
जेन–जी पुस्ताको आन्दोलनका क्रममा सिराहा जिल्लाका १७ वटै स्थानीय तहमा निजी र प्रहरीको सहित ५२ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ।जिल्ला प्रहरी कार्यालय सिराहाले संकलन गरेको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिहरूमा पूर्ण, आंशिक र सामान्य रूपमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सिराहाको सिराहा, लहान, गोलबजार, मिर्चैया, कल्याणपुर, धनगढीमाई नगरपालिका र नरहा, विष्णुपुर, नवराजपुर, औरही, भगवानपुर, सखुवानन्कारकट्टी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
त्यस्तै, कर्जन्हा नगरपालिकाको ७ र ८, कल्याणपुर ११, गोलबजार ६ र १२, गोलबजार स्वास्थ्य चौकी, औरहीको ४ र ५ नं. वडा कार्यालय र विष्णुपुरको १ नं. वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ । ‘तोडफोड र आगजनीको क्रममा के कति भौतिक क्षति भयो, कार्यालयमा रहेका उपकरण, फर्निचर क्षतिको मूल्यांकन हुँदै छ,’ उनले भने ।
१४ सरकारी कार्यालय र १३ प्रहरी युनिटमा क्षति
उनका अनुसार २४ भदौको प्रदर्शनको क्रममा जिल्लाको मुख्य व्यापारिक क्षेत्र मानिने लहानमा रहेका १० सरकारी कार्यालय संस्थान, जिल्ला सदरमुकामस्थित चार कार्यालय र जिल्लाका विभिन्न १३ प्रहरी युनिटमा आगजनी तथा तोडफोड लुटपाट भएको छ । सिराहा जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र लहानस्थित इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नापी कार्यालय, मालपोत कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । खाद्यको चारवटा गोदाममा विभिन्न जिल्लामा पठाउन राखिएका १० करोड ९१ लाख रुपैयाँ बढी मूल्यको चामल, चिनी, धानसमेत लुटपाट भएको प्रहीले जनाएको छ ।
छोडिएनन् प्रहरी युनिट पनि
प्रदर्शनकारीको समूहले आन्दोलनको नाममा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय गोलबजार, विष्णपुर, वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी बिटमा आगजनी तथा तोडफोड गरेको छ । प्रदर्शनकारीको समूहले इलाका प्रहरी कार्यालय लहान, मिर्चैया, कल्याणपुर, बरियारपट्टि, झाँझपट्टिको प्रहरी बिट तथा प्रहरी चौकी औरही र हर्कट्टीमा तोडफोड गरेको थियो ।
त्यसक्रममा प्रहरी चौकी हरकट्टी र औहरीको मोटोरोला ह्यान्डसेटको ब्याट्री र चार्जरमा आंशिक क्षति पुगेको छ भने जिल्लाका विभिन्न प्रहरी युनिटमा प्रहरीले प्रयोेग गर्ने सामग्रीहरू फुल गियर १६ थान, सिल्ड ३८ थान, हेल्मेट ३६ थान, लाठी ६५ थान र बडी प्रोटेक्टर पाँच थान गरी १६० थान तोडफोडमा क्षति भएको छ । प्रहरीले प्रयोग गरिरहेका पाँचवटा सरकारी मोटरसाइकल तथा चार थान चारपांग्रे सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीले प्रयोग गर्दै आएका निजी ११ थान मोटरसाइकल तोडफोड र तीनवटा आगजनी भएको प्रहरीले जनाएको छ।
निशानामा नेता, मन्त्रीको घर
प्रदर्शनको क्रममा निजी सम्पत्ति, व्यक्तिको घरसमेत निशानामा परेका छन् । गोलबजार नगरपालिका– ७ चोहर्वा घर भएका नेकपा एमालेको नेता तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगर प्रमुख शिवशंकर महतोको निजी घरसमेत प्रदर्शनकारीको निशानामा परे। प्रदर्शनकारीको समूहले गोलबजार ६ का वडाध्यक्ष सञ्जीव लामाका निजी सम्पत्ति तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २४ भदौको प्रदर्शनमा जिल्लाका विभिन्न प्रहरी युनिटबाट ड्युटीमा खटिएका नौजना प्रहरी सामान्य रूपमा घाइते भएका छन् । अन्य जिल्लामा रहेका कारागारबाट कैदी बन्दी फरार भएको भए पनि सिराहा कारागार भने सकुशल रहेको र आन्दोलनको क्रममा भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाइएको छ ।