१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत २८ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठनले समाजवादीमा असन्तुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o७:२o:oo

सुदूरपश्चिममा मन्त्रिमण्डल हेरफेरलाई लिएर नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि चर्किएको छ । समाजवादीले फिर्ता बोलाएका मन्त्रीले पार्टीभित्रैबाट आफूहरूमाथि पूर्वाग्रह राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  निवर्तमान आर्थिक मामिलामन्त्री तारा लामा तामाङले सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् ।

‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !’ मन्त्रिमण्डल पुनर्गठन भएको दुई दिनपछि आइतबार उनले फेसबुकमा लेखेका छन् । ६ महिनाअघि मन्त्री भएका तामाङलाई फिर्ता बोलाएर समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिलामन्त्री बनाइएको छ । कुनै सल्लाह नगरी मन्त्रीबाट फिर्ता बोलाइएको उनले दाबी गरेका छन् ।

‘म पार्टीको प्रदेश कमिटीको पदाधिकारी पनि हुँ, तर सरकारबाट फिर्ता हुनेबारे मसँग कुनै सल्लाह भएन । त्यस दिन म मन्त्रालयकै काम गरिरहेको थिएँ,’ तामाङले भने, ‘मन्त्रिमण्डल पुनर्गठन भएको फेसबुकबाट थाहा पाएँ ।’ चुनावी गठबन्धनका लागि निर्वाचन आचारसंहिता लागू हुनु केही घन्टाअघि शुक्रबार बेलुकी हतारहतार प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराइएको थियो । केन्द्रको सहमतिअनुसार समाजवादीले आफ्ना केही मन्त्रीलाई राजीनामा गर्न लगाएर कांग्रेसका लागि ठाउँ खाली गरिदिएको हो । मन्त्रिमण्डल पुनर्गठनका क्रममा समाजवादीले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीबाहेक आफ्नो भागमा परेका मन्त्रालयमा पनि मन्त्री र राज्यमन्त्री फिर्ता बोलाएर नयाँलाई पठाएको थियो ।

समाजवादीबाट आन्तरिक मामिलामन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का फिर्ता भएपछि ती मन्त्रालयमा क्रमशः कांग्रेसका रणबहादुर रावल र गोविन्दराज बोहरा नियुक्त भएका छन् । त्यस्तै, समाजवादीकै सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदलाई फिर्ता बोलाइएपछि कांग्रेसका टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका थिए ।

आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरा र भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीलाई पनि समाजवादीले फिर्ता बोलाएर नयाँलाई पठाएको थियो । ती ठाउँमा क्रमशः समाजवादीकै अमरबहादुर साउँद र कुलवीर चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । ‘मन्त्री भएको ६ महिना मात्र भएको थियो । एउटा बजेट पनि ल्याउन नपाई हटाइयो,’ तामाङको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भने, ‘व्यक्तिगत संकीर्णताले त्यसरी हटाउँदा पार्टीलाई पनि फाइदा हुन्छ र ? भन्ने उहाँको भनाइ छ ।’ संसदीय दलका नेता दीर्घ सोडारी र प्रदेश इन्चार्ज गरिमा शाहले मन्त्रिमण्डल पुनर्गठनमा पार्टीमा एकलौटी गरेको आरोप छ ।

निवर्तमान मन्त्री पूर्णा जोशीले चुनावको मुखमा मन्त्री फिर्ता बोलाउँदा राम्रो सन्देश नगएको बताइन् । नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज गरिमा शाहले भने मन्त्रिमण्डल पुनर्गठन हुने दिन बिहान पार्टीका सबै मन्त्रीलाई बोलाएर केन्द्रमा सहमति भएकाले सरकारबाट फिर्ता हुनुपर्ने जानकारी गराएको बताइन् । 

ad
ad
ad
ad