Skip This
यसकारण पुटिन रोकिनेछैनन् 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Saturday, 27 July, 2024
डेभिड ब्रुक्स
२o७८ फाल्गुण ३० सोमबार o८:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसकारण पुटिन रोकिनेछैनन् 

Read Time : > 2 मिनेट
डेभिड ब्रुक्स
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार o८:१३:oo

 रुसी जनता आफूलाई महान् राष्ट्रको सदस्य ठानून् र आफू विश्वकै ऐतिहासिक व्यक्तित्व बन्ने महत्वाकांक्षामा पुटिनले युक्रेनमा आक्रमण गरेका हुन् । यो आक्रमणलाई पहिचानको राजनीतिको बहुलठ्ठीपूर्ण विस्तारका रूपमा लिइनुपर्छ ।


आधुनिक जर्मनीको निर्माण हुनुभन्दा पहिलेको राज्य प्रुसियाका जनरल एवं सैन्य सिद्धान्तकार कार्ल भोन क्लजविजले युद्ध भनेको पृथक् ढंगले गरिने राजनीति हो भन्ने तर्क गरेका थिए । हालको युक्रेनमाथिको रुसी आक्रमण पनि पृथक् ढंगले गरिएको पहिचानको राजनीतिको निरन्तरता हो । मेरा लागि यी परम्परागत अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञका लेख अहिलेको संकटलाई बुझ्न खासै सहयोगी देखिँदैनन् । तर, सामाजिक मनोविज्ञानमा पारंगतका मतहरू भने अत्यधिक सहयोगी पाएको छु । किनभने भ्लादिमिर पुटिन परम्परागत कोणबाट शक्तिशाली राजनीतिज्ञ होइनन् । उनी मूलतः पहिचान उद्यमी हुन् । उनको एक मात्र उपलब्धि रुसी जनतालाई सोभियत संघ विघटनको मानसिक आघातबाट मुक्त गराउनु हो । उनीहरूको अस्तित्वको महत्व एवं आत्मसम्मान छ भन्ने गरी सामूहिक पहिचान दिनु हो । 

युक्रेनको युद्ध, भूमि कब्जा गर्न नभई हैसियतका लागि गरिएको हो । रुसी जनताले आफूलाई महान् राष्ट्रको सदस्य ठानून् र आफू विश्वकै ऐतिहासिक व्यक्तित्व बनूँ भन्ने महत्वाकांक्षामा पुटिनले युक्रेनमा आक्रमण गरेका हुन् । यो आक्रमणलाई पहिचानको राजनीतिको बहुलठ्ठीपूर्ण विस्तारका रूपमा लिइनुपर्छ । रुसी जनतालाई पश्चिमविरुद्ध भड्काउन पुटिनले वर्षांै लगानी गरेका छन् । उनले युक्रेनमा रुसी भाषा बोल्नेमाथि व्यापक आक्रमण भइरहेको झुटो दाबी गरेका थिए । उनी युद्धको अस्त्र प्रयोग गरेर रुसी जनतामाथि आफ्नो सामूहिक पहिचानमाथि गौरवान्वित गराउने प्रयास गर्दै छन् ।       

सोभियत संघ एक गिजोलिएको अत्याचारी राज्य थियो, तर गुल्नाज सराफुतदिनोभाले आफ्नो पुस्तक ‘द रेड मिरर’मा लेखेझैँ सोभियत इतिहास र भाष्यले रुसी जनता आफूलाई ‘विश्वका अन्य मुलुकका तुलनामा अद्वितीय एवं श्रेष्ठ मुलुकका निवासी’ ठान्छन् । हालको यो अभियानमा हरेक नागरिकले महत्वको बोध गरेका छन् । सोभियत संघको अन्त्यलाई मुक्ति र नयाँ एवं महान् रुस निर्माणको मौकाको रूपमा हेर्न सकिन्थ्यो । तर, पुटिनले सोभियत अन्त्यलाई प्रलयकारी पराजयका रूपमा देखे । लाचारी र छिन्नभिन्न पहिचानको भावनाको निर्माण गरियो । अर्थात्, अब हामी के रह्यौ ? के हाम्रो अस्तित्वको महत्व छ ? भन्ने प्रश्न उठाइयो ।  
संसारभरका पहिचानका राजनीतिज्ञले झैँ पुटिनले पनि पहिचानको संकटलाई अपमानको भाष्यको रूपमा प्रस्तुत गरे । उनले लज्जा एवं हीनताबोधग्रस्त भावनाको निर्माण गरेका थिए । अर्थात् हामी निर्दाेष र पीडित हौँ अनि यसका लागि अमेरिका अर्थात् पश्चिमा जिम्मेवार रहेको भन्ने बनाए । अन्य पहिचानका राजनीतिज्ञले झैँ आघातका चोट एवं लघुताभासको डरलाई शान्त बनाउन आक्रोशलाई बढावा दिए । सत्तामा उक्लिएको पहिलो वर्षमा उनले रुसी पहिचानको पुनर्निर्माण गरे । सोभियतकालीन विरासतका क्षेत्रमा पुनः दाबी गर्नुलाई गर्वको विषय बनाए । 

पुटिनले बनाएको रुसी पहिचान मूलतः उनकै वरिपरि घुम्छ अर्थात् विश्वमञ्चमा आफूलाई शक्तिशाली बनाएर पुटिन रुसी जनतालाई गौरवान्वित र महत्वपूर्ण भएको देखाउन चाहन्छन् । सन् २०१४मा तत्कालीन राष्ट्रपति कार्यालयका कर्मचारीका उपप्रमुख भ्याचेस्लाभ भोलोदिनले पुटिन सत्ताको मानसिकता झल्काउने गरी ‘आज पुटिन हँुदैनन् भने रुस पनि हुँदैनन्’ भनेर अभिव्यक्ति दिएका थिए ।       

सोभियतकालीन विरासत फर्काउने विशाल रणनीति क्रिमिया कब्जासँगै प्रमाणित भएको हो । क्रिमियाको भूमिमा कब्जा जमाएसँगै रुसले आफूलाई विशाल शक्तिका रूपमा प्रस्तुत गर्ने फेरि अवसर पायो । पुटिनले पश्चिमा नैतिकताको पतनको विरुद्ध परम्परागत नैतिकवान् शक्तिको नेतृत्व गर्दै आफूलाई राष्ट्रिय नेता मात्र नभई सभ्यताकै नेतृत्वकर्ताका रूपमा उभ्याउन खोजेका थिए ।

अब परिस्थिति नियन्त्रणबाहिर गइसक्यो । पुटिनको पहिचानको राजनीति विषाक्त छ किनभने रुस अहिले आत्ममुग्धतामा डुबेको छ । जसरी व्यक्तिमा आत्ममुग्धताले अहंकार जन्माउँछ, त्यसैगरी आत्ममुग्धता पनि राज्यलाई अहंकारी बनाउँछ । शक्ति प्रदर्शन गरे पनि वास्तवमा ऊ आफ्नो कमजोरीबाट सन्त्रस्त हुन्छ । आत्मश्लाघाले ग्रसितहरू मान्यता खोज्छन्, तर त्यो कहिल्यै पाउँदैनन् ।      

पुटिन र रुसी पहिचान हाल छुट्टिन नसक्ने अवस्थामा छ । लज्जा र अपमानको भावनाविरुद्ध लड्दै आफ्नो जीवन बिताएको मानिसले संसारको ठूलो हिस्साले आफूलाई लज्जित र अपमानित गर्दा कस्तो प्रतिक्रिया देला ? शक्तिशाली र दूरदर्र्शी देखिने प्रयासमा आफ्नो जिन्दगी बिताएको मानिसले आफूलाई कमजोर र अदूरदर्र्शी पाउँदा कस्तो प्रतिक्रिया देला ? मलाई लाग्छ, कम्तीमा केही समय पुटिन चर्चित रुसी ‘घेरिएका किल्ला’मा फर्कन सक्छन् । अर्थात् पश्चिमले हामीलाई घेरे पनि हामी सधैँ अन्त्यमा जित्नेछौ भन्नेमा पुग्न सक्छन् ।

उनले युक्रेनबाट बाहिर निस्किने गरी सम्झौता गर्ने संकेत देखिएका छन् । यसो भयो भने अनौठो हुनेछ । वर्षांैदेखि पुटिनले निर्माण गर्दै आएको व्यक्तिगत एवं राष्ट्रिय पहिचान धुलिसात् हुनेछ । सामान्यतया मानिस आफ्नो पहिचान धुलिसात् हुने गरी सम्झौता गर्दैन । पुटिनलाई अपमानको सामना गर्ने एक मात्र उपाय थाहा छ, अरूलाई दोष लगाउने र प्रहार गर्ने । यो परिस्थितिले मलाई केही वर्षअघि मेरा सहकर्मी थोमस एल. फ्रिडमेनले अपमानको राजनीतिमा लेखेको एक गहन स्तम्भ सम्झायो जहाँ उनले नेल्सन मन्डेलाको ‘संसारमा सबैभन्दा खतरनाक मानिस अपमानित मानिस हो’ उद्धरण उल्लेख गरेका थिए । 

पुटिनले आफू र आफ्नो देशमा अहिले अपमानको स्थिति निम्त्याएका छन् । मलाई लाग्छ, पुटिनको अहिलेको काम ठूलो अपराध हो । यसले गरिमा एवं महानताले भरिपूर्ण एउटा राष्ट्रलाई पतनोन्मुख गराउनेछ । न्युयोर्क टाइम्स