१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एएफसी कप छनोट २०२२ को प्ले अफ खेल्नुअघि मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारका कोच र क्याप्टेन । तस्बिर सौजन्य : मच्छिन्द्र क्लब
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आज एएफसी कप छनोट २०२२ को प्ले अफ: मच्छिन्द्रको लक्ष्य समूह चरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३४:oo

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार दशरथ रंगशालामा एएफसी कप छनोट २०२२ को प्ले अफ खेलमा श्रीलंकाली क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै छ । मच्छिन्द्र र ब्लु स्टारबीच साँझ ५ बजे खेल हुने आयोजकले जनाएको छ ।मच्छिन्द्रले एएफसी कपको छनोट चरण खेल्न लागेको यो नै पहिलोपटक हो । अघिल्लो वर्ष मच्छिन्द्रले ए डिभिजन लिग च्याम्पियन भएर पनि एएफसी छनोट खेल खेल्न पाएन । 

एएफसीको क्लब लाइसेन्स नहुँदा मच्छिन्द्र गत संस्करणको एएफसी छनोट खेल्नबाट वञ्चित भएको थियो । त्यसवेला उपविजेता त्रिभुवन आर्मी क्लबले नेपालबाट प्रतिनिधित्व गरेको थियो । मच्छिन्द्रले यस वर्ष क्लब लाइसेन्स प्राप्त गरेको थियो । सहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणमा मच्छिन्द्रले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै एएफसी कपको प्ले अफ स्थान पक्का गरेको थियो ।

 एएफसीमा नेपालबाट प्रतिनिधित्व हुने नाम पठाउनु पर्ने हुँदा अखिल नेपाल फुटबल (एन्फा)ले छैटौँ चरणमा सर्वाधिक अंक बटुल्ने क्लबलाई पठाउने निर्णय गरेको थियो । छैटौँ चरण समाप्तिमा मच्छिन्द्र नै लिगको शीर्ष स्थानमा रह्यो । लिग च्याम्पियन मच्छिन्द्रको लक्ष्य समूह चरणसम्म पुग्ने हो । पछिल्लो समय मोसफलमा आयोजना भएको गोल्डकप फुटबल प्रतियोगितामा व्यस्त भएको मच्छिन्द्रले एएफसी कप प्ले अफका लागि तयारी पनि सँगसँगै गरेको छ । 

घरेलु मैदान रंगशालामा राम्रो खेल्ने योजना मच्छिन्द्रको छ । ‘घरेलु मैदानमा समूह चरणसम्म पुग्ने लक्ष्य छ,’ मच्छिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले भने, ‘अन्तर्राष्ट्रिय खेल हो, एक किसिमले हामीमाथि दबाब छ, यसलाई पन्छाएर समूह चरणमा स्थान बनाउने लक्ष्य राखेका छोँ ।’ मच्छिन्द्र समूह चरणमा प्रवेश गर्दा भविष्यमा नेपाली फुटबलका लागि पनि राम्रो हुने प्रशिक्षक कटवालले बताए । ‘हामी समूह चरणमा प्रवेश गर्न सक्ने टोली हौँ, यसका लागि हामी सक्षम पनि छौँ,’ उनले भने, ‘समग्रमा यो सफलताले नेपाली फुटबललाई नै फाइदा पुर्‍याउनेछ ।’ 

श्रीलंकाली टोली ब्लु स्टार राम्रो भएको प्रशिक्षक कटवालले जनाए । ‘ब्लु स्टार पनि निकै राम्रो टोली हो,’ उनले भने, ‘उनीहरूको स्तरअनुसार हामी रणनीति बनाउँछौँ ।’ प्रतिस्पर्धाका लागि मच्छिन्द्रले खेलाडी परिवर्तन नगरेको उनले जानकारी दिएका छन् । ‘हाम्रो टोलीमा परिवर्तन छैन, लिग खेलेका सबै २४ खेलाडी प्रशिक्षणमा छन्,’ प्रशिक्षक कटवालले भने । श्रीलंकाली लिग च्याम्पियन टोलीका खेल हेरेको उनले बताए । ‘श्रीलंकामा लिग त्यति राम्रोसँग चलिरहेको छैन, तर पनि ब्लु स्टार राम्रो विपक्षीकै रूपमा लिएको छु,’ कटवालले भने । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको प्ले अफ चरण खेल्न तयारी पूरा भएको बताए । प्रशिक्षक कटवालकै जस्तै श्रेष्ठले पनि मच्छिन्द्रको लक्ष्य दोस्रो चरणमाथि पुग्ने बताएका छन् । 

‘हामी सबैका एउटै लक्ष्य दोस्रो चरणभन्दामाथि पुग्ने हो,’ कप्तान श्रेष्ठले भने, ‘’लिग सुरु भएदेखि नै हाम्रो लक्ष्य एएफसी खेल्ने थियो, पहिलो लक्ष्य पार भएको छ ।’ यो खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । १२ अप्रिलमा यो खेल हुनेछ । 

ad
ad