१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Saturday, 28 September, 2024
दशकका उत्कृष्ट खेलाडी सावित्रा र पारस तस्बिर: संजित परियार/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ९ बुधबार o६:३४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o६:३४:oo

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोर्टस् अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ दशककै  उत्कृष्ट खेलाडी बनेका हुन् ।यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का मुख्य प्रशिक्षक (क्रिकेट)जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक चुनिए ।गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको प्रदर्शनका आधारमा छनोट गरेको हो । 

मञ्चले यसपटक नौवटा अवार्ड प्रदान गरेको छ । बाँकी ६ अवार्ड भने यसअघिकै परम्पराअनुसार प्रदान गरिएको हो । राखेपका पूर्वसदस्यसचिव शरदचन्द्र शाहलाई मराणोपरान्त लाइफ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । मञ्चले मरोणोपरान्त लाइभ टाइभ एचिभमेन्ट दिएको पहिलोपटक हो । गत वर्ष देशका लागि एक मात्र अन्तर्राष्ट्रिय सफलता दिलाउन सफल धाविका पुष्पा भण्डारी र चिकित्सा सेवामार्फत खेलकुदमा सेवा पुर्‍याएका अजय राणालाई स्पेसल अवार्डबाट सम्मान गरिएको छ । सरिता थुलुङ पारा एथ्लेटबाट सम्मानित भइन् । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् ।

एकदिवसीय मान्यता दिलाउँदाका प्रशिक्षक जगत
जगतकै मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक रूपमा एकदिवसीय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै सो सफलता चुमेको थियो । उनकै प्रशिक्षणमा नेपालले नामिबियामा डिभिजन–२ को फाइनलसम्म पुगेको थियो ।

सन् २०१९ मा नेपालले युएईसँगको तीन एकदिवसीय तथा तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज समान २–१ ले जित्दा उनी मुख्य प्रशिक्षक थिए । नेपालले उनकै मुख्य प्रशिक्षणमा  सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेको थियो । सन् २०१८ मै मलेसियामा भएको आइसिसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’को उपाधि जित्दा उनी नै नेपाली टोलीका मुख्य प्रशिक्षक थिए ।१३औँ सागमा नेपाली महिला क्रिकेट टोलीले कांस्यपदक जित्दा पनि जगत मुख्य प्रशिक्षक थिए । पछिल्लो एक दशकमा क्रिकेटलाई दिलाएको सफलताका कारण जगत दशककै उत्कृष्ट प्रशिक्षक बनेका हुन् । 

एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड
मञ्चले प्रदान गर्ने विभिन्न अवार्डमध्ये पिपल्स च्वाइस अवार्ड भने भोटिङका आधारमा छिनोफानो हुन्छ । यसपटक टेबलटेनिस खेलाडी एलिना महर्जन पिपल्स च्वाइस खेलाडी बनेकी छिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले सर्वाधिक ४७.८३ मत प्राप्त गरेकी छिन् । नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी एलिनाले १२ र १३औँ सागमा महिला टिम इभेन्टमा कांस्यपदक जितेकी थिइन् ।

राणालाई स्पेसल अवार्ड
डा. अजय राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए । उनले संकटा र ब्वाइज युनियनबाट फुटबल खेलेका थिए । सन् १९७२ मा उनी हक्कीको राष्ट्रिय टोलीका लागि छनोट भएका थिए । त्यहीवेला एमबिबिएस अध्ययनमा उनको नाम निस्कियो । खेल र करिअर छान्नुपर्ने द्विविधाबीच उनले पढाइ रोजे र भारत गए । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा राणाले सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मेवारी पाए । राणाले फिफाको मेडिकल इन्स्ट्रक्टर, एएफसीको प्यानल अफ मेडिकल एक्सपर्ट, विश्व ब्याडमिन्टनको अन कोर्ट डाक्टर, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको मेडिकल एन्ड एन्टी डोपिङ कमिटीका चियरम्यान, बक्सिङ महासंघका अन कोर्ट डाक्टरको जिम्मेवारी निर्वाह गरेका थिए । 

शाहलाई मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्ड
०३४ देखि ०४५ सम्म राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व गरेका शरदचन्द्र शाहले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्तरनगर खेलकुदको सुरुवात गरेका थिए । शाह दक्षिण एसियाली खेलकुदको योजनाकारमध्ये एक थिए । उनकै कार्यकालमा नेपालभित्र ७५ वटै जिल्लामा कभर्ड हल र पाँच विकास क्षेत्रमा रंगशाला निर्माण भएका थिए । उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्षसमेत बनेका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बनेका शाहले ०४५ मा दशरथ रंगशालामा भएको फुटबल काण्डसँगै सदस्य–सचिवबाट राजीनामा दिएका थिए । शाहको ५ असार ०६९ मा सिंगापुरमा निधन भएको थियो । शाहकी छोरी मिहिका शाह र परिवारका अन्य सदस्यले लाइफटाइम एचिभमेन्ट अवार्ड ग्रहण गरेका थिए ।

सरिता भइन् पारा एथलिट खेलाडी
सिरिता थुलुङले यसपटक प्यारा एथ्लेटिक अवार्ड जितेकी छिन्  । तीन वर्षको उमेरमा पोलियो भएपछि सरिताले एउटा खुट्टा गुमाउनुपरेको थियो । फरक क्षमता भएकाहरूको पनि खेलकुद हुन्छ भन्ने थाहा पाएपछि उनी खेल क्षेत्रमा लगेकी थिइन् । जसले उनको जीवनमा नयाँ मोड दियो । खेलकुदमा उनको सुरुवात पारा फुटबलबाट भयो । त्यसपछि उनले ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङ खेलिन् । उनी कुनै पनि प्रतिस्पर्धामा दोस्रो हुनु परेन । लन्डनमा भएको विश्व पारा च्याम्पियनसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले देशको प्रतिनिधित्व गर्ने अवसरसमेत पाइन् ।

धाविका पुष्पालाई स्पेसल अवार्ड
कोरोना महामारीका वेला खेल क्षेत्र ठप्पजस्तै भएको वेला पुष्पा भण्डारीले नेपाललाई गत वर्ष एक मात्र अन्तर्राष्ट्रिय पदकका रूपमा स्वर्ण दिलाइन् । ०७७ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ पुष्पाले दिलाएकै सफलता एक पदक मात्र रह्यो । बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा उनले स्वर्णपदक जितेकी थिइन् । उनले दुई भारतीय खेलाडीलाई पछि पार्दै शीर्ष स्थानमा आफूलाई उभ्याइन् । पुष्पाले निर्धारित दूरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् ।

 यसकारण पारस उत्कृष्ट
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसको नेतृत्वमा नेपालले पहिलोपटक सन् २०१४ मा आइसिसी टी–२० विश्वकप खेलेको थियो । विश्व कपमा नेपालले उत्कृष्ट प्रदर्शन गरी हङकङ र अफगानिस्तानलाई हराएको थियो । सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक रूपमा एकदिवसीय मान्यता दिलाएका थिए ।नेपाललाई एकदिवसीय तथा टी–२० राष्ट्रको हैसियत दिलाउँदा पारसले खेलाडी तथा कप्तानीका रूपमा लोभलाग्दो प्रदर्शन गरेका थिए । टी–२० र एकदिवसीय फम्यार्टमा शतकीय इनिङ्स खेल्ने उनी एक मात्रै नेपाली खेलाडी हुन् । पारसले सन् २०१९ मा युएईविरुद्ध तेस्रो एकदिवसीय खेलमा एक सय १५ रन र सन् २०१९ मा सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए । यसै प्रदर्शनको आधारमा पारस दशकको उत्कृष्ट खेलाडी बनेका हुन् ।

 फुटबलमा छाएकी सावित्रा
अहिले मैदानभन्दा बाहिर रहेकी सावित्राले सन् २०१४ राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाएकी सावित्रा घरेलु तथा दक्षिण एसियाकै राम्रो स्ट्राइकरकी रूपमा परिचित छिन् ।नेपालले अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त सफलतामा सावित्राले निर्णायक भूमिका खेल्दै आएकी छिन् । सन् २०१९ को स्पोर्टस् अवार्डमा उनले उत्कृष्ट महिला खेलाडी अवार्डसमेत जितेकी थिइन् । राष्ट्रिय टोलीबाट सर्वाधिक ३८ गोल गरेकी सावित्राले दुईपटक नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाएकी छिन् ।

नेपालले  १२औँ र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा उनी मुख्य खेलाडी थिइन् । एपिएफले घरेलु फुटबलमा लगातार उपाधि जित्दा उनले सर्वाधिक गोल गरेकी थिइन् । भारतको शीर्ष डिभिजन लिग, भारतीय महिला लिगमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

 फुटबल वर्षको उत्कृष्ट टोली
मञ्चले राष्ट्रिय फुटबल टोलीलाई ०७७ को उत्कृष्ट टोली घोषित गरेको छ । फुटबल टोलीले ०७७ मा ५ खेलमा एक जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।घरेलु मैदानमा मैत्रीपूर्ण थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । थ्री नेसन्स कपमै राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीले कोरोना महामारीबाट फुटबल फर्केको संकेत दिन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बंगलादेशमा दुई खेल खेल्यो । जसमा नेपाल पहिलो खेल २–० ले पराजित भयो । अर्को खेलमा नेपालले बंगलादेशलाई गोलरहित बराबरीमा रोक्यो ।