१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दैनिक उपभोग्य वस्तु सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन, सबै जिल्लामा अनुगमन गरिने

विक्रि वितरण रोकेको र मूल्य वृद्धि पाइए प्रचलित कानुनअनुरुप कारबाही गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo

सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री–वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।

‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने,  ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको, तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुनअनुरूप कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुनेछ।’

कार्यवाहक प्रधानमन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएका र त्यसैअनुरूप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएका प्रवक्ता पोखरेलले बताए।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ। गृहप्रवक्ता पाेखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे–नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए–नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउनेछन्।

त्यस्तै, मन्त्रालयले उद्योग वाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुनअनुरूप सजाय गर्नसमेत निर्देशन दिएको छ। पेट्रोलिय पदार्थ आयातमा व्यवसायीहरूले गरेको अवरोध शनिबार मात्रै सहमति भएर टुंगिएको थियो। तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो।

कार्यवाहक प्रधानमन्त्री खाणले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि सहमतिमा आएकोमा व्यवसायीलाई धन्यवाद दिँदै व्यवसायीका समस्या संवादमार्फत टुंग्याउन सरकार तयार रहेकोसमेत बताएका छन्।

ad
ad