१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जयसिंह धामी घटना : नौ महिनासम्म न्याय नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo

गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट जयसिंह धामी बेपत्ता भएको नौ महिना हुँदै छ । भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन फुस्काइदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबी दोषी देखाएको थियो । र, सोहीअनुसार कारबाही गर्न भनेको थियो । 

तर, लामो समयसम्म पनि पीडकलाई कारबाही भए–नभएको पीडित परिवारलाई जानकारी छैन । यसबीचमा पीडित परिवार झनै पीडामा परेकाे छ । पीडितले राज्यबाट उचित न्याय नपाएको भन्दै अहिले पीडित जयसिंहकी श्रीमती राजन्ती धामी जिल्ला प्रशासन कार्यालय पुगेकी छिन् ।

सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको माग गर्दै बुधबार धामीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन बुझाएकी छिन् । सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदासमेत पीडित परिवारलाई उचित राहत र रोजगारीको अवसर सिर्जना गर्न नसकेको पीडित परिवारको गुनासो छ ।

घरमा वृद्ध आमाबुबा, श्रीमती र दुई नाबालक छोराछोरी छन् । ‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले पनि गरेको थियो,’ राजन्ती भन्छिन्, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’

घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिनुपर्ने उनको माग छ । सरकारले जयसिंह परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसबाहेक अहिलेसम्म फर्केर हेरेको छैन । ‘सहयोग रकम पाएको हुँ,’ उनले भनिन्, ‘तर, त्यो रकम विदेश जाँदा निकालेको ऋण तिर्न ठिक्क भयो ।’ स्थानीय सरकारले पनि आर्थिक सहयोगको घोषणा गरेको थियो । तर, अहिले आएर अवस्था कस्तो छ भनेरसमेत सोधपुछ हुँदैन । गाउँको खेतमा उब्जनी हुँदैन । तीन महिना पनि खान नपुग्ने भएपछि आर्थिक समस्या भएको छ । घरमा रोजगारीको आधार केही छैन । 

दोषीलाई कारबाही नहुनु र राज्यले समेत उचित रोजगारी र छोराछोरीको शिक्षाको ग्यारेन्टी नगर्दा आफ्नो परिवार बिचल्लीमा परेको उनको गुनासो छ । ‘आफूलाई समेत रोजगारी दिएको भए सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘यसतर्फ कसैले सहयोग गरेका छैनन् । स्थानीय सरकारले गरेका वाचा पूरा भएको छैन । बालबालिकाको उचित शिक्षा र पालनपोषण तथा मलाई रोजागारीको अवसर सिर्जना गरिदिन आग्रह गर्दछु,’ राजन्तीले भनिन् ।

तुइन तरेरै खलंगा पुगिन् राजन्ती
सरकारले तुइन विस्थापन गर्ने नीति लिएको मालघाटमा अझै तुइन विस्थापन हुन सकेको छैन । जयसिंह धामी बेपत्ता भएयता पुल निर्माण कार्यले तीव्रता लिए पनि अझै पुल निर्माण कार्य सकिएको छैन । महाकाली नदी वारपार गर्न पुल नहुँदा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन बुझाउन जयसिंहकी श्रीमती राजन्ती तुइन तरेरै खलंगा पुगेकी हुन् । श्रीमान् बेपत्ता भएकै क्षेत्रबाट तुइन तरेर खलंगा पुगेको उनले बताइन् । 

‘पुल निर्माण सकिएको छैन,’ बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘पुल नहुँदा तुइनमार्फत आवतजावत भइरहेको छ । नेपालतिर आउँदा दिनभरि समय लाग्छ ।’ तुइन भएर आउँदा एक घन्टामै खलंगा पुगिने भएको कारण तुइनबाटै आवतजावत गर्ने गरेको उनले बताए । एसएसबीले नियमित गस्ती गर्छन् । उनीहरू आए सीधै तुईन काटिदिन्छन् । तुइन अवैध भए पनि यहाँका नागरिकलाई सहज र छोटो बाटो यही तुइनको प्रयोगमार्फत हुन्छ । यहाँका नागरिकले भारतकै खाद्यान्न लुकिछिपी यही तुईनबाट ओसार्ने गर्छन् । 

‘ज्यानकै बाजी लगाएर भए पनि यही बाटो हिँड्नुको विकल्प पनि त छैन,’ व्याँस– २ का महेन्द्र बुढाथोकीले भने, ‘पुल निर्माण नहुँदा पुस्तौँदेखि यहाँका नागरिक तुइनको सहारामा आवतजावत गर्न बाध्य छन् ।’ 

ad
ad