१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २१ सोमबार ०९:०८:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जित्यो दोहोरी प्रतियोगिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २१ सोमबार ०९:०८:००

टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा १६ चैतदेखि भएको प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगिताको पाँचौँ दिन आइतबार अन्तिम चरणको प्रतियोगितासँगै कलाकारहरूको प्रस्तुति राखिएको थियो । साथै, दाताहरू र आजीवन सदस्यता लिनेहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रतियोगिता अवधिभर प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भूमिकामा रहेका थिए भने निवर्तमान केन्द्रीय अध्यक्ष सहसंयोजक बद्री पंगेनी रहेका थिए । साथै, अन्य अग्रज कलाकारहरू पनि निर्णायकको भूमिकामा थिए । 

काठमाडौंको भृकुटीमण्डपमा १६ चैतमा सुरु भएको प्रतियोगिता १९ चैतमा सकिने तालिका थियो । दर्शकहरूको मागअनुसार एक दिन थप गरी २० चैतमा प्रतियोगिता समापन गरिएको हो । अन्तिम चरणको प्रतियोगितामा १२ समूहबीच प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई दुई लाख २५ हजार, प्रमाणपत्र, मेडल र सिल्ड र प्रमाणपत्र, दोस्रो हुनेलाई एक लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेस्रो स्थान हासिल गर्नेलाई नगद एक लाख, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट दुई पुरुष, दुई महिला साथै उत्कृष्ट वेशभूषा र अनुशासित टिमलाई १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो । 

प्रतियोगितामा गामबेँसी दोहोरी साँझका प्रतियोगी शान्ता वली र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा क्विन रोधीघरका प्रतियोगीहरू हरिमाया रायमाझी, रश्मी बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समूहले तेस्रो स्थान हासिल गरेका थिए ।

उत्कृष्ट गायक–गायिकातर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साँझकी प्रतियोगी पूजा पुनले हात पारेका थिए । उनीहरूलाई जनही सात हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । प्रतियोगीहरूमध्ये सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी अर्चना चापागाईंलाई पनि हौसलास्वरूप सात हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।