षेत्रमा ३९ परियोजनामार्फत ४३ अर्ब ७५ करोड र पर्यटनमा ४७ परियोजनामार्फत २६ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ ।

दर्ता भएका ठूला उद्योग
गत वर्ष सवा अर्ब लगानीको बन्दीपुर केबलकार, साढे तीन अर्ब लगानीको अपर सेती हाइड्रो (कास्की, माछापुच्छ्रे), सवा अर्ब लगानीमा नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज (महोत्तरी, गौशाला), ६ अर्ब लगानीमा गौरीशंकर सिमेन्ट (कपिलवस्तु), सवा अर्ब लगानीमा सिजी अटोमोटिभ्स (बारा), करिब चार अर्ब लगानीमा पुवाखोला–वान हाइड्रोपावर (ओखलढुंगा), दुई अर्ब ८५ करोड लगानीमा सिद्धिलक्ष्मी फुड्स (नवलपरासी), सरस वेभरेज (धादिङ), साढे चार अर्ब लगानीमा रुरुगाड पावर कम्पनी (कालिकोट), डेढ अर्ब लगानीमा एमएडब्लू अटो (मोरङ) दर्ता भएका छन् ।

यस्तै, काठमाडौंको बुढानीलकण्ठमा पाँच अर्ब ९० करोड रुपैयाँ सूर्य नेपाल प्रालिले पाँचतारे होटेल खोल्दै छ भने सीता हाइड्रोपावरले मनाङमा साढे १० अर्ब लगानीमा ६५ मेगावाटको जलविद्युत् परियोजना बनाउँदै छ । यस्तै, बुटवल पावर कम्पनीले मनाङमै ३४ अर्ब ४१ करोड लगानीमा १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ–मर्स्याङ्दी जलविद्युत् बनाउँदै छ । सिन्धुपाल्चोकमा ३५.४७ मेगावाटको ब्राह्मणी हाइड्रोपावर कम्पनीमा पाँच अर्ब ९० करोड लगानी हुँदै छ । करिब ६ अर्ब लगानीमा चाबहिलको गोपीकृष्ण सेन्ट्रल प्लाजा (होटेल र कम्पलेक्ससहित)को परियोजना बन्दै छ ।

दुई अर्ब ६७ करोड लगानीमा समृद्धि मेटालिक्स (नवलपरासी), सिन्धुपाल्चोकमा दुई अर्ब ७८ लगानीमा इन्टिग्रेटेड हाइड्रो, दोलाखाको बिगु गाउँपालिकामा सानिमा जुम हाइड्रोपावरले १० अर्ब ५३ करोड लगानीमा ५६ मेगावाट क्षमताका जलविद्युत्, चार अर्ब २८ करोड लगानीमा धादिङमा गणेश हिमाल हाइड्रोले २० मेगावाटको परियोजना, कैलाली सेरामिक्सले कैलालीको गौरीगंगामा तीन अर्ब २१ करोड लगानीमा वाल एन्ड फ्लोर टायल्स उद्योग, मौलाकालिका हाइड्रोपावरले तनहुँ देवघाटमा ३८ मेगावाटको पाँच अर्ब ४५ करोडको परियोजना, काठमाडौं मेडिकल कलेजले पाँच सय बेडको अस्पतालमा तीन अर्ब ३० करोड, भक्तपुरमा चुम्बकीय प्रविधिबाट ५० मेगावाट विद्युत् उत्पादन गर्न पाँच अर्ब ५८ करोड लगानी हुने विभागले जनाएको छ ।

सूर्य होल्डिङ्सले ताप्लेजुमा पाँच अर्ब ९६ करोड लगानीमा ३२ मेगावाटको परियोजना, ह्याप्पी इनर्जीले संखुवासभावमा ४० मेगावाटको प्रोजेक्टमा पाँच अर्ब ९५ करोड, रुपन्देहीमा डेढ अर्ब लगानीमा होटेल सेफ्रन, युनियन हाइड्रोपावरले सोलुखुम्बुमा २८.९ मेगावाटको परियोजना बनाउन चार अर्ब ९५ करोड, लुम्बिनी सेरामिक्सले बर्दियाको गुलरियामा सेरामिक्स टायल उत्पादन गर्न तीन अर्ब ९६ करोड लगानी गर्दै छ ।

वैदेशिक लगानी प्रस्ताव पनि बढ्यो

कोभिड महामारीले घटेको वैदेशिक लगानी प्रस्ताव पनि पछिल्लो समय क्रमशः बढ्न थालेको छ । ०७८ सालमा एक सय ९६ परियोजनार्फत ३९ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । यो प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा पाँच अर्बभन्दा बढी हो । ०७७ मा ठूला–साना एक सय ८८ परियोजनामार्फत ३४ अर्ब सात करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । 

गत वर्ष कृषि तथा वन क्षेत्रमा चार परियोजनामार्फत ६० करोड, ऊर्जामूलक चार परियोजनामार्फत एक अर्ब ५९ करोड, सूचना प्रविधिका १३ परियोजनामार्फत एक अर्ब १२ करोड, उत्पादनमूलक ३१ परियोजनामार्फत तीन अर्ब ९५ करोड, सेवा क्षेत्रमा ६१ परियोजनामार्फत १९ अर्ब दुई करोड र पर्यटनमा ८३ परियोजनामार्फत १२ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । वैदेशिक लगानीका परियोजनाले १० हजार ६ सय ९७ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।