१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण १३ शुक्रबार ०८:३९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

जनकपुर चुरोट कारखानाको जग्गामा पोखरा महानगरको रजाइँ

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण १३ शुक्रबार ०८:३९:००

सम्बन्धित वडा र कारखानालाई थाहा नै नदिई यातायात व्यवसायीलाई भाडामा

आफ्नै बसपार्क बनाउन नसकेको पोखरा महानगरपालिकाले बसपार्ककै रूपमा प्रयोग गर्ने गरी जनकपुर चुरोट कारखानाको जग्गा यातायात व्यवसायीलाई भाडामा दिएको खुलेको छ । पोखरा महानगरपालिका–९ स्थित जनकपुर चुरोट कारखानाको कित्ता नम्बर २९ को १८०७ वर्गमिटर जग्गा महानगरले काठमाडौँ पोखरा भलाइ प्रालिलाई भाडामा लगाएको हो ।

महानगरले काठमाडौँ पोखरा भलाइ प्रालिलाई दुई वर्षका लागि जग्गा भाडामा लगाएको सम्झौता पत्रमा उल्लेख छ । ६ पुस ०७६ मा महानगरले गरेको सम्झौताअनुसार सम्झौताको म्यादसमेत सकिइसकेको छ । तर, नयाँ सम्झौता नगराई उक्त स्थान व्यवसायीले माइक्रो बस पार्किङको रूपमा प्रयोग गरिरहेका छन् । 

काठमाडौँ पोखरा भलाइ प्रालिका संयोजक कुलराज गुरुङले सम्झौता पत्रमा प्रयोजन उल्लेख नगरे पनि बसहरू पार्किङ गर्न उक्त जग्गा भाडामा लिएको जानकारी दिए । उनले पाँच वर्षका लागि मासिक एक लाख रुपैयाँ भाडा बुझाउने सर्तमा जग्गा लिएको भए पनि सम्झौता पत्रमा भूलवश दुई वर्ष मात्रै लेखिएको बताए । त्यसलाई सच्याएर समय थप गर्न महानगरलाई आग्रह गरिरहेकोे उनले बताए ।

सम्झौता पत्रमा पोखरा महानगरको तर्फबाट मेयर मानबहादुर जिसी र पोखरा काठमाडौं भलाइ प्रालिको तर्फबाट संयोजक गुरुङले हस्ताक्षर गरेका छन् । महानगरपालिकाका यातायात शाखा प्रमुख इ. सुरेन्द्र पौडेल र राजस्व प्रशासन महाशाखाका तत्कालीन प्रमुख छविलाल शर्मा साक्षी छन् । 

इ. पौडेलले महानगरलाई आम्दानी हुने विषय भएकाले साक्षी बसेको प्रतिक्रिया दिए । ‘महानगरमा रहेको सार्वजनिक जमिन बेवारिसे बस्नुभन्दा अलि–अलि आम्दानी होस् भनेर साक्षी बसेको हँु । तर, महानगरले जनकपुर चुरोट कारखानासँग कुनै सहमति गरेको छैन । आम्दानी हुने र मेयरसाबले नै सही गरेकाले साक्षी बसेको हुँ,’ उनले भने । 

जग्गाको भाडा मासिक एक लाख तिर्छौँ : यातायात व्यवसायी 
यातायात व्यवसायीले पोखरामा बसपार्क अभावमा पार्किङ, यात्रु ओराल्न र चढाउनका लागि जग्गा प्रयोग गरेबापत मासिक करिब तीन लाख रुपैयाँ खर्चिनुपरेको बताएका छन् । केही वर्षदेखि पोखरा–९ मा विभिन्न स्थानमा जग्गा भाडामा लिएर प्रयोग गरेको पृृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । कतिपय स्थानमा त सडकमै यात्रु ओराल्ने र चढाउने गर्न बाध्य भएको उनको भनाइ छ । 

यही क्रममा पृथ्वी राजमार्गसहित विभिन्न कम्पनीका माइक्रो पार्किङ र यात्रु छुटाउन जनकपुर चुरोट कारखानाको जग्गा भाडामा लिएको उनले बताए । यो जग्गा प्रयोग गरेबापत व्यवसायीले महानगरलाई मासिक एक लाख रुपैयाँ तिर्ने गरेको उनले बताए । 

‘के गर्नु, भन्न पनि अप्ठ्यारो लाग्छ । बसपार्कमा सुकुम्बासी बसालिएको छ । तर, हामीले बस छुटाउन बाहिर जग्गा भाडामा लिनुपरेको छ,’ उनले नयाँ पत्रिकासँग भने । अध्यक्ष केसीका अनुसार पोखराबाट देशका विभिन्न ठाउँमा दैनिक तीन सयभन्दा धेरै माइक्रो बस छुट्छन् ।

सम्झौतापत्रमा पोखरा महानगरका तर्फबाट मेयर मानबहादुर जिसी र पोखरा काठमाडौं भलाइ प्रालिका तर्फबाट संयोजक गुरुङले हस्ताक्षर गरेका छन् । महानगरपालिकाका यातायात शाखा प्रमुख ई. सुरेन्द्र पौडेल र राजस्व प्रशासन महाशाखाका तत्कालीन प्रमुख छविलाल शर्मा साक्षी छन् ।

सिडिओ आचार्य भन्छन्–महानगरले संरक्षण गर्न सक्छ तर मनलाग्दी गर्न पाउँदैन

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पोखरा महानगरपालिकाले जनकपुर चुरोट कारखानाको जग्गा आफ्नो हिसाबले उपयोग गर्न नमिल्ने बताए । त्यसलाई उपयोग गरेर महानगरले आम्दानी गर्न नमिल्ने उनको भनाइ छ ।

‘सरकारअन्तर्गतको एउटा संस्थाको नाममा रहेको जग्गालाई स्थानीय तहले संरक्षण गर्न सक्छ, तर मनमौजी ढंगले उपयोग गर्न वा त्यसबाट आम्दानी लिने माध्यम बनाउन सक्दैन । यदि त्यसरी आम्दानीको स्रोत बनाउने हो भने जसको जग्गा हो, उसैसँग छुट्टै सम्झौता गर्नुुपर्छ,’ उनले भने । 

वडाध्यक्ष लामिछाने भन्छन्–आर्थिक चलखेलको आशंका छ

कारखानाको जग्गा रहेको वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले सम्बन्धित वडालाई जानकारी नै नदिई मेयरले व्यवसायीलाई सुटुक्क दिएको बताए । यसमा आर्थिक चलखेल भएको हुन सक्ने उनले आशंका गरे । 

उनले भने, ‘वडा नम्बर ९ मै रहेको बसपार्क निर्माण र व्यवस्थापनमा ध्यान नदिने तर जनकपुर चुरोट कारखानाको जग्गा सम्बन्धित वडाध्यक्षलाई थाहा नदिई व्यवसायीलाई भाडामा दिनुले शंका उब्जाएको छ । उचित छानबिन हुनुपर्छ,’ उनले भने ।