मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २ बुधबार o६:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o६:४६:oo

दुई देशबीच शिक्षा, विज्ञान तथा आविष्कार, सूचना प्रविधि, लगानी, व्यापार, पर्यटनका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा सम्बन्धित मन्त्रालयहरूले तयारी गर्ने र परराष्ट्र मन्त्रालयमार्फत भविष्यमा साउदी अरब सरकारसँग सहकार्यका लागि समन्वय गर्ने

नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्ष पुगेका दिन मंगलबार जनरल कोअपरेसन एग्रिमेन्ट (आपसी सहयोग सम्झौता) भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका राजकुमार एवं विदेशमन्त्री फैजल बिन फहरान अल साउदले द्विपक्षीय वार्तापछि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल र साउदी अरबबीच १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । साउदी अरबका विभिन्न भूभागमा करिब चार लाख नेपाली कार्यरत छन् ।

परराष्ट्रमन्त्रीस्तरीय सम्झौतालाई छाता सम्झौताका रूपमा आत्मसात् गरेर दुई देशबीच भविष्यमा क्षेत्रगत रूपमा सहकार्य गर्ने सहमति भएको छ । दुई देशबीच शिक्षा, विज्ञान तथा आविष्कार, सूचना प्रविधि, लगानी, व्यापार, पर्यटनका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा सम्बन्धित मन्त्रालयहरूले तयारी गर्ने र परराष्ट्र मन्त्रालयमार्फत भविष्यमा साउदी अरब सरकारसँग सहकार्यका लागि समन्वय गर्ने सहमति छ ।

‘दुई देशबीच सहकार्यका लागि थप प्रयास हुनेछन्, अहिले हस्ताक्षर भएको केवल छाता सम्झौता हो,’ परराष्ट्र मन्त्रालयको मध्यपूर्वी डिभिजन प्रमुख हरिश्चन्द्र घिमिरेले नयाँ पत्रिकासँग भने, ‘मन्त्रीस्तरमा हस्ताक्षर भएको ढाँचामा दुई देशबीच विभिन्न क्षेत्रमा भविष्यमा सहकार्यका लागि प्रयास गर्ने भन्ने भएको छ ।’

साउदी राजकुमार फैजल परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार साँझ श्रीलंकाबाट काठमाडौं आएका थिए । परराष्ट्रमन्त्री खड्काले द्विपक्षीय वार्तामा नेपालमा लगानीका लागि सहजीकरण गरिदिन, साउदी अरबमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन आग्रह गर्दै साउदी अदालतले मृत्युदण्डको फैसला गरेका दुई नेपालीमाथिको उक्त सजाय पुनर्विचारका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

‘नेपालीको हित र सुरक्षा, अप्ठ्यारोमा परेका अन्य नेपालीसहित मृत्युदण्डको सजाय सुनाइएर हाल जेलमा रहेका दुईजना नेपालीलाई उक्त सजायमा पुनर्विचार गरिदिन मन्त्री खड्काले आग्रह गर्नुभयो । राजकुमार फैजलले नेपालको चासोलाई आफ्नोतर्फबाट सम्बोधन गर्न प्रयत्न गर्ने वचन दिनुभयो,’ द्विपक्षीय वार्तापछि एक अधिकारीले भने । साउदी अरबमा सन्तबहादुर पुन र विवेक दाहाललाई अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ । त्यसमा पुनर्विचारका लागि मन्त्री खड्काले आग्रह गरेका थिए । 

नेपाल र कतारबीच श्रम सम्झौता हुनुपर्नेमा पनि नेपालको जोड थियो । साउदी राजकुमारले यसमा थप छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताएका थिए । उनले मिल्न सक्ने र कानुनी दायराभित्र रहेर नेपालीलाई गर्न सकिने सहयोग गर्ने आश्वासन दिएका छन् ।

परराष्ट्रमन्त्री खड्काले दिवाभोज आयोजना गर्नुअघि साउदी राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । आधा–आधा घन्टाको भेटमा दुई देशबीच श्रमबाहेकका क्षेत्रमा सहकार्य हुनुपर्ने विषयमा छलफल भएको छ । दुई देशबीच सम्बन्ध थप सुदृढ गर्नुपर्ने विषयमा सबै भेटवार्तामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।