१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १४:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पुनर्निर्माण नसकिँदै उद्घाटन गरिएको धरहराको बाँकी काम अझै सकिएन, एक वर्षमै बिग्रियो लिफ्ट 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५८:oo

पुनर्निर्माण कार्य नसकिँदै गएको वैशाखमा उद्घाटन गरिएको धराहराको बाँकी काम अझै सकिएको छैन। गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण नसकिँदै धरहराको उद्घाटन गरेका थिए। त्यतिवेला धरहरा स्तम्भ ठडिए पनि भित्री संरचना निर्माण र ब्युटिफिकेसनको काम बाँकी थियो। उक्त कार्य हालसम्म पनि सकिएको छैन। ओलीकै दबाबमा पुनर्निर्माण नसकिँदै सिंगारपटार गरी उद्घाटन गर्ने व्यवस्था मिलाइएको थियो। तर, काम नसकिँदै आफू सरकारमा हुँदाको जस लिन ओलीले हतारमा उद्घाटन गरेको धरहराको बाँकी काम सकिन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनीले जनाएको छ। 

उद्घाटन गर्ने वेला धरहराको स्तम्भ मात्रै ठडिएको थियो। लिफ्टसमेत राम्ररी जडान गरिएको थिएन। त्यसभित्रका भित्री संरचना र वरिपरि ब्युटिफिकेसनको काम पनि बाँकी नै थियो। उद्घाटन भएको करिब एक वर्ष पुग्नै लाग्दा धरहराको बाँकी पुनर्निर्माण कार्य भने अझै सकिएको छैन। ठेकेदार कम्पनीका अनुसार दुईवटा लिफ्ट जडान गरिएकोमा एउटा लिफ्ट बिग्रिएको छ। 

हालसम्म पुनर्निर्माण कार्यको ७८ प्रतिशत भौतिक प्रगति भएको छ भने कुल बजेटको ६५ प्रतिशत रकम खर्च भएको छ। हाल सेन्ट्रल युटिलिटीअन्तर्गत ब्लक, जेनेरेटर, टान्सफर्मर, चिर्लर, ए–एचयू युनिट, वाटर ट्यांकलगायत सामग्री राख्ने ठाउँ निर्माणको काम भइरहेको छ। त्यस्तै, धराहराको अगाडिपट्टिको सडक व्यवस्थित पार्ने र हरियालीको काम पनि बाँकी छ। ठेकेदार कम्पनी जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मीले धराहराको भित्री र आसपासको काम अझै बाँकी रहेको जानकारी दिए। उनका अनुसार धरहराको अगाडिपट्टि आठ मिटरको सडक बनाउने सम्झौता भए पनि त्यस सडकको क्षेत्रफल सात मिटरमात्रै छ। अपुग जग्गा कर्मचारी सञ्चय कोषसँग लिने तयारी गरिएको छ। 

त्यस्तै धरहरा प्रांगणमा मानन्धर गुठीको कुल देवताको मन्दिर बनाउने काम पनि बाँकी नै छ । वरिपरि बगैँचा बनाउने र पुरानो धरहराको ठुटोमा केमिकल लेपन गर्ने कार्य पनि बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ। त्यस्तै भित्री भागमा ग्रेनाइट, टायल, सिलिङ निर्माण र झिँगटी छाप्ने काम भइरहेको छ। 

धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ। यसको आसपासमा रहेको गोश्वारा हुलाक कार्यालयसहितका अन्य संरचना पनि ठेकेदार कम्पनीले भत्काइसकेको छ। त्यस्तै, सुन्धारामा प्रयोग भएका पुराना ढुंगा उप्काएर अर्को सुन्धारा बनाउने काम विवादमा परेको छ। 

हालसम्म धरहरा पुनर्निर्माणमा दुई अर्ब १२ करोड रकम खर्च भएको छ। यसको कुल लागत तीन अर्ब आठ करोड अनुमान गरिएको छ। वैशाखमा उद्घाटन गरे पनि यसको बाँकी काम गर्न ठेकेदार कम्पनीलाई चैत ३० गतेसम्मको म्याद दिइएको छ। तर, त्यतिवेलासम्म पुनर्निर्माणको काम नसकिने प्रोजेक्ट म्यानेजर नकर्मीले बताए । ‘चैत मसान्तसम्म म्याद दिइएको थियो, तर उक्त समयसम्म हामीले पुनर्निर्माण कार्य सकाउन सक्दैनौँ,’ उनले भने, ‘सबै काम सकिन कम्तीमा एक वर्ष लाग्छ।’ 

धराहरा पुनर्निर्माणको नेतृत्व पुनर्निर्माण प्राधिकरणले गरेको थियो। पुस १० गते प्राधिकरण खारेज भएपछि हाल भवन निर्माण विभागअन्तर्गत धरहराको काम भइरहेको छ। 


 

ad
ad