मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ६ आइतबार ०९:०२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

घट्दै कोभिड संक्रमण, देशभर ६ जना भेन्टिलेटरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ६ आइतबार ०९:०२:००

नेपालमा पछिल्लो केही समययता कोभिड संक्रमण न्यून हुँदै गएको छ । संक्रमणका कारण गम्भीर बिरामीको संख्यासमेत बागमती प्रदेशमा मात्रै सीमित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमणका कारण बागमती प्रदेशबाहेक देशभर अस्पतालसम्म पुग्ने बिरामी र गम्भीर बिरामीको संख्या लगभग शून्यमा झरेको हो । हाल बागमती प्रदेशमा मात्रै ६ जना भेन्टिलेटर अर्थात् क्रिटिकल केयरमा उपचाररत छन् । यसबाहेक आइसियूमा रहेका २७ मध्ये २४ जना बिरामी बागमती प्रदेशका विभिन्न अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर तीन हजार पाँच सय ९५ जना सक्रिय संक्रमितमध्ये ६० जना मात्रै अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररतमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४८,  सुदूरपश्चिममा चार, लुम्बिनीमा चार, मधेसमा दुई, प्रदेश १ र गण्डकीमा एक–एकजना संक्रमित मात्रै अस्पतालमा उपचाररत रहेका छन् । 

दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्यासमेत चारमा झरेको छ । हाल काठमाडाैँ, ललितपुर, चितवन र बाँकेमा मात्र दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । यसबाहेक शून्य संक्रमित रहेको जिल्लाको संख्यासमेत बढ्दै गएको छ । हाल मनाङ, रुकुमपूर्व, जुम्ला र बाजुरामा संक्रमितको संख्या शून्य छ । 

ओमिक्रोनले ल्याएको तेस्रो लहरपछि कोभिड संक्रमणदर लगभग शून्यमा झरेको हो । अर्को नयाँ भेरियन्ट देखानपरेमा कोभिड संक्रमणले अर्को लहर ल्याउने सम्भावना तत्काल नरहेको विज्ञहरूले बताउँदै आएका छन् । यद्यपि चीन, दक्षिण कोरिया, भियतनामलगायतका देशहरूमा पुनः उकालो लागेको संक्रमणदर हेर्दा अझैसम्म कोभिड जोखिमुक्त नभएको भाइरोलोजिस्टहरू बताउँछन् । 

कोरोनाबाट नेपालमा एक सातादेखि मृत्युदर शून्य
नेपालमा कोभिड संक्रमणको मृत्युदर गत सातादेखि नै शून्यमा झरेको छ । परीक्षण गरिएका नमुनाको आधारमा संक्रमण न्यून हुँदै गएको समयमा मृत्युदरसमेत शून्यमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २८ फागुनदेखि नै कोभिड मृत्युदर निरन्तर शून्य रहेको छ । 

कोभिड महामारी सुरु भएयता हालसम्म देशभर कोभिड संक्रमणका कारण ११ हजार नौ सय ५० जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा पाँच हजार एक सय ६८ र सबैभन्दा कम कर्णालीमा चार सय ८४ को संक्रमणका कारण मृत्यु भएको छ । यसबाहेक लुम्बिनीमा एक हजार आठ सय ६४, प्रदेश १ मा एक हजार सात सय १५, गण्डकीमा एक हजार चार सय २५, मधेस प्रदेशमा सात सय ८५ र सुदूरपश्चिमा पाँच सय नौजनाको ज्यान गएको छ ।