भारत सरकारको २५ करोड अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन तथा सबस्टेसन परियोजनाअन्तर्गतका तीनवटा सबस्टेसनको कास्कीको लहचोकमा उद्घाटन भएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको यो एक हो ।
मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलाेमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लहचोक र लेखनाथमा सबस्टेसनहरू निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोगअन्तर्गत भारतको केपिटिएल लिमिटेडले र एबिबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजनाअन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिने भारतीय राजदूतावासले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल सरकारका वरिष्ठ अधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सो परियोजनाको उद्घाटन गरेकी हुन् । भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुधनन नेतृत्वको टोलीलगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
भारत–नेपाल ऊर्जा सहकार्यअन्तर्गत विद्युत् परियोजनाको विकास, सीमापार एवं नेपालभित्रका प्रसारण लाइनको निर्माण र ऊर्जा व्यापार पर्दछन् । ऋण सहयोगअन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ । ती परियोजनामा २२० केभी को कोसी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेका छन् । छिमेकी पहिलो नीतिअनुरूप सीमापार आर्थिक कनेक्टिभिटीलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्याउने दूतावासले जनाएको छ ।