मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुसिकोट नगरपालिका–५ आँपचौरमा निर्माणाधिन शहिद पार्क।
२०७८ फाल्गुण १२ बिहीबार १७:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आँपचौरमा सहिद पार्क बन्दै, कफी क्षेत्रको प्रचारसँगै पर्यटनमा जोड

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १२ बिहीबार १७:४२:००

गुल्मीको मुसिकोट नगरपालिकाले कफीको व्यावसायिक उत्पादन वृद्धि गरी कृषि पर्यटनमार्फत आर्थिक समृद्धिको परिकल्पना गरेको छ। परिकल्पनाअनुसार नगरपालिकाको वडा नं ५ स्थित आँपचौरमा ‘तल्लाफाँट सहिद पार्क’ निर्माण हुँदै छ।

अहिले पार्कमा सहिद गेट, टावर, ट्रस्टलगायतका संरचना निर्माणको काम जारी छ। पार्क निर्माणस्थल पहिलेको ढुंगेबगर हो। कफी क्षेत्र, रिडी–रुद्रवेणी राष्ट्रिय राजमार्गको नजिक पार्क निर्माण भएपछि स्थानीय खुसी छन्। ‘पार्क जनयुद्धको सम्झना हो। कफी क्षेत्र पनि भएकाले कृषि पर्यटनमा समेत टेवा पुग्छ भन्ने अपेक्षा छ,’ मुसिकोटका अगुवा जीवन खरेलले भने, ‘पर्याप्त बजेट नभएकाले सोचेअनुसार काम गर्न भने सकिरहेका छैनौँ।’ आँपचौरका विष्णुप्रसाद खेरल जनयुद्धका सहिद हुन्। २०५६ मा जनयुद्धमा लागेका उनी २०५८ सालमा पाल्पाको सातमुरे भिडन्तमा सहिद भएका थिए। उनी खेलेर हुर्के बढेको स्थान भएकाले उनको सम्झनामा यसलाई सहिद पार्क भनिएको दाजु जीवन खरेलले बताए।

१२ करोडको स्टिमेट, दुई करोड खर्च
सहिद पार्कको निर्माण सक्न करिब १२ करोड रुपैयाँ स्टिमेट गरिएको छ। अहिलेसम्म ०७५–०७६ मा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले पूर्वाधार विकास कोषमार्फत ५० लाख र नगरपालिकाबाट पाँच लाख विनियोजन भएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज अर्यालले जानकारी दिए। त्यस्तै ०७६–०७७ मा लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको ५०–५० लाख गरी एक करोड रुपैयाँको काम भएको थियो। सिँचाइ डिभिजन कार्यालय र नगरपालिकाको २०–२० लाख गरी ४० लाखमा ८० मिटर नदी क्षेत्र तटबन्ध तथा नगरपालिकाको १० लाखको लागतमा पदमार्ग निर्माण गरिएको अर्यालले बताए।

लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले पार्क निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन्। नेपालमै कफीको पहिचान बोकेको आँपचौरमा जनयुद्धको सम्झानासहितको पार्क निर्माण हुनु देशकै गौरवको विषय भएको भन्दै उनले सबै तहका सरकारको सहयोगमा पार्क निर्माण हुने बताए। लुम्बिनी प्रदेशबाट आफूले सक्दो बजेट विनियोजन गरिरहेकाले केन्द्रसँग पनि बजेट माग भइरहेको उनले बताए।

मुसिकोटका मेयर सोमनाथ सापकोटाले नगरकै गौरवको योजना भएकाले पर्याप्त बजेटका लागि डिपिआर गरेर संघ र प्रदेशमा पठाइएको बताए। उनले कफीको विकास र प्रर्वद्धनसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्यले पार्क निर्माण गर्न लागेको मेयर सापकोटाले बताए।

बोटिङदेखि बाल उद्यानसम्म
पार्कमा अझै ६ वटा ट्रस्ट, विश्रामस्थल, नदीको तटबन्ध, फुटपाथ, बाल उद्यानलगायतका संरचना निर्माणको काम बाँकी छ। सहिद पार्क क्षेत्रमा अहिलेसम्म कार्यक्रम गर्न मिल्ने गरेर ट्रस्ट, बोटिङ गर्नको लागि क्यानल, पुल, वृक्षरोपणलगायतका काम सम्पन्न भएका छन्। नदी किनारमा हालसम्म आँप, लिची, केरालगायतका बिरुवा लगाइएको छ।

त्यस्तै जिल्ला वन कार्यालयको सहयोगमा वन नर्सरी पनि बनाइएको छ। नर्सरीमा तेजपात, अमला, लप्सी, हर्रो, बर्रो, चिउरीलगायतका १५ हजार बिरुवा लगाइएको छ। नर्सरीको लागि स्थानीयले श्रमदान गरेका छन्। अन्य खर्च डिभिजन वन कार्यालयको हो। डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाका अनुसार सहिद पार्कमा घुम्न आउने पर्यटकलाई एक/एकवटा बिरुवा प्रदान गर्ने उद्देश्यले नर्सरीको स्थापना गरिएको हो।