१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Wednesday, 26 June, 2024
आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठक
२o७८ चैत १४ सोमबार o६:५३:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस संस्थागत रूपमै गठबन्धनतिर

सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेस पनि तयार भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार o६:५३:oo

आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख सत्तारूढ दल कांग्रेसले अहिलेको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएको छ । इतर समूहको असन्तुष्टि रहे पनि सभापति शेरबहादुर देउवाकै योजनाअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताअनुसार गठबन्धनमा जाने निर्णय लिने भएको छ । एकमहिने चुनावी अभियानअन्तर्गत जिल्ला पुगेर आएका बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले आवश्यकताका आधारमा गठबन्धन बनाएर जानुपर्ने मत राखेपछि केन्द्रीय कार्यसमितिले यसबारे निर्णय लिन लागेको हो । गठबन्धनको ढाँचासहित सोमबार सकिने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक निर्णय लिने तयारी छ । 

कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकले तालमेलकै निर्णय गर्ने बताए । ‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्ने न हो । तालमेल कुन तरिकाले गर्ने बाँकी कुरा तल्लो तहले नै टुंग्याउँछन् । सबैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्ने छ,’ उनले भने । कांग्रेस प्रवक्ता प्रकाशशरण महत केन्द्रीय समिति बैठकमा सदस्यले धारणा राख्ने क्रम सकिएपछि कुन ढाँचामा गठबन्धन गर्ने भन्ने निर्णय गरिने बताए । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ चुनावी अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा कांग्रेसको अवस्थाबारे रिपोर्टिङ गरिरहेको र अधिकांशले स्थानीय तह निर्वाचनमा कुनै न कुनै किसिमको समझदारी र गठबन्धनको आवश्यकता रहेको उनले बताए । 

‘प्रतिनिधिहरूले आ–आफ्नो जिल्लाको अनुभवका आधारमा रिपोर्ट दिइरहनुभएको छ । अधिकांशले स्थानीय तह निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा केही न केही किसिमको समझदारी र गठबन्धनको आवश्यकता छ भन्ने सुझाव दिइरहनुभएको छ,’ उनले भने, ‘बढीभन्दा बढी सफलता पाउन कतिपय ठाउँमा गठबन्धन गरेर पनि जानुपर्छ भन्ने नै अधिकांश साथीहरूको मत छ । सबैको धारणापछि केन्द्रीय समितिले कुन ढाँचामा गठबन्धन गर्ने भन्ने निर्णय गर्नेछ, त्यही आधारमा हामी स्थानीय तह निर्वाचनमा प्रस्तुत हुनेछौँ ।’

जारी बैठकमा केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लामा खटिएका ६० जिल्लाका प्रतिनिधिले आफू खटिएको जिल्लाको अवस्थाबारे बैठकमा रिपोर्टिङ गरेका छन् । त्यस्तै, त्यसबाहेकका केन्द्रीय सदस्य, ६ प्रदेशका प्रदेश सभापतिले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा अधिकांशले गठबन्धनको आवश्यकताबारे स्थानीय तहलाई नै निर्णयको अधिकार दिनुपर्ने पक्षमा मत राखेका छन् । बैठकमा आइतबारसम्म ७५ जनाको धारणा सकिएको छ । शुक्रबार २१ जना र आइतबार ५४ जनाले धारणा राखेका छन् । 

संसद्बाट एमसिसी अनुमोदन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चुनावमा गठबन्धन बन्ने अभिव्यक्ति दिन थालेका थिए । एमसिसी अनुमोदन भएको चौथो दिन १९ फागुनमा बसेको गठबन्धनको बैठकमा देउवाले सत्तासाझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका थिए । संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनको अझै आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् । चुनावी परिणाम अनुकूल दिने गरी प्रधानमन्त्री देउवाले सफल गठबन्धनका लागि रणनीतिक रूपमै कदम चालेका छन् । 

स्थानीय तहमै गठबन्धन बनाएर जान सकिने कांग्रेसमा बलियो मत छ । प्रधानमन्त्री देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् ।

 बैठकमा धारणा राख्नेहरू  कसले के भने ?
सुजाता कोइराला : गठबन्धन गरेर जाँदा हामीलाई धेरै नै राम्रो हुन्छ । कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धन गर्ने गरी अगाडि बढ्नुपर्छ । गठबन्धनकै कारणले आज कांग्रेसले प्रधानमन्त्री पाएको छ । गठबन्धनकै कारणले मुख्यमन्त्री पनि हुनुभएको छ । गठबन्धनकै कारणले राष्ट्रिय सभामा जित्न सक्यौँ । गठबन्धन छाड्नुहुँदैन । गठबन्धनको मोडेलबारे कार्यतालिका बनाउन सक्छौँ । 

योगेन्द्र चौधरी : स्थानीय तहको गठबन्धन गर्दा आवश्यकता र औचित्यका आधारमा केन्द्रबाट गठबन्धनभन्दा पनि जिल्ला र स्थानीय तहलाई दिनुपर्छ । हुम्लाको अवस्थाका आधारमा कांग्रेस एकातिर वामशक्ति एकातिर रहेको अवस्था छ । जिल्लाहरूको वस्तुस्थिति पृथक्–पृथक् छ । सबै जिल्लालाई एकै नजरले हेर्नुहुँदैन । निर्णयको अधिकार तल नै दिनुपर्छ ।

प्रकाश रसाइली स्नेही :  कांग्रेसले सधैँ अरूको बैसाखी टेकेर आफ्नो अस्तित्व जोगाउन सक्दैन । कांग्रेस एक्लै लडेर चुनाव जितेको इतिहास र जनमत छ । अहिले गठबन्धन गर्ने या नगर्ने भन्ने मात्रै छलफलको विषय हो । गठबन्धन नै गर्ने हो भने गठबन्धनको मोडालिटी के हो त ?

प्रतिमा गौतम : गठबन्धन परम्पराले कांग्रेसको जिन नै नष्ट हुने अवस्थामा पुग्यो । कांग्रेस आफैँ बलियो शक्तिका रूपमा स्थापित हुनुपर्छ । कसैको हातगोडा लिएर अघि बढ्दा कांग्रेस कमजोर शक्तिका रूपमा देखिने अवस्था आयो । पार्टीकोे आन्तरिक एकता मजबुत पार्नुपर्छ । आन्तरिक एकताले नै कांग्रेसलाई जिताउँछ । 

गठबन्धनका पक्षमा यस्ता छन् देउवाका शृंखलाबद्ध मत
गठबन्धनबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति
२४ फागुनमा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ चुनावी अभियानमा खटिने केन्द्रीय प्रतिनिधिलाई पार्टीं कार्यालय सानेपामा निर्देशन दिँदै स्थानीयदेखि संघीय तहको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी खटिनुस् । सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउने गरी काम गर्नुहोला, कांग्रेसको पक्षमा माहोल बनाउनुस्, चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नुहोला । 

२६ फागुनमा वीरगन्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा
वास्तवमा मैले त प्रधानमन्त्री हुन चाहेकै थिइनँ । गठबन्धनकै साथीहरूको सहयोगले प्रधानमन्त्री भएको हुँ । हाम्रो उद्देश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थायी गराउनु तथा सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्ने हो । यो उद्देश्य गठबन्धनका सबै साथीले स्वीकार गरेकाले म प्रधानमन्त्री भएको हुँ । हामीले गठबन्धनलाई असर पर्ने कुनै पनि गतिविधि गर्नुहुँदैन । सबै विषयमा सल्लाह गर्नुपर्ने हुन्छ । तपाईंहरूलाई थाहा छ– हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? हामी गठबन्धनमा रहेकाहरू मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार बनाएर रहिरहन सक्छौँ ।

हाम्रो संवैधानिक व्यवस्था जे छ, त्यसले कुनै पार्टीले एक्लै बहुमत ल्याउन कठिन हुन्छ । कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ । ठाउँठाउँमा केही समस्या होलान्, सबैसँग बसेर मिलाऊँ । उहाँहरूको आवश्यकतामा हामीले सहयोग गरौैँ । गठबन्धन मुलुकको हित र हाम्रो पार्टी स्वयंका लागि पनि आवश्यक छ । त्यसैले हाम्रो बोलीले गठबन्धनका साथीहरूलाई अनावश्यक चिढ्याउने काम गर्नु छैन । अर्कोतिर, विपक्षी पार्टी एमाले छ, सकिसक्यो भने पनि ऊ सशक्तै छ । उनीहरूमा एकता छ । पार्टी एक राख्नु आवश्यक छ, गठबन्धन कायम राख्नुपर्छ । सबै पार्टीको आवश्यकताले एमसिसी पास भएको छ, अब स्थानीय निर्वाचन पनि आइसकेको छ । कहाँ–कहाँ जित्न सकिन्छ, कहाँ–कहाँ सकिँदैन, छलफल गरेर बोल्नुपर्छ । बाहिर बोलेर गठबन्धनका साथीहरूलाई सशंकित पारेर काम छैन ।

१० चैतमा कांग्रेस तनहुँको  स्वागत कार्यक्रममा 
वर्तमान पाँचदलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्छ । लोकतन्त्र र प्रजातन्त्र बचाउन गठबन्धनका दलको योगदान महत्वपूर्ण छ । स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ । लोकतन्त्र बचाउन पनि गठबन्धन आवश्यक छ । 

११ चैतमा केन्द्रीय कार्यसमिति बैठकमा 
स्थानीय चुनाव जित्ने भए गठबन्धन नगरौँ । तपाईंहरू जित्न पनि नजित्ने अनि गठबन्धन पनि नगरौँ भन्ने हो भने त गाह्रो हुन्छ । त्यसो हो भने गठबन्धन नगरी चितवनमा एक्लै चुनाव जितेर देखाउनुस् । 

१२ चैतमा राजधानीमा भएको बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभामा
हिजो हामीले चुनाव हारेको हो । सभापतिको हैसियतमा पार्टीलाई चुनाव जिताउनुपर्छ भन्ने चाहना हो । केपी ओलीको पार्टी कमजोर छैन । प्रचण्ड हार्नका लागि चुनाव लड्छन् ? फेरि मिलिहाल्छन् नि । जहाँ सजिलो हुन्छ उतै मिलिहाल्छन् । यसलाई पनि बुझौँ, मिलेर जाऔँ । देशलाई एक बनाउने हाम्रो पार्टीको दायित्व हो । प्रजातान्त्रिक पार्टी कांग्रेस मात्रै हो । कम्युनिस्टहरूको संख्या ठूलो छ । हामी सबै मिलेर जाऔँ, पार्टीलाई बलियो बनाऔँ । कांग्रेसलाई कमजोर गराउनका लागि गठबन्धन गरौँ भनेको होइन । संविधानको रक्षा गर्नु छ, प्रजातन्त्रको सुदृढीकरण गर्नु छ । यस्तो अवस्थामा हामी सबै मिलेर जानुपर्छ ।’


 

ad
ad
ad
ad