१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ९ बुधबार ०७:०६:००
Read Time : > 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनएको सबै विवाद सल्टियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ९ बुधबार ०७:०६:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको सबै विवाद सल्टिएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षबीच पनि सहमति भएपछि सबै विवाद समाधान भएको हो । सहमतिअनुसार मंगलबार शेष घलेले काठमाडौंस्थित होटेल याक एन्ड यतीमा आयोजना गरेको भेलालाई महाधिवेशनको मान्यता दिने दिइनेछ । त्यस्तै, आइसिसीको गत मार्च २ मा सम्पन्न भएको ८२औँ बैठकको निर्णयलाई पुनर्मूल्यांकन गरी संरक्षक समिति र उच्चस्तरीय समितिलाई फेरि ब्युँताइने भएको छ । वर्तमान विधान तथा निर्वाचन समितिलाई समायोजन गर्ने र महाधिवेशनको पहिलो सत्रबाट सहमतिका आधारमा विधान संशोधन गरिने भएको छ । 

असुन्तष्ट पक्षलाई सहमतिमा ल्याउनका लागि संस्थापन पक्षले महाधिवेशनमा बहुअध्यक्षको प्रस्ताव लैजाने तयारी गरेको छ । गत सोमबार अध्यक्षका तीनैजना प्रत्याशीबीच भएको सहमतिअनुसार तीनजना नै अध्यक्ष रहने भएका छन् । यसका लागि विधान संशोधन गर्न महाधिवेशनमा प्रस्ताव लैजाने तयारी गरेका हुन् । तर, सो प्रस्तावको निर्णय महाधिवेशनले नै गर्ने संघका अध्यक्ष कुमार पन्तले बताए । ‘अहिले सहमति गरेर मात्रै हँुदैन, महाधिवेशनले के गर्छ भन्ने विषय ठूलो हो,’ उनले भने ।मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष एवं अध्यक्षका प्रत्याशी डा. बद्री केसीले एनआरएनएले आयोजना गरेका बाहेक अन्य गतिविधिको अन्त्य हुने बताए । त्यस्तै, यसअघि भए–गरेका सबै खालका मुद्दामामिला पनि खारेज हुने उनको भनाइ छ । संघ पहिलाजस्तै गरी एकताबद्ध भएर अगाडि बढ्ने उनले दाबी गरे । 

त्यस्तै, अध्यक्षका अर्का प्रत्याशी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउन सबैजना लागेको बताए । राष्ट्रिय सहमतिको निर्वाचनका लागि यसअघि भएका सबै कामहरू स्थगित भएको उनले बताए । अर्की प्रत्याशी रबिना थापाले भने सहमति, सहकार्य र एकताका साथ सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन् । उनले पूर्वअध्यक्षहरूलाई पनि साथमा समेटेर जानुपर्ने बताइन् । अध्यक्ष पन्तका अनुसार बिहीबार र शुक्रबार महाधिवेशन हुनेछ । महाधिवेशनको पहिलो सत्रबाट विधान संशोधनको प्रस्ताव पास भएपछि परराष्ट्र मन्त्रालयले प्रमाणित गर्नेछ । शुक्रबार संशोधित विधानअनुसार निर्वाचन हुनेछ ।