१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रकाश कँडेल
२०७५ पौष ७ शनिबार ०८:०७:००
Read Time : > 2 मिनेट
खेलकुद

किरणलाई झस्काउने सेमिफाइनल

Read Time : > 2 मिनेट
प्रकाश कँडेल
२०७५ पौष ७ शनिबार ०८:०७:००

किरण चेम्जोङले राष्ट्रिय फुटबल टोलीको पोस्टको जिम्मेवारी सम्हालेको लगभग १० वर्ष हुन लाग्यो । एक दशकमा किरण सायदै राष्ट्रिय टोलीबाहिर रहे । लगातार दश वर्ष गोलपोस्टको जिम्मेवारी भूमिका निर्वाह गर्दा किरणले खराबभन्दा धेरै राम्रो प्रदर्शन गरेका छन् । यसैकारण हुन सक्छ, उनी अन्तर्राष्ट्रिय व्यावसायिक लिग खेल्ने एक मात्र नेपाली गोलरक्षक हुन् ।

गोलरक्षक किरणले आफ्नो सफलताको श्रेय कडा मिहिनेत मान्छन् । ‘मेरो सफलताको एक मात्र मन्त्र हो, हार्ड वर्किङ (कडा मिहिनेत),’ नेपाली राष्ट्रिय टोलीका एक नम्बर गोलरक्षक किरणले भने । तर, किरणलाई जीवनभर एउटा पक्षले धेरै झस्काउने गर्छ, सन् २०१३ को साफ च्याम्पियनसिपको सेमिफाइनल ।

‘सायद साफ च्याम्पियनसिपको सेमिफाइनलले जीवनभर छोड्नेछैन्,’ सन् २०१३ को साफ च्याम्पियनसिपको दिन सम्झिँदै किरणले भने, ‘मैले अहिले पनि त्यो भिडियो हेर्दा त्यो गोल किन रोक्न सकिनँ भन्ने लाग्छ । त्यो गोल मलाई जीवनभर पछुतो लाग्ने गोलका रूपमा रहनेछ ।’

कस्तो थियो गोल

दशरथ रंगशालामा १८ हजार दर्शकअगाडि नेपालले फाइनल प्रवेशका लागि अफगानिस्तानविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । वास्तवमै सो भिडन्त बहुप्रतीक्षित थियो । घरेलु मैदान र समर्थकबीच नेपाल ११औँ मिनेटमा गोल खान पुग्यो । त्यही एक मात्र गोल नै नेपाल सेमिफाइनलबाट बाहिरिनु प्रमुख कारण बन्यो ।

अफगानी अहमादीले लामो दूरीबाट प्रहार गरेको बल किरणले पोस्टमा समात्न सकेनन् । यद्यपि, किरण आफ्नो पोस्टमा सही पोजिसनमै थिए । तर, उनले अहमादीको प्रहार बुझ्न सकेनन् । किरणको भनाइ मान्दा उनीबाट अब त्यस्तो गल्ती हुनेछैन ।

‘सामान्य गल्तीलाई पछुतो मानेर बसिनँ, तर हरेकपटक निराश हुँदा त्यो गल्तीबाट मैले प्रेरणा लिने गरेको छु,’ उनी थप्छन्, ‘त्यसवेला म २२ वा २३ वर्षको युवा थिएँ, यो उमेर भनेको सिक्ने अवस्था हो । त्यो गल्तीपछि जीवनमा मैले धेरै कुरा महसुस गरेको छु । सायद त्यो गल्तीले मलाई जीवनभर पछ्याइरहनेछ ।’

डेब्युपछि ६ महिना मैदानबाहिर

राष्ट्रिय टोलीमा युवा अवस्थामै स्थान बनाउने पक्षमा किरण अगाडि पर्छन् । यू–१९ को गोलरक्षक बनिरहँदा नै उनलाई राष्ट्रिय सिनियर टोलीमा बोलाइएको थियो । सन् २००८ मा एएफसी कप क्वालिफायरमा उनी टोलीमा परेका थिए । नेपाली टोलीमा त्यसवेला सिनियर गोलरक्षकहरू थिए । उनीहरूको प्रदर्शन राम्रो भइरहेको थियो ।

यस अवस्थामा किरणले नेपाली पोस्ट सम्हाल्ने अवसर पाउलान् कि नपाउलान् भन्ने द्विविधा लागेको थियो । प्रशिक्षणका क्रममा उच्चतम प्रदर्शनपछि उनलाई प्रशिक्षकले एएफसी कपमा मकाउविरुद्ध पोस्ट सम्हाल्ने जिम्मेवारी दिए ।

‘टोलीमा सिनियर खेलाडी रहँदा मैले मौका पाउँछु भन्ने कल्पना नै गरेको थिइनँ,’ राष्ट्रिय टोलीबाट डेब्यु गरेको क्षण सम्झिँदै किरणले भने, ‘मेरो मिहिनेत देखेर प्रशिक्षकले मलाई डेब्यु गराउनुभयो ।’ एकै दिन खुसी र पीडाको सामना किरणले गरे । मकाउविरुद्ध डेब्यु गरेका किरण २५ मिनेटमै चिउँडोमा चोट बोक्दै बाहिरिए । त्यसपछि उनी ६ महिना मैदानबाहिर रहे ।

दशरथ रंगशालामा सन् २०१३ को साफ च्याम्पियनसिपको सेमिफाइनल भिडन्त बहुप्रतीक्षित थियो । घरेलु मैदान र समर्थकबीच नेपालले ११औँ मिनेटमा गोल खान पुग्यो । अफगानी अहमादीले लामो दूरीबाट प्रहार गरेको बल किरणले समात्न सकेनन् ।

क्लब करिअरमा जमेका चेम्जोङ

किरणले पछिल्लो समय क्लब करिअरमा आफूलाई स्थापित गरेका छन् । भारतमा मिनरोवा पन्जाबबाट व्यावसायिक फुटबल खेलेका किरण अहिले माल्दिभ्सको टिसी स्पोर्टस्बाट खेलिरहेका छन् । ‘हेर्दा अन्तर्राष्ट्रिय क्लबमा प्रतिस्पर्धा गरेको देखिन्छ, तर त्यस्तो होइन, धेरै कुरा बलिदान गर्नुपर्छ ।

कुनै एक खेलाडीका लागि खेल्दा सबैले खेल्ने कुरालाई सहज मान्छन्, तर अवस्था त्यस्तो हुँदैन,’ उनले भने, ‘अर्काको देशमा प्रोफेसनल भएर खेल्नु आफैँमा निकै असहज हुन्छ, एक वर्षसम्म सबै कुरा त्यागेर बस्नु भनेको जोकोहीका लागि निकै मुस्किलको कुरा हो ।’

पराजित हुँदा खान मन लाग्दैन

खेलाडीको जीवनमा खुसी र दुःखका क्षण आउने गर्छन् । किरण पनि खेलाडी भएपछि यस्ता हरेक क्षणबाट परिचित छन् । ‘मैले खेल जीवनमा नजिकबाट जित र हारको महसुस गरेको छु,’ हार र जितको अर्थ बुझाउँदै किरणले भने, ‘तर, हारले मलाई साँच्चिकै निराश बनाउँछ ।’

किरणले प्रतिनिधित्व गरेको टोली पराजित हुँदा त्यस दिन उनलाई खाना रुच्दैन । ‘टोली पराजित भएको दिनमा मलाई खाना रुच्दैन, त्यति मात्र हो र, निद्रा लाग्दैन,’ उनले भने, ‘साँच्चिकै हारले धेरै पीडा दिन्छ ।’ मैदानमा अविष्मरणीय जित हात पार्दा उनी भावुक हुने गर्छन् ।

‘जित आत्मसात् गर्छु, त्यसपछि त्यो खुसीले पनि मलाई रुवाउँछ, जित र हारको आँसुले जीवनको अर्थ सिकाइरहेको छ,’ उनले भने, ‘मैदानमा म सधैँ लडिरहेको छु । हरेकपटक सिकिरहेको छु ।’