मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार १९:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपामा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १९:२४:oo

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार उम्मेदवार छनाेटको जिम्मेवारी तल्ला कमिटीलाई दिएको हो । तय गरेको मापदण्डअनुसार तल्ला कमिटीबाट उम्मेदवार छनाेट गर्ने र विवाद देखिए मात्र माथिल्ला कमिटीले हस्तक्षेप गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

स्थानीय तहले उम्मेदवार छान्न नसके जिल्ला कमिटीमा लैजाने गरी निर्देशिका तयार पारिएको छ । जिल्ला कमिटीले पनि निरूपण गर्न नसकेको अवस्थामा प्रदेश कमिटीले उम्मेदवार तय गर्नेछ । 
उम्मेदवारको विषयमा तल्ला कमिटीले विवाद निरूपण गर्न नसकेको अवस्थामा केन्द्रमा एउटा कमिटी बनाएर निष्कर्ष दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।

निर्वाचन निर्देशिका तयार पार्न जसपाले तीन सदस्यीय समिति बनाएको थियो । जसमा कार्यकारिणी सदस्य नवराज सुवेदी, हिसिला यमी र मनीष सुमन रहेका थिए । जसपाको कार्यकारिणी समिति बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्ताबेज पनि अनुमोदन गरेको छ । 

बैठकमा राजनीतिक प्रस्ताव र निर्वाचन निर्देशिकाबारे सुझाब आएको सुमनले बताए । प्राप्त सुझाबलाई समेटेर शनिबार बस्ने संघीय परिषद् बैठकमा दुवै प्रतिवेदन पेस गरिने उनले जानकारी दिए । संघीय परिषद् बैठकले प्रस्ताव पारित गरेपछि केन्द्रीय समितिमा दुवै दस्ताबेज छलफलका लागि पेस गरिने उनले बताए । डा. भट्टराईले वर्तामान राजनीतिक परिस्थितिको विश्लेषण, वैकल्पिक राजनीतिक भविष्य र आसन्न निर्वाचनबारे केन्द्रित भएर दस्ताबेज तयार पारेका छन् । 

निर्वाचन निर्देशिकामा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनाेटदेखि प्रचारप्रसारसम्मका विषयहरू समेटिएका छन् । उम्मेदवारको योग्यता, लोकप्रियताकाका विषय समेटिएको सुमनले बताए । 
उम्मेदवार छनाेट पारदर्शी रूपमा गर्नका लागि नीति बनाएरै अघि बढ्ने योजनासहित निर्देशिका तयार पारिएको हिसिला यमीले बताइन् ।

‘उम्मेदवार चयन पारदर्शी बनाउन र योग्य व्यक्ति छनाेट गर्नका लागि निर्देशिका आधार हुने छ,’ यमीले भनिन्, ‘निर्वाचनमा गठबन्धनको कल्पनादेखि मतपेटिका सुरक्षासम्मका विषयहर यसमा समेटिएका छन् ।’ बैठकमा कमिटी समायोजनको विषय पनि उठेको छ । तत्कालीन संघीय समाजवादी र नयाँ शक्ति एकतापछि समायोजन गर्न बाँकी पार्टी कमिटीहरूको काम टुंग्याउने विषयमा कार्यकारिणीमा छलफल भएको हो । 

जसपाको शनिबार संघीय परिषद् र आइतबार केन्द्रीय कमिटी बैठक बस्दै छ ।