१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Saturday, 28 September, 2024
विजयराज खनाल काठमाडाैं
२o७८ फाल्गुण १२ बिहीबार १o:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेकै आइपिओ आउँदै, २५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार १o:२२:oo

नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्ज आउने सम्भावना देखिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि पब्लिकमा सेयर जारी गर्ने तयारी गरेको छ । नेप्सेले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले  बताए । हो, ‘मैले कार्यभार सम्हालेसँगै सबैसँग छलफल अन्तर्क्रिया  गर्दा पब्लिकमा पनि जानुपर्छ भन्ने कुरा गरेका हौँ,’ कार्कीले भने, ‘निजी क्षेत्रको स्टक आउने चर्चा चलिरहेकाले हामी पनि भाइब्रेन्ट हुनुपर्छ भन्ने कुरा भएको हो, तर यो प्रारम्भिक अवस्थामै छ ।’

हाल नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १५ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको पाँच–पाँच प्रतिशत र केही पुराना ब्रोकरलगायत अन्यको शून्य दशमलव ६० प्रतिशत सेयर छ । 

कृष्णबहादुर कार्की, प्रमुख कार्यकारी अधिकृत, नेप्से

सबैसँग छलफल अन्तर्क्रिया गर्दा पब्लिकमा पनि जानुपर्छ भनेका हौँ । निजी क्षेत्रको स्टक आउने चर्चा चलिरहेकाले हामी पनि भाइब्रेन्ट हुनुपर्छ भन्ने कुरा भएको हो, तर यो प्रारम्भिक अवस्थामै छ ।

नेपाल सरकार र सरकारी निकायका स्वामित्वमा मात्र रहेर स्टक एक्स्चेन्ज सञ्चालन गर्न नसकिने नेप्सेका नायब प्रमुख निरञ्जन फुँयालको भनाइ छ । विगत एक दशकदेखि नै नेप्से निजीकरण गर्ने, रणनीतिक साझेदार भित्र्याउने, पुनर्संरचना गर्ने विषय पटक–पटक बजेटमा समेत आइसकेको छ । तर, हालसम्म यसमा कुनै उपलब्धि देखिएको छैन । केही वर्षयता दक्षिण एसियाली मुलुकहरूमा रहेका स्टक एक्सचेन्जले समेत सर्वसाधारणका लागि सेयर जारी गर्दै आएका छन् ।

यही कारण नेप्सेलाई समेत पब्लिकमा रूपान्तरण गर्न दबाब बढेको छ । ‘अहिले दक्षिण एसियाली मुलुकहरूमा लगभग सबैजसो स्टकले सर्वसाधारणमा सेयर जारी गरेका छन्,’ फुयाँलले बताए, ‘जुन मुलुकमा एकभन्दा बढी स्टक एक्सचेन्ज छ, तिनले एकअर्काको प्लाटफर्ममा सेयर सूचीकरण गरेका छन्, जुन मुलुकमा एउटा मात्र छ तिनले आफ्नैमा सेयर सूचीकरण गरेका छन् ।’ 

भारतमा एसियाकै पुरानो बम्बे स्टक एक्सचेन्ज (बिएससी)को सन् २०१७ मा करिब आठ सय पाँच भारतीय रुपैयाँदेखि आठ सय ६ रुपैयाँ प्रतिकित्ताका दरले एक करोड सात लाख ९९ हजार कित्ता सेयर जारी गरेको थियो । नयाँ सेयर जारी गर्ने भन्दा पनि भएकै सञ्चालकहरूको सेयर बिक्री गरेका थिए । त्यहाँको नियामक भारतीय प्रत्याभूति और विनिमय बोर्ड (सेबी)ले एक्सचेन्जहरूले आफ्नो सेयर आफ्नै प्लाटफर्ममा कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । यही कारण बिएससीको सेयर यहाँको अर्को ठूलो राष्ट्रिय स्टक एक्सचेन्ज नेसनल स्टक एक्सचेन्ज (एनएससी)मा सूचीकृत छ । 

त्यहाँ सूचीकरण भएपछि नै बिएससीको सेयर मूल्य एक हजार दुई सय भारुसम्म पुगेको बताइन्छ । हाल भने बिएससीको कारोबार दुई हजार भारुमा भइरहेको छ । पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको आम्दानी वृद्धि भइरहेको छ । गत आवको नाफाबाट मात्रै नेप्सेले एक सय ६६ प्रतिशत लाभांश वितरण गरेको छ । नेप्सेले ६६ दशलमव ६ प्रतिशत बोनस र बाँकी नगद लाभांश दिएको थियो ।

यससँगै नेप्सेको चुक्ता पुँजी हाल बढेर एक अर्ब रुपैयाँसम्म पुग्ने भएको छ । आकर्षक लाभांश दिन सक्षम नेप्सेले संस्थागत र व्यक्तिगत सर्वसाधारणलाई समेत सेयर दिन सक्ने उल्लेख गरेको छ । त्यस्तै, रणनीतिक साझेदारको विकल्पलाई पनि सँगै लैजाने सोच बनाएको छ । बंगलादेश स्टक एक्सचेन्ज, ढाका स्टक एक्सचेन्जमा समेत सन् ०१८ मा चिनियाँ साङघाई स्टक एक्सचेन्जले रणनीतिक साझेदारका रूपमा २५ प्रतिशत सेयर खरिद गरेको छ ।