१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काष्ठमण्डप पुनर्निर्माण : अवहेलना मुद्दामा सर्वाेच्चद्वारा लिखित जवाफ माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १७:२५:oo

सर्वोच्च अदालतले काष्ठमण्डप पुनर्निर्माणमा अदालतकाे अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। सर्वोच्चको यसअघिको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई सात दिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ।

गत सोमबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी थिइन्। सर्वोच्चले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन दिएको अन्तरिम आदेश पालना नगरी उद्घाटन भएपछि सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो। अधिवक्ता सञ्जय अधिकारी, अर्णव चौधरी र  रुबी स्थापितले अदालतको अवहेलनामा कारबाहीका लागि चैत २१ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष, पुरातत्व विभागमा महानिर्देशक, काठमाडौं महानगरपालिकाका प्रमुखलगायतलाई कारबाहीको माग गरिएको छ।

गत ३ माघमा अधिवक्ता अधिकारीलगायतले दायर गरेको मुद्दामा अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन अन्तरिम आदेश दिएको थियो। तर, काष्ठमण्डप  पुनर्निर्माण समितिले मूर्ति फर्काउन कुनै पहल गरेको छैन।